विश्व मोबाइल बजारमा ओप्पो चौथो स्थानमा
काठमाडौं : इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी)ले सन् २०१७ को पहिलो त्रैमासका लागि स्मार्टफोन अनुगमन नतिजा प्रकाशित गरेको छ । उक्त प्रकाशित प्रतिवेदनअनुसार ओप्पोले विश्व स्मार्टफोनको बजारमा चौथो स्थानमा उक्लिएको छ । ओप्पो २५.६ मिलियन बिक्री परिमाणकासाथ चौथो स्थानमा रहेको हो । ओप्पोको वार्षिक बृद्धिदर २९.८ प्रतिशत छ । यो क्रममा ओप्पोको मार्केट सेयर ७.४ प्रतिशत छ ।
आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा सदा झै सामसुङ पहिलो स्थानमा छ । २२.८ प्रतिशत मार्केट सेयरका साथ पहिलो स्थानमा रहेको सामसुङको पहिलो त्रैमासिकमा ७९.२ मिलियन बिक्री परिमाण रहेको छ । त्यस्तै दोस्रो स्थानमा एप्पल छ । एप्पलको पहिलो त्रैमासिकमा बिक्री परिमाण ५१.६ मिलियन रहेको छ । एप्पलको मार्केट सेयर १४.९ प्रतिशत रहेको आईडीसीले जनाएको छ । आईडीसीका अनुसार तेस्रो स्थानमा चिनियाँ ब्रान्ड हुवावे छ । हुवावेको यो अवधिमा बिक्री परिमाण ३४.२ मिलियन रहेको छ । तेस्रो स्थानमा रहेको हुवावेको मार्केट सेयर ९.८ प्रतिशत छ ।
चौथो स्थानमा रहेको ओप्पोको चिनियाँ बजारमा बलियो उपस्थिति र ओप्पोको मध्यम वर्गीय र क्यामेरा केन्द्रित आरनाइन एसले विशेष भूमिका खेलेको उल्लेख गरिएको छ । त्यसैगरी बाहिरी बजारमासमेत ओप्पोको वृद्धिदर निकै राम्रो रहेको प्रतिवेदनले जनाएको छ । एसियाका अन्य भाग तथा मध्यपूर्व र अफ्रिकी देशमासमेत ओप्पोको बलियो बिक्री सञ्जालमार्फत आफ्नो उपस्थिति जनाउन सफल भएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । भारतीय बजारको 'एबोभ द लाइन' तथा 'बिलो द लाइन' क्रियाकलापमासमेत ओप्पो निकै आक्रामक तरिकाले लागिपरेको छ ।
त्यसैगरी इन्डोनेसियालगायत दक्षिणपूर्वी एसियाली देशमासमेत आफ्नो सेवा केन्द्र स्थापना गर्दै बिक्रीपछिको सेवामा उत्कृष्टता प्रदान गर्न थालेकाले यो सफलता हात पार्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ओप्पो क्यामेरा फोनका लागि विश्वभरका युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ । विगत १० वर्षदेखि मोबाइल फोटोग्राफीमा नवीनता पस्कँदै उत्कृष्ट क्यामेराफोन उत्पादनमा ओप्पो केन्द्रित छ ।
सेल्फी ब्युटिफिकेसन युगको सुरुवात गर्ने ओप्पो ५ मेगापिक्सलको रियर र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध गराउने पहिलो स्मार्टफोन ब्रान्ड पनि हो । साथै, मोटोराइज्ड (मोटरको प्रयोग गरिएका) रोटेटिङ क्यामेरा, अल्ट्रा एचडी फिचर र फाइभ एक्स डुअल क्यामेरा जुमलगायत प्रविधिको सार्वजनिक गरेको थियो ।