पत्रकार महासङ्घ काठमाडौँमा ताला
काठमाडौँ : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा फेरि ताला लागेको छ। अधिवेशन भएको एक हप्तापछि पुनः केन्द्रीय पार्षद चयनमा असन्तुष्ट जनाउँदै आइतबार ताला लागेको हो।
नेपाल प्रेस युनियन काठमाडौँका अध्यक्ष नकुल अर्यालले पार्षद चयनमा व्यावसायिक पत्रकारलाई पाखा लगाएकाले ताला लगाइएको बताउनुभयो।
‘राजनीतिक आस्थाका आधारमा योग्यता पुगको व्यावसायिक पत्रकारलाई पार्षद बन्न वञ्चित गरिएको छ’, उहाँले भन्नुभयो’, ‘केन्द्रीय पार्षदका लागि आवेदन दिएका पत्रकारलाई प्रदेश पार्षद चयन गरिएको छ। यो सरासर महासङ्घको विधान विपरीत भयो।’
नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस सोसाइटी नेपाललगायत छवटा पत्रकार आवद्ध सङ्घसंस्थाले ताला लगाएका हुन्। उनीहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै प्रेस चौतारीका प्रतिनिधिले महासंघको विधान र निर्वाचन आयोगको अधिकारभन्दा माथि गएर आफ्ना पक्षका मात्र धेरै पार्षद बनाएको आरोप लगाएका छन्।
यही वैशाख १० गते नेपाल पत्रकार महासङ्घ काठमाडौँको अधिवेशन भएको थियो। रासस