लुम्बिनी बनाउनेभन्दा बिगार्ने बढी

लुम्बिनी बनाउनेभन्दा बिगार्ने बढी

लुम्बिनी गुरुयोजनाको प्लटभित्र अग्लो विहार बन्दै गर्दा विकास कोषले त्यसको अनुगमन गर्‍यो । कोरियन महाबोधी सोसाइटीले विनियमावलीमा अस्पष्टताको फाइदा उठाउँदै विशाल विहार निर्माण गरिरहेको थियो । रोक्ने विषयमा कोषको टोलीले छलफल चलाउँदै गर्दा सोसाइटीले पदाधिकारीलाई ‘खुशी’ पार्न गरी दक्षिणकोरिया भ्रमणको निम्तो दियो । कोषका तत्कालीन उपाध्यक्ष आचार्य कर्मा सङ्बो शेर्पाले पहिलो अवसर पाए । उनी फर्केपछि अन्य पदाधिकारीले बखेडा शुरु गरे । सोसाइटीले दोस्रो र तेस्रो चरणमा गरी तत्कालीन सदस्यसचिव राजेन्द्र थापा, योजना प्रमुख टेम्बा शेर्पा र भरत कुँवरलाई दक्षिणकोरिया शयर गरायो । त्यसयता विहार निर्माण अवैध भएको बारे कसैले आवाज उठाएको छैन ।

जापानी वास्तुकलाविद् केन्जो टाँगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना सरकारलाई हस्तान्तरण गरेका थिए, जसमा अग्ला भवन लुम्बिनीको सुरक्षाका लागि हानिकारक हुने उल्लेख छ । तीन तलाभन्दा अग्ला भवन बनाउन नहुने टाँगेको गुरुयोजनामा उचाइ भने तोकिएको छैन । कोरियन सोसाइटीले त्यसैको फाइदा उठाएको हो । नेपाल–कोरिया मैत्री संघले दक्षिण पोखरीको बीचमा गुरुयोजनाविपरीत संरचना निर्माण गरिरहेको छ । त्यसका लागि हालका सदस्यसचिव अजितमान तामाङकै स्वीकृति रहेको कर्मचारीहरूको दाबी छ ।

शुरुमा संघले बुद्ध मूर्तिसहित गुरुयोजनाअनुसारको फूलबारी बनाउने बताएको थियो । अहिले ठूलो आकारको घण्ट झुण्ड्याउने बताउँदै अर्को संरचना थप्दै छ । बुद्धको मूर्ति राखिएको पिलर पनि स्वीकृती पाएभन्दा अग्लो छ । कारवाही प्रक्रिया कसैले अगाडि बढाएको छैन । केही महिनाअघि तत्कालीन संस्कृति मन्त्री जीवनबहादुर शाहीको अध्यक्षमा भएको कोषको बैठकले अमेरिकी संस्था ‘र्‍याङ रिग येसे इन्कर्पोरेटेड’लाई दुई वटा प्लट दिने निर्णय गर्‍यो । काम शुरु नहुँदै कोषले थप दुई वटा प्लट उपलब्ध गराउने निर्णय गरिसकेको छ । सदस्यसचिव तामाङले पहिले पाएका प्लटमा काम शुरु नभई थप दिन नमिल्ने अडान लिएका थिए । उनी विदेशमा रहेको मौकामा कोषले निर्णय दियो ।

bisnu.dhakal विकास कोष बनाउने सोच सकारात्मक थियो तर राजनीतिक नियुक्‍ति बाधक बन्यो र  स्तव्यस्तता झन् मौलाउँदै गयो। गुरुयोजना मिचेर लुम्बिनीलाई दूषित बनाउने काम भइरहेको छ। विष्णु ढकाल प्रमुख जिल्ला अधिकारी, कपिलवस्तु

तामाङ भन्छन्, ‘यसरी लुकाएर निर्णय गर्नुमा स्वार्थ छ भन्ने प्रस्ट हुन्छ ।’ लुम्बिनीमा बौद्ध मुलुकहरूलाई आफ्नै संस्कृति र कला झल्किने विहार बनाउन १/१ वटा प्लट दिने टाँगेको गुरुयोजनामा उल्लेख छ । ४२ मुलुकमा बुद्धधर्म मानिने भएकाले थेरवादीका लागि केन्द्रीय नहरको पूर्वतर्फ १३ र महायानीहरूलाई पश्चिमतर्फ २९ वटा प्लट दिने योजना थियो । तर, पदाधिकारीले मनोमानीपूर्वक एउटै संस्था र मुलुकलाई ३/३ वटा प्लट दिएका छन् । १८ वटा मुलुकलाई मात्र दिएर ४२ वटा प्लट सकिएका छन् ।

निरन्तर अवमूल्यन

गुरुयोजनाको न्यूनतम मापदण्डलाई लत्याउँदा बुद्ध जन्मस्थलको अस्तित्व संकटमा पर्ने चिन्तामा छन्, संस्कृति र पुरातत्वविद्हरू । जस्तो ः सन् २०१२ मा भ्रमण वर्षको चिनो भन्दै थाइल्यान्डले मायादेवी मन्दिरको सामुन्ने बेबी बुद्धको मूर्ति बनायो । निकै विवादित बनेको उक्त मूर्ति राख्न तत्कालीन उपाध्यक्ष आचार्य कर्मा सङ्बो शेर्पाले स्वीकृति दिएका थिए । पूर्वथाई प्रधानमन्त्री थाक्सिन सिनावात्राआबद्ध गैरसरकारी संस्था थाई पुङ थाईले उक्त मूर्ति स्थापना गरेको हो । १० मंसिर ०६९ मा मूर्ति बनाउने पिलर खडा भएपछि मात्र कोषका कर्मचारीले थाहा पाएका थिए । उक्त मूर्तिले कुन संस्कृति र कलाको प्रतिनिधित्व गर्छ भन्ने कसैलाई पत्तो छैन ।

संस्कृतिविद् डा. गीतु गिरी भन्छन्, ‘शाक्यमूनि बुद्धको जन्मस्थलमा संस्कृति नै पहिचान नभएको मूर्ति राख्नु गलत हो । गुरुयोजना परिमार्जन गर्ने नाममा बिगार्दै जानु लुम्बिनीका लागि राम्रो संकेत होइन ।’ पछिल्लो समय उक्त थाई संस्थाले लुम्बिनी विकास कोषको परिसरमा बर्थिङ सेन्टर खोल्न दबाब तीव्र बनाएको छ । डेढ वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोप्ने भनिएको पीपलको बिरुवा तत्कालीन राजदूत रणजीत रायले २४ मंसिर ०७१ मा मायादेवी मन्दिरछेउमै रोपे । पीपल हुर्किंदै जाँदा त्यस आसपासको पुरातात्विक क्षेत्रमै असर पुग्ने चिन्ता विज्ञहरूको छ ।

जबकि, ०५२ सालमा सोही क्षेत्रमा बोधिवृक्ष रोप्न श्रीलंकाली टोलीलाई दिइएको थिएन । कोषका उपाध्यक्ष भिक्षु निग्रोध भने यसलाई सामान्य मान्छन् । भन्छन्, ‘ढुंगामा कुँदिएको गुरुयोजना होइन, त्यसैले त्यसलाई परिवर्तन गर्न सकिन्छ ।’

बनाउनेभन्दा बिगार्ने बढी

लुम्बिनीको महत्वपूर्ण अशोक स्तम्भमा छहारी हाल्ने योजना अहिलेसम्म शुरु भएको छैन । प्रदूषणका कारण उत्पन्न हुने रसायनले स्तम्भमा लेउ लागिरहेको छ र खिइँदै गएको छ । तीन वर्षअघि युनेस्कोको अनुसन्धान टोलीले तत्काल संरक्षण थाल्न आग्रह गरेको थियो, अहिलेसम्म सिन्को भाँचिएको छैन ।टाँगेको गुरुयोजनाअनुसार निर्माण पूरा नहुँदै कोरियाली प्राध्यापक योङ हुन क्वाकको गुरुयोजना सरकारले स्वीकृत गरेको छ । जबकि, पहिलो गुरुयोजनाको २० प्रतिशत काम अझै बाँकी छ ।

lumbini

पदाधिकारीको ध्यान गुरुयोजनाबाहिरका संरचना निर्माणतिरै देखिन्छ । ‘जता फाइदा हुन्छ, त्यही कामलाई मात्रै ध्यान दिइएको छ । लुम्बिनीको आवश्यकताभन्दा विदेशीले जे माग्छन्, त्यही पूरा हुँदै गएको छ,’ कोषका एक अधिकृत भन्छन् । तत्कालीन राजदरबारले पनि गुरुयोजनाविपरीतका संरचना निर्माणमा हात हालेको थियो । सन् १९८६ मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले शान्तिस्तुपा उद्घाटन गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापानलाई मापदण्डविपरीतको सोही प्रकृतिको शान्तिस्तुपा निर्माण गर्न दिएका थिए । गुरुयोजनाको क्षेत्रका सडकमा इँटा बिछ्याउनुपर्ने मापदण्ड छ । तर, कोषले ती सबैलाई कालोपत्रे बनाएको छ ।


बसपार्क छेउमा लहरै राखिएका पसल पनि गुरुयोजनाविपरीत छन् । माला पसल, कार्यालय, पुस्तकालय, अनुसन्धान कक्ष, संग्रहालयका लागि बेलना आकारका आठ वटा भवन निर्माणको योजना थियो । हालसम्म दुई वटा मात्र बनेका छन् । ‘विकास कोष बनाउने सोच सकारात्मक थियो तर राजनीतिक नियुक्ति बाधक बन्यो र अस्तव्यस्तता झन् मौलाउँदै गयो,’ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णु ढकाल भन्छन्, ‘गुरुयोजना मिचेर लुम्बिनीलाई दूषित बनाउने काम भइरहेको छ ।’

क्वाकको गुरुयोजनाअनुसारका संरचना निर्माणमा आर्थिक स्रोत नै खोजिएको छैन । उनको गुरुयोजना कमलको फूल आकारमा ६ हजार चार सय ७५ हेक्टरमा फैलिएको छ, जसमा रूपन्देहीका साविक ११ गाविस समेटिन्छन् । कमलका आठ पत्रजस्तै देखिने ‘विश्व शान्ति शहर’लाई तीन भागमा विभाजन गरिएको छ । पहिलो घेराभित्रको एक दशमलव ६ किलोमिटरलाई बुद्ध, दोस्रो आठ सय मिटरलाई धर्म र तेस्रो दुई दशमलव चार किमिलाई संघ नाम दिइएको छ । गुरुयोजनाअनुसार होटेलको साटो दैनिक ३० हजार तीर्थयात्री बस्न मिल्नेगरी होमस्टे सञ्चालन गरिनेछन्, जसबाट स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्ने क्वाकको परिकल्पना छ । उनको गुरुयोजनाअनुसार तिलौराकोट, रामग्राम, देवदहसहित समग्र बुद्धस्थलको विकास हुन सक्छ ।

तर, टाँगे र क्वाकका दुई गुरुयोजना सम्पन्न गर्न लुम्बिनीमा घुसेको राजनीति बाधक बन्दै आएको छ । कोषका पदाधिकारी नै विभिन्न दलका नेता/कार्यकर्ता नियुक्त हुन्छन् । त्यसैले कोषमा कामभन्दा राजनीतिक दाउपेच बढी देखिने गरेको छ । ‘लुम्बिनी क्षेत्रमा दल र प्राविधिकहरूको शासन चलिरहेको छ,’ एक अधिकारी भन्छन् । उपाध्यक्ष निग्रोध पनि त्यसलाई स्वीकार्छन् । भन्छन्, ‘आफू ठूलो भन्ने परिपाटी कायम छ । आध्यात्मिक चिन्तन सबैमा देखिएन ।’ कतिसम्म भने कर्मचारीलाई काम अह्राउन कोषका पदाधिकारी डराउँछन् । एक अधिकारी भन्छन्, ‘आफ्नै विभागमा कार्यरत कर्मचारीलाई काम अह्राउन सकिँदैन, केही कडा बोल्यो भने सांसद, पूर्वमन्त्री र डनहरूको फोन आउँछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.