अन्नपूर्ण पोस्ट्को १५ औ वार्षिक उत्सवको प्रकाशकीय: सत्यकाे मार्ग
अन्नपूर्ण पोस्ट् दैनिकले आफ्नो अस्तित्व र संघर्षको १५ वर्ष पूरा गरेको छ । यो बीचमा यसको स्वामित्वसमेत एकपल्ट परिवर्तन भएको र हामी त्यसमा नयाँ जोस, जाँगर र प्रतिबद्धताका साथ प्रवेश गरेको विदितै छ ।
हामी निर्भयतासाथ सत्यको मार्गमा बढिरहेका छौं र बढिरहनेछौं । पत्रकारिता र आमसञ्चार विविधतासँगै विविध विचार सम्प्रेषणका माध्यम हुन् । निषेधको अभ्यास गैरव्यावसायिकता मात्र होइन, पत्रकारिताको धर्मबाट विचलन पनि हो । हामी अन्नपूर्ण मिडिया नेटवर्कलाई ‘यो, त्यो र मेरो' को घेराबाट हाम्रो र सबैको सञ्चारमाध्यम बनाउने अभियानमा छौं ।
आलोचना प्रजातन्त्रको अति सुन्दर र सबल पक्ष हो । बोली र व्यवहारबीचको अन्तर हाम्रो सूक्ष्मदृष्टिमा परिरहेका छन् । त्यसैले हामी सत्ता र राजनीतिका सञ्चालक हाम्रा नेताहरूको आलोचना गर्दछौं तर आमचाहनासमक्ष झुकेबापत उहाँहरूलाई धन्यवाद दिन पनि पछि पर्दैनौं । शक्ति पृथकीकरणको सिद्धान्त विचलित भएमा अधिनायकवाद कुनै न कुनै रूपमा अगाडि आउँछ भन्ने मान्यता राख्छौं । त्यसैले सम्मानित अदालत आफ्नो सम्मान, निष्पक्षता र न्याय निष्पादनमा इमानदार रहोस् भन्ने प्रार्थना र प्रयास हामी आफ्नो कर्म र अभिव्यक्तिबाट गर्ने गर्छौं । नेपाल सुन्दर, शान्त र विशाल रहोस्, अक्षुण्ण रहोस्– समस्त नेपालीको यो चाहनाको हामी सशक्त आवाज बन्न चाहन्छौं ।
राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र लोकतन्त्रको प्रतिबद्धता हाम्रो व्यवहार, विचार र कर्ममा सदैव प्रतिबिम्बित भइरहनेछ । अन्तर्राष्ट्रिय जगत्सँगको उदार सम्बन्ध र छिमेकी मित्रहरूसँग समदूरीको मित्रवत् व्यवहारबाट हामी कहिल्यै विचलित हुनेछैनौं ।
यो हाम्रो अठोट र शक्तिको मुहानमा तपाईं समस्त पाठक, नेपाली नागरिक र हामीलाई सहयोग गर्नुहुने विज्ञापनदाता हुनुहुन्छ । तपाईंहरूको समर्थन हाम्रो अठोटसँग पूर्ण रूपमा मेल खान्छ । यो अवसरमा हामी मुलुकमा शान्ति, अमनचैन, लोकतन्त्रको दरिलो अभ्यास र आर्थिक समृद्धिले मूर्त रूप लेओस् भन्ने कामना गर्दछौं ।
अध्यक्ष, क्याप्टेन रामेश्वर थापा