अफगान तालिवानद्वारा आक्रामक आक्रमणको घोषणा
काबुल: अफगानिस्तानमा शुक्रबार तालिवान आतङ्ककारी समूहले बसन्त क्रृतुको सुरुवातसँग ‘बसन्त क्रृतु आक्रामक’ नामक आक्रमणको घोषणा गरेका छन् ।
गत एक हप्ताअगाडि अफगानिस्तानको बाल्ख प्रान्तको मजार ए सरिफ सहरको बाहिरी इलाकामा रहेको एक सैनिक शिवीरमा गरेको भीषण आक्रमणपछि तालिवानले आक्रामक आक्रमणको घोषणा गरेका छन्।
गत शुक्रबार सैनिक पोसाकमा रहेका बन्दुकधकारीहरुले उक्त सैनिक शिवीरमा गरेको आक्रमणमा परी कम्तीमा १३५ जना युवा नयाँ सैनिकको मृत्यु भएको थियो।
यस घटनामा मारिएका आफ्ना आफन्तको अन्तिम संस्कार गरी सकेपछि आफन्त गुमाएर अत्यन्त क्रोधित भएका आफन्तजनले मन्त्री र सेनाप्रमुखको राजीनामाको माग गरेका थिए। जनताको सोही आवाजको कदर गर्दै यहाँका प्रतिरक्षा मन्त्री र उनका सेना प्रमुखले आफ्नो पदबाट सोमबार राजिनामा दिएका थिए।
यस घटनापछि अफगान अधिकारीले कम्तीमा ३५ जना सैनिकलाई पक्राउ गरेका थिए । अफगानिस्तानमा सन् २००१ बाट सुरु भएको तालिवानसँगको युद्धमा सैनिक पोसाकमा र आफ्ना सहकर्मीबाट बारम्बार आक्रमण हुने गरेको छ । यस प्रकार सहकर्मीबाट हुने गरेको आक्रमणमा आफ्नै देशका सहकर्मी अन्तर्राष्ट्रिय सेनामाथि आक्रमण भएको पाइन्छ।
तालिवान सत्ताबाट हटेको १५ वर्ष पछाडि पनि गत शुक्रबार भएको सैनिक शिविरलक्षित यो आक्रमण अत्यन्त भीषण थियो । सैनिकको पोसाक र आत्मघाती भेस्ट लगाएका १० जना बन्दुकधारीले शिविरको मस्जिद र डाइनिङ्ग हलमा फैलिएर रहेका निःसशस्त्र सैनिकमाथि गोली प्रहार गर्न सुरु गरेका थिए ।
सन् २०१४ को अन्त्यमा अमेरिकी आवद्ध नेटो सैनिकले अफगानिस्तानमा जारी तालिबानसँगको युद्धमा आफूहरू सो युद्धमा नजाने घोषणा गर्दै प्रायःनेटो सैनिक त्यहाँबाट फर्किएपछि अफगानिस्तानमा सुरक्षाकर्मीमाथिको आतङ्ककारी आक्रमण बढेको बताइन्छ ।
अमेरिकी निगरानीकर्ता सिगारका अनुसार सन् २०१६ मा अफगानिस्तानमा छ हजार आठ सय सैनिक र प्रहरी तालिवानले गरेको विभिन्न आक्रमणमा मारिएका थिए। रासस/एएफपी