चुरे क्षेत्रमा आगलागी
कञ्चनपुरः चुरे क्षेत्रमा तीन दिनदेखि भीषण आगलागी भइरहेको छ । नाइलदेखि पश्चिम धारापानी खोलासम्मको लखने र बेलगाडा क्षेत्रको तीन किमीको दायरामा भएको आगलागीबाट चुरे क्षेत्रमा रहेका बोटविरुवा तथा काठ जलेर नोक्सान भएको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।
भालु खोलादेखि पश्चिम धारापानी खोलासम्मको क्षेत्रको आगलागी सामुदायिक वनका हेरालुको सहयोगमा नियन्त्रणमा लिइए पनि हावाहुरी चल्न थालेकाले भिरालो जमिनको माथिबाट ढुङ्गा खस्ने क्रम जारी रहेकाले अन्य क्षेत्रको आगलागी नियन्त्रणमा लिन नसकिएको उहाँले बताउनुभयो ।
आगलागीका कारण चुरे क्षेत्रमा रहेका जङ्गली जनावर तराईतर्फका वन र बस्तीमा जान थालेकाले चोरी, सिकार हुने प्रबल सम्भावना बढेको सल्लेरी सामुदायिक वनका अध्यक्ष मोहन ऐरले बताउनुभयो । आगलागी नियन्त्रणका लागि वन कार्यालयको टोली भने त्यसतर्फ पुग्न सकेको छैन ।
यसैबीच भरतपुर महानगरपालिका–२ स्थित आँपटारीमा आज बिहान दुई घरमा आगलागी भएको छ । सो क्रममा सिलिन्डर पड्किँदा आगो निभाउन गएका स्थानीयवासी भरत गुरुङ घाइते भएकामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
बिहान करिब ५ बजे बुद्ध तामाङको घरको भान्छाबाट आगो सल्किएर छिमेकी वीरबहादुरको घरमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।
प्रहरीले स्थानीयवासीको सहयोगमा आगो निभाएको छ । यसैबीच शनिबार साँझ भरतपुरको मुख्य चोक वीरेन्द्र क्याम्पस चोकमा हावाहुरीका कारण रूख ढल्दा तीन गाडी र दुई घरमा क्षति पुगेको छ । रूख ढल्दा ना४२प ६०८३ र ना५प १७२५ नंको मोटरसाइकल र ना१ह २५१८ नंको अटो रिक्सा तथा नजिकै रहेको एउटा शृङ्गारिक सामानको पसल र खाजाघरमा समेत क्षति पुगेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । रासस