लगानी भित्र्याउन समस्या
हेटौंडा : मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य हेटौंस्थित सहिद स्मारकले चर्चेको जमिनको भोगाधिकार नहुँदा लगानी भित्र्याउन समस्या भएको छ । जमिनको भोगाधिकार नहुँदा स्वेदशी र विदेशी लगानी भिœयाउन समस्या भएको सहिद स्मारक विकास समितिले जानकारी दिएको छ ।
दुई दशकदेखि सहिद स्मारकले चर्चेको २० हेक्टर जमिन आफ्नो नाममा ल्याउन समितिको प्रयास जारी छ । तर, सरकारले भोगाधिकार नदिने नीति लिएपछि चुनौती थपिएको समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताउनुभयो । भारतीय दूताबास र केही नेपाली व्यवसायीले लगानी गर्न चाहे पनि समितिसँग जमिन भोगाधिकार नभएपछि फर्किएको उहाँले बताउनुभयो । ‘विदेशी दाता र सहयोगीले जग्गा भोगाधिकारको प्रमाण माग्छन् तर हामीसँग भोगाधिकारको सम्झौताको कागज बाहेक अरु प्रमाण नहुँदा धेरै लगानी फर्किएको छ', न्यौपानेले भन्नुभयो ।
लामो समय भोगाधिकारका लागि प्रयास गरे पनि सफल नभएपछि अब समितिको क्षेत्रलाई कबुलियती वनका रूपमा अघि बढाउने विषयमा छलफल भइरहेको सल्लाह समितिका अध्यक्ष डोरमणि पौडेलले बताउनुभयो । सरस्वती सामुदायिक वन उपभोक्ता समितिको भोगाधिकार क्षेत्रभित्र रहेको जग्गामा गर्ने हरेक निर्माणसम्बन्धी काममा वन समितिको सहमति चाहिन्छ ।
स्मारकको खुला सीमानाका कारण चारैतिरबाट पर्यटक प्रवेश गर्दा समितिले आयस्रोतको हिस्सासमेत गुमाउँदै आएको छ । चौतर्फी कम्पाउन्ड घेर्न आन्तरिक स्रोतले सम्भव नरहेपछि स्थानीय निकायसग समन्वय गर्दै कम्पाउन्ड निर्माण जारी राखेको अध्यक्ष पौडेलले बताउनुभयो ।
दुई लाख भन्दाबढीले गरे अवलोकन चालू आर्थिक वर्ष २०७३/७४ को हालसम्म करिब दुई लाख २० हजार पर्यटकले स्मारक अवलोकन गरेको स्मारक विकास समितिले जनाएको छ । यहाँ घुम्न आउनेमध्ये करिब १० प्रतिशत विदेशी रहेको समितिको तथ्यांक छ । गत आर्थिक वर्ष २०७२/७३ मा करिब दुई लाख पर्यटक भित्रिएको सहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताउनुभयो । चालू आर्थिक वर्षमा टिकट बिक्रीबाट मात्र करिब ९० लाख रुपैयाँभन्दा बढी आम्दानी भएको उहाँले जानकारी दिनुभयो । ‘केही वर्ष अघिसम्म टिकट बिक्रीको पैसाले खर्च धान्न पनि मुस्किल हुन्थ्यो', न्यौपानेले भन्नुभयो, ‘तर अहिले टिकट बिक्रीको पैसाले पूर्वाधार निर्माणका काम पनि गर्न सक्ने भएका छौं ।'