एमालेको घोषाणपत्र : १० वर्षमा नेवानिसँग एक सय ५० जहाज !
काठमाडौं : राष्ट्रिय ध्वाजवाहक नेपाल वायु सेवा निगम (नेवानी)मा आगामी १० वर्ष भित्र एक सय ५० साना ठूला जहाजा पुर्याउने एमालेले घोषणा गरेको छ। एमालेले स्थानी निर्वाचन लागि तयार पारेको घोषणापत्रमा नेवानीमा एक सय ५० जहाज पुर्याउने उल्लेख गरिएको छ।
आइतबार दिउँसो तीन बजे सार्वजनिक हुने घोषणपत्रमा आगामी १० वर्ष भित्र अन्तर्राष्ट्रिय उडानका लागि ठूला वाइडवडी विमान ५० वटा, साना न्यारोबडी विमान ५० वटा र आन्तरिक उडानका लागि साना ठूला गरी ५० वटा विमान पुर्याउने महत्वकांक्षी सपना उल्लेख गरेको छ।
निगमसँग अहिले एउटा पनि वाइडबडी जहाज छैन। निगमले खरिद गर्न लागेको दुई वटा वाइडबडी जहाज आउन एक वर्ष लाग्ने छ। साथै निगमसँग अहिले दुई वटा मात्र न्यारोबडी जहाज छन्। आन्तकिर र अन्तराष्ट्रिय तर्फ उडान भर्नका लागि निगम सँग अहिले नौं जहाज छन्।
आगामी १० वर्षभित्र दैनिक लाखौं पर्यटकलाई भित्र्याउने गरी नेपालका अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलको अत्याधुनिक प्रविधिसहित निर्माण तथा स्तरोन्नति गरिने घोषणपत्रमा उल्लेख छ।
आगामी १० वर्षभित्र सञ्चालन भइ सक्ने गरी निजगढमा अत्याधुनिक तथा हवाई–हबका रुपमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने एमालेको घोषणापत्रमा उल्लेख छ। त्यसैगरी आगामी दुई वर्षभित्र सञ्चालन आउने गरी भैरहवा र तीन बर्षभित्र सञ्चालन हुने गरी पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने एमालेले घोषणा गरेको छ।
यसैगरी विराटनगर, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थललाई विस्तार तथा स्तरोन्नति गरी क्षेत्रीय स्तरका अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ।
तराई, पहाड र हिमाली जिल्लामा रहेका सबै आन्तरिक विमानस्थललाई अत्याधुनिक, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा स्तरोन्नत गर्दै प्रत्येक जिल्लालाई हवाई सेवाबाट जोड्ने गरी विमानस्थल निर्माण गर्ने उल्लेख गरिएको छ।
सँगै आगामी पाँच वर्षभित्र अहिलेसम्म हवाई सम्झौता गरिएका सबै देशहरुमा नेपाली ध्वजावाहक हवाई जहाजले उडान र काठमाडौंदेखि यूरोप, अमेरिका, अष्ट्रेलिया तथा एसियाका अधिकांश देशमा राष्ट्रिय ध्वाजवाहक जहाजले उडान गर्ने घोषणापत्रमा उल्लेख छ।