प्रयोगात्मक कक्षाका लागि विद्यालयमा माछा पालन
डोटी : डोटीको जोरायल गाउँपालिका ४ मा रहेको घण्टेश्वर माध्यामिक विद्यालयमा माछा पालन व्यवसाय सुरु भएको छ। विद्यालयमा पठनपाठन भइरहेको कृषि प्राविधिक कक्षामा प्रयोगात्मक कक्षा सञ्चालनका लागि विद्यालयमै माछापालन सुरु गरिएको हो।
विद्यालयमा २०७० सालबाट कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक कक्षा सञ्चालन हुँदै आएको र प्रयोगात्मक कक्षा सञ्चालन एवं विद्यालयको आन्तरिक आम्दानी समेत हुने गरी माछापालन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक सुनलाल थापाले बताउनु भयो।
साविकको लक्ष्मीनगर गाविसको सहयोगमा ५० हजार लागतको पोखरी निर्माण गरिएको थियो। जिल्ला कृषि विकास कार्यालय डोटीले जोरायल कृषि सेवा केन्द्र मार्फत् ३ हजार ८ सय ‘कमनग्रास’ जातका माछाका भुराहरु विद्यालयलाई हस्तान्तरण गरेको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगतबहादुर कपड्यालले माछा पालनका लागि उपयुक्त स्थान रहेकाले व्यवसायी रुपमा समेत विद्यालय सफल रहने बताए। ‘विद्यार्थीलाई प्रयोगात्मक परीक्षाका लागि बाहिर लानुपर्ने बाध्यता रहेको थियो’, अध्यक्ष अपड्यालले भन्नुभयो, ‘अबदेखि उक्त समस्या हटेको र विद्यालयको आयश्रोत समेत बढ्ने छ।’ माछाका भुराहरु हस्तान्तरण गर्दै जिल्ला कृषिविकास कार्यालयका प्राविधिक कमलापति भट्टले माछाका लागि उपयुक्त वातावरण भएकाले राम्रो फस्टाउने बताए।
घण्टेश्वर माध्यामिक विद्यालयमा माछाप ालनको लागि माछाका भुराहरु हस्तान्तरण हुँदै।