निर्वाचन वैशाख र जेठ ३१ मै हुन्छ : देउवा
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचन वैशाख ३१ मै हुनेमा आशंका गरेको भोलिपल्टै सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने निर्वाचन हुने कुरामा आशंका नगर्न आग्रह गर्नु भएको छ।
शनिबार नेपाली कांग्रेसको चुनाव प्रचार उपसमितिले पार्टी केन्द्रीय कार्यालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भन्नुभयो, ‘निर्वाचन वैशाख ३१ र जेठ ३१ गते नै हुन्छ र निर्वाचनका लागि सहमतिको वातावरण बनाउन संविधान संशोधनको प्रस्तावमा एमाले लचक हुनेछ।’
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सभापति देउवाले आफ्नो पार्टीका तर्फबाट आइतबारसम्ममा उम्मेदवारको टुंगो लगाइसक्ने बताए। मनोनयन–पत्र दाखिला गर्ने दिन नजिकै आइसक्यो अझै उम्मेदवार तय गर्नु भएको छैन्, वैशाख ३१ गते नै निर्वाचन हुन्छ भनेर पत्याउने आधार के ? भनेर सोधिएको प्रश्नको जवाफ दिँदै सभापति देउवाले भन्नुभयो, ‘ बाहिरको चुनावी माहौल तपाईंहरुले देखिरहनु भएको छ, भोलिसम्ममा हामी उम्मेदवार तय गर्छौ।’
नेपाली कांग्रेसले नगरपालिका, उपमहानगर पालिका र महानगरपालिकाका उम्मेदवारहरुको मनोनयनपत्रमा पार्टी सभापतिकै हस्ताक्षर हुने निर्णय गरिसकेको छ। १७ गतेसम्ममा उम्मेदवारको टुंगो नलागे मनोनयनपत्र बोकेर उम्मेदवार १९ गते ४ बजेभित्र आ–आफ्नो नगरपालिकामा पुग्न सक्ने अवस्था छैन।
हिमाल, पहाड र मधेस जोड्नका लागि संविधान संसोधनको तयारी भएको उल्लेख गर्दै सभापति देउवाले भन्नुभयो,‘ संविधान संशोधनको तयारीका कारण केही दिन यता उता भएको हो, तर चुनाव निर्धारित मितिमै हुन्छ। यो महत्वपूर्ण निर्वाचन हो। मधेसको माग सम्बोधन गर्न खोज्दा केही असहज भएको हो, एक दुई दिनमा कुरा मिल्छ सभापति देउवाले भन्नुभयो।
संविधान संसोधनका लागि एमालेले सहयोग गर्छ भन्ने कुरामा आफू विश्वस्त रहेको देउवाको दाबी छ। ‘संविधान संशोधन विधेयकको पक्षमा यदी एमालेले मत दिएन भने पनि प्रक्रियामा अवरोध नगरोस् भन्ने मेरो आग्रह एमाले नेताहरुलाई छ,’ सभापति देउवाले भन्नुभयो।