धुर्मुस-सुन्तली अर्थात् पुनर्निर्माण
देशमा २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । ५६ सकेन्ड मुलुक हल्लियो । आठ हजारभन्दा बढी मानिसले ज्यान गुमाए । कति आफन्तविहीन भए, हजारौं बेघर बने । लाखौं जनता महिनौं खुला आकाशमुनि बसे ।भूकम्पले घरबारविहीन भएको दुई वर्ष हुँदा पनि त्रिपाल टाँगेर बस्नेको संख्या अझै धेरै घटेको छैन । अझै पनि कतिपय भूकम्पपीडितले न छाना पाएका छन् न त सरकारले दिने घर निर्माणको रकम नै । प्राप्त सहयोग रकम सरकारी अव्यवस्थाका कारण सदुपयोग हुन सकेको छैन ।
बेला पुनर्निर्माण जोडी जसले भत्किएको घरमात्र होइन, मनसमेत जोड्ने काम गरेको छ । उनीहरूले हिमाल, पहाड र तराईमा तीनवटा आकर्षक बस्ती नै निर्माण गरेका छन् । हास्य कलाकार तथा समाजसेवी धर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले देशविदेशका नेपालीमाझ अँजुली थापेर सहयोग संकलन गरे । त्यही जुटेको रकमबाट तीनवटा बस्ती निर्माण गरे । टीभी स्क्रिनबाट लाखौं दर्शक हँसाएका उनीहरू भूकम्पपीडित बस्तीमा पसेर सयौँ नेपालीको घाउमा मल्हम लगाउन कस्सिए । दर्शकको आँखाको आँसु पुछ्न भूकम्पपीडितको घरआँगनमा पुगे ।
सरकारले देशैभरि पुनःनिर्माण अभियान सञ्चालन गर्न योजना बनायो । सरकारको भनाइ र गराइमा फरक देखियो । तर, धुर्मुस-सुन्तली नबोली जनताको घर जोड्न लागे । आज यो दम्पती चर्चामा छ । हँसाउने कलालाई थाती राखेर समाजसेवामा लाग्नुकै परिणाम उनीहरू चर्चाको शिखरमा पुगेका हुन् । धुर्मुस-सुन्तली फाउन्डेसन नै स्थापना गरेर भूकम्पयता पहाडी जिल्ला काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, हिमाली जिल्ला सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत नमुना बस्ती र तराई-मधेसको महोत्तरीको बर्दिबास-१ मा एकीकृत नमुना मुसहर बस्ती र पर्यटन प्रवद्र्धन उनीहरूले गरेका छन् ।
धुर्मुस-सुन्तलीले सहयोग संकलन गरेरै दुई वर्षमा झन्डै १२ करोडभन्दा बढीको सामाजिक काम गरेका छन् । सरकार र संघसंस्थाले भूकम्पपीडितका नाममा खर्बौं खर्च गरे तर उनीहरूको पीडा ज्यूँकात्यूँ छ । भूकम्पपीडित अझै त्रिपालमै छन् । तेस्रो वर्षामा पनि भिजेरै रात काट्नुपर्ने पीडामा अझै कतिपय पीडित छन् । तिनै पीडितमध्ये केहीका लागि भने धुर्मुस-सुन्तली भगवान् बनेर उभिए । गरे के हुन्न र ? भन्ने मान्यतालाई स्थापित गरिदिए ।
भूकम्प जाँदा धुर्मुस-सुन्तली सांस्कृतिक कार्यक्रमका लागि अमेरिकामा थिए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा घर भत्किएका, बस्तीका बस्ती विस्थापित भएका, पीडितहरू छट्पटाइरहेको देखेपछि उनीहरू भावुक बने । जुन दर्शकले आज धर्मुस-सुन्तली बनाए, त्यही दर्शक पीडामा परेको उनीहरूलाई सह्य भएन । आफ्नो उपस्थिति पनि राहत हुन्छ भनेर उनीहरू स्वदेश फर्किए । अमेरिकामा सरसफाइ अभियानका नाममा उठाएको १७ लाख रुपैयाँ बोकेर उनीहरू पहिलोपटक पीडितको सहयोगमा जुटे, त्यही यात्राले आज उनीहरू तीनवटा नमुना बस्ती निर्माता बने ।
अमेरिका जाँदा नेपालमै हजुरआमासँग छोडेकी छोरी सकुशल देखेपछि उनीहरूले अंकमाल गरे । सासू (कुञ्जनाकी आमा) ६ वटा करङ भाँचिएर थिलथिलो भएकी थिइन् । 'आफ्नै घरभित्र पनि पीडा रहेछ', लामो सुस्केरा हाल्दै धुर्मुसले भने, 'त्यो भनिएको थिएन ।' घरको पीडाभन्दा देश र देशवासीको पीडा ठूलो सम्झिएर आफूहरू राहत, उद्धार र बस्ती निर्माणमा खटिएको उनीहरूले बताए । २०७२ वैशाख २९ गतेको दोस्रो परकम्पको दोस्रो दिन खानेपानी विभागसँग समन्वय गरी सिन्धुपाल्चोकको पीपलडाँडा (जहाँ बढी मानवीय क्षति भएको थियो)मा ४० परिवारका लागि १० वटा शौचालय निर्माणबाट उनीहरूले समाजसेवाको यात्रा थालेका थिए।
जेनेरेटर लगेर सञ्चारविहीन पीडितहरूको मोबाइल चार्ज गरे । यात्रा १० वटा शौचालयमा सीमित भएन, नुवाकोटको ओखरपौवाका ४४ पीडित परिवारको शौचालय निर्माणसँगै नुवाकोटकै ठूलो चित्रेमा भूकम्पले क्षतविक्षत भएको महाकाली निम्न माध्यमिक विद्यालयको सातकोठे भवनसहित दुई सय ५० बालबालिकालाई शैक्षिक सामग्री वितरणसम्म पुग्यो ।
'भुइँचालोले विनाशसँगै विकासको मूल फुटाउने ठूलो अवसर दिएको हो । यसको मर्मलाई बुझेर सबैजना लाग्ने हो भने देश बन्न कत्ति पनि बेर पनि लाग्दैन', धर्मुस-सुन्तलीले भने, 'मनमा एकीकृत बस्ती विकास गर्ने सोच यसरी नै पलायो । अनि पहिलो एकीकृत नमुना बस्ती निर्माण काभ्रेको डाँडागाउँ पहरी बस्ती पुग्यौं ।' धन नभए पनि मन भएकै कारण यो सब सम्भव भएको उनीहरूले बताए ।
'एकीकृत बस्ती विकास गर्न सक्यौं भने समाज एकीकरण हुन्छ । समाज एकीकरण भयो भने विकास नै त्यही हो' भन्ने तर्कसहित उनीहरूले काम सुरु गरे । उनीहरूसँग जम्मा आठ लाख सहयोग रकम संकलित थियो । बस्ती बनाउन करिब ६० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरियो । भूकम्पले थलिएका, त्रसित भएका कारण बस्ती निर्माणमा कामदार पाउन पनि समस्या थियो । कसरी बनाउने माया गर्ने दर्शकका घर भनेर त्रिपालमा छटपटाइरहेका धर्मुसलाई श्रीमती कुञ्जना घिमिरेले सान्त्वना दिँदै भनिन्, 'घर बेचौं बूढा, आखिर तिनै दर्शकले बनाइदिएको घर हो । तिनै दर्शक पीडामा हुँदा हामीले यति पनि गर्न सकेनौं भने धर्तीमा जन्मेको सार्थकता के रह्यो ? ' भनेपछि धुर्मुसमा ऊर्जा थपियो । त्यही ऊर्जाले उनीहरूले पहिलोपटक ७० दिनमा नमुना पहरी बस्ती खडा गरेका थिए ।
ृउनीहरूको सत्कर्ममा स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरीको सहयोग रह्यो । २०७२ साल साउन २७ गते उनीहरूले तत्कालीन सहरी विकासमन्त्री नारायणसिंह खड्का, महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हातबाट बस्तीका अध्यक्ष श्याम पहरीलाई बस्तीको साँचो हस्तान्तरण गरे ।पहरी बस्ती बनाएर धुर्मुस-सुन्तली सरसफाइ अभियानमा लागे । विकासका लागि मान्छेको सोच बदल्न आवश्यक छ । त्यसैले सकारात्मक सोचको विकास सँगसँगै दिमागी सफाइ अभियानमा उनीहरू लागे । सुन्तलीसँगै रामेछाप जिल्लाबाट धर्मुसले राष्ट्रिय सरसफाइ अभियान सुरु गरे ।
पूर्वपश्चिम राजमार्ग सरसफाइका क्रममा उनीहरू महोत्तरीको बर्दिबास पुगी स्थानीयवासीसँग अन्तरक्रिया गरे । धुर्मुस-सुन्तली बर्दिबासको मुसहर बस्ती पुगे । मुसहर बस्तीको दर्दनाक दृश्यले उनीहरूलाई भावुक बनायो । १४ वर्षीय बालिकाले जन्माएको बालक देखे । पोसिलो खुवाउनुपर्छ भन्ने ज्ञान नभएको थाहा पाए । ओढ्ने ओछ्याउने । खाने अन्न नभएको उनीहरूले देखे । यही दृश्यले उनीहरूलाई मर्माहत बनायो । सिरक, ड्सना र खाद्यान्नसहित फेरि मुसहर बस्ती पुगे ।
पुनर्निर्माणको थालनी कहीँ कतैबाट नभएको देखेपछि आफैं जुट्ने अठोटका साथ धुर्मुस—सुन्तली फाउन्डेसन खोली सिन्धुपाल्चोकको मेलम्ची-८ स्थित गिरानचौरका ६५ परिवार भूकम्पपीडितका लागि दोस्रो गिरानचौर एकीकृत नमुना बस्ती निर्माण गरेका उनीहरूले २०७३ साल कात्तिक १२ गते राष्ट्रपति भण्डारीको हातबाट गिरानचौर बस्ती हस्तान्तरण गरेका थिए ।
'पवित्र र पुण्यको काममा सबैको साथ मिल्दो रहेछ', धुर्मुसले खुसी हँुदै भने, 'गिरानचौरपछि देशको बदलिँदो राजनीतिक परिस्थितिले छियाछिया भएको समाजलाई हामीले जोड्नुपर्छ भन्ने लाग्यो । तराई र पहाडको दूरीलाई समान गराउनुपर्छ भन्ने लाग्यो । त्यसका लागि सद्भाव र मानवीय धर्म निर्वाह गर्न भए पनि मुसहर बस्ती बनाउने संकल्प गर्यौं ।
२०७३ पुस ६ गते घोषण भयो ।' पुस २५ गते शिलान्यास गरिएको यो बस्तीभित्र ५० र बाहिर तीन गरेर ५३ घर, एक सामुदायिक भवन, एक बालउद्यान, एक मन्दिर, एक प्रतीक्षालय, एक घर एक चर्पी धारा, बस्तीको वरिपरि नियाल्न ३५ फिट अग्लो भ्यु टावरसमेत गरी पाँच करोड चार लाख ३६ हजार ८६० रुपैयाको लागतमा निर्माण सम्पन्न भयो । 'एकीकृत विकासकै अवधारणाले देश बन्छ' भन्ने मान्यता बोकेका धुर्मुस-सुन्तली भन्छन्, 'देश रेडिमेड भाषणले बन्दैन । असल कर्म र इच्छाशक्तिले मात्रै बन्छ ।'