अनुदानमा मौरीका घार वितरण

अनुदानमा मौरीका घार वितरण

बैतडी : जिल्ला कृषि विकास कार्यालय बैतडीले महिला किसानलाई अनुदानमा मौरीका घार वितरण गरेको छ । किसानलाई मौरीपालन व्यवसायबाट आत्मनिर्भर गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा मौरीका घार वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

मौरीपालनका लागि पकेट क्षेत्रको रूपमा रहेको दशरथचन्द नगरपालिका वडा नं ८ कापडी गाउँमा महिला किसानलाई ५० प्रतिशत अनुदानमा सेरेना जातको मौरी वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बैतडीका जेटीए महेश अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर भएका, मौरीपालनका लागि इच्छुक महिला किसानको समूह गठन गरेर मौरीका घार वितरण गरेका छौं । आधुनिक घारमा सेरेना जातको मौरी किसानलाई वितरण गरेका हौं । एउटा घारलाई आठ हजार परेको र किसानलाई प्रतिघार चार हजारका दरले उपलब्ध गराएका हौं ।'

रणशैनी कैलपाल मौरीपालन समूहका २५ जना किसानलाई पहिलो चरणमा मौरीका घार वितरण गरिएको छ भने ७५ जना किसानलाई एकदुईदिनभित्रै वितरण गर्ने तयारी भइरहेको जिल्ला कृषि विकास कार्यालय बैतडीका कृषि विकास अधिकृत दिव्यदेव भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चालू आर्थिक वर्षमा एक सय जना किसानलाई ५० प्रतिशत अनुदानमा मौरी वितरण गर्ने कार्यक्रम छ । सोहीअनुसार किसानलाई मौरीका घार वितरण गर्दैछौं । बैतडी मौरीपालनका लागि उपयुक्त जिल्ला भएकाले पनि मौरीपालनबाट किसानले आयआर्जन पनि गर्ने हुनाले मौरीका घार वितरण गरेका हौं ।'

कम लगानीमा मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सक्ने भएकाले विपन्न परिवारका महिलालाई समूहमा आवद्ध गराएर मौरीका घार वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैतडीमा उत्पादित मह प्रतिकेजी एक हजारको दरमा बिक्री वितरण हुने गरेको छ । यहाँ प्रशस्त मात्रा चिउरी पाइन्छ । चिउरीको मह झनै राम्रो हुने भएकाले यसको बजारसमेत राम्रो छ ।'

जिल्ला कृषि विकास कार्यालयले मौरीका घार वितरण गरेपछि किसानसमेत खुसी भएका छन् । अनुदानमा मौरीका घार प्राप्त गरेपछि मौरीपालन व्यवसायमा लाग्न सजिलो भएको दशरथचन्द नगरपालिका वडा नं ८ की भागरथी चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मौरीका घार उपलब्ध गराएको छ । मौरीपालन तालिम पनि दिएको छ । मौरीपालनबाट हामीलाई घरखर्च चलाउन सजिलो हुनेछ ।'

भागरथीजस्तै मौरीका घार प्राप्त भएपछि मौरीपालन व्यवसायलाई व्यवसायिक रूपमा अगाडि बढाउने योजना रहेको दशरथचन्द नगरपालिका वडा नं ८ की सुमित्रा चन्दले बताउनुभयो । ‘पहिला हरेक काममा पुरुषलाई मात्रै अघि सारिन्थ्यो । अहिले महिला समूह नै गठन गरेर मौरीका घार प्राप्त गरेका छौं । यसले हामीलाई व्यावसायिक बन्न र आर्थिक क्रियाकलापमा संलग्न गराउन सहयोग मिल्नेछ', उहाँले भन्नुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.