बालिका बलात्कार गरेको आरोपमा धामी थुनामा
कुश्मा: तान्त्रिक विधिद्वारा झारफुक गरेर रोग निको पार्ने बहानामा बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पर्वतका एक व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
पर्वतको कुश्मा नगरपालिका-२ घर भइ हाल जलजला गाउँपालिका स्थित मिलनचोक बस्दै आएका ४५ बर्षिय खिमबहादर परियारले ८ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।
गत चैत ३१ गते साँझ ५ बजेको समयमा झारफुकका लागि घरमा पुगेकी बालिकालाई परियारले मुलमा बस्ने मसान लागेकाले पुजा गर्नका लागि जंगलमा जानुपर्ने बहाना बनाउँदै जंगलमा नै बालिकामाथि दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका आफन्तले भोलिपल्ट प्रहरीमा उजुरी गरेका थिए। परियारले घरबाट १५ मिनेटको दुरीमा रहेको माटेपानीको जंगलमा बालिकालाई जबर्जस्ती गरेको आरोप छ।
कार्बाहीका लागि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा राय पेश गरेपछि सरकारी वकिल कार्यालयले बिहीबार पर्वत जिल्ला अदालतमा सरकारवादी मुद्दा दायर गरेको थियो। शुक्रवार जिल्ला न्यायधिश मोहनराज भट्टराईको इजालासले आरोपित परियारलाई मुद्धा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
उक्त मुद्धा उपर पिडित बालिकाको तर्फबाट जिल्ला न्यायधिबक्ता केदारनाथ उपाध्याय र अधिवक्ता राजेन्द्र भूसालले वकालत गरेका थिए। आरोपित परियारलाई कसुर ठहरिएमा मुलुकी ऐन जवरजस्ती करणीको ३ नं बमोजिम १०देखि १५ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ।