उदारीकरणकै बाटोमा

उदारीकरणकै बाटोमा

राजनीति र अर्थतन्त्रका २५ वर्ष करिब तीन दशकदेखि मुलुकको आर्थिक नीतिको आर्किटेक मानिएका डा. रामशरण महत सबैभन्दा बढी समय अर्थ मन्त्रालय हाँक्ने भाग्यमानी मन्त्री हुन् । आर्थिक उदारीकरणलाई मुलुकमा प्रवेश गराएरबापत उनले ‘कम्युनिस्ट'हरूको विरोध खेपे । पछिल्लो समय उनैले बनाएको अर्थतन्त्रको ‘फाउन्डेसन'मा एमालेदेखि माओवादीसम्म दौडिन थालेका छन् । यसले राम्रो कुरा राम्रै हुन्छ भन्ने चरितार्थ भएको छ । स्कुले विद्यार्थीदेखि कांग्रेस राजनीतिमा होमिएका डा. महत स्वदेशी र विदेशीले आर्र्थिक विषयमा छलफल र परामर्श गरिँदा नबिर्सने नाम हो । अर्थराजनीति, उदारीकरण र खुला अर्थ नीतिका विज्ञ डा. महत कांग्रेसभित्र हक्की नेताका रूपमा परिचित छन् । झन्डै तीन दशकको राजनीति र अर्थतन्त्रमा सूक्ष्म ज्ञान राख्ने डा. महतसँग अन्नपूर्णकर्मी गोविन्द परियार, सुजित महत र गोविन्द लुइँटेलले विभिन्न पक्ष र मुलुकको भावी राजनीतिक परिदृश्यबारे गरेको वार्ताः
डा. रामशरण महत
पूर्वअर्थमन्त्री एवं नेता, नेपाली कांग्रेस
चुनावको सुनिश्चितता भएको हो ?
कुनै पनि राजनीतिक दल अब निर्वाचनबाट अलग हुनै सक्दैन । दलका माग र अडान हुन्छन्, तिनीहरूलाई जनताबीच पुर्‍याउने अवसर पनि हो निर्वाचन । निर्वाचन हुने÷नहुने विषयमा झुलाउने काम भयो । सरकार स्पष्ट नभईकन वार्ता भए । पहिलो संशोधन प्रस्ताव लगियो, समस्या समाधान भएन । पछिल्लो पटक भएका सहमतिपछि संविधान संशोधन विधेयक सरकारले संसद्मा दर्ता गरेको छ, त्यो सकारात्मक छ । यसले निर्वाचनको बाटो खोलिदिएको छ । निर्वाचन हुनेमा कुनै शंका छैन ।

सरकारलाई मधेसी मोर्चासँग प्रदेशको सीमा हेरफेर गर्ने संवैधानिक व्यवस्था परिवर्तन गर्न किन आवश्यक पर्‍यो ?
मधेसकेन्द्रित दलको माग सम्बोधन गर्ने र चुनाव गर्ने सन्दर्भमा यस्तो सहमति भएको हो । जसको भविष्यमाथि असर पर्छ, त्यसमा स्वनिर्णय गर्ने अधिकार त्यही क्षेत्रका जनताको हुनुपर्छ । तर, २० वर्षपछि चुनाव हुने अवस्थामा यसलाई नाजायज भन्न पनि मिल्दैन ।

अहिलेको जस्तै सहमति अलि पहिले गरेको भए त त्यतिबेलै आन्दोलन टुंगिने रहेछ नि ?
कांग्रेस एक्लैले निर्णय गरेर हुने विषय होइन । पार्टीभित्र फरक धारणा पनि थियो । हिजो एक्लाएक्लै आन्दोलन गरेका मधेसी दल एक भएका छन् । एकतापछि उनीहरू पनि निर्वाचनमा शक्तिका रूपमा आउन सक्छन् ।

तर, यहाँ निर्वाचनमा राम्रा मान्छे पराजित बन्ने प्रवृत्ति हाबी भएको छ, कसरी सन्तुलन गर्ने ?


यो संसारभरिकै प्रवृत्ति हो । निर्वाचन जित्नु चानचुने कुरा होइन । अनेक खेल हुन्छन् । हामीले राजनीतिलाई आकर्षक बनाउन पनि सकेका छैनौं । कलेज र विश्वविद्यालयका राम्रा र प्रतिभावान व्यक्ति यो क्षेत्रमा आउन चाहँदैनन् । निजामती क्षेत्रबाट केहीले प्रवेश गरे पनि उनीहरू फिर्ता हुँदै छन् । करियरका थुप्रै विकल्प भएका व्यक्ति यो क्षेत्रमा आउन रुचाएकै छैनन् । गतिला व्यक्ति आउन र टिक्न गाह्रो भएको हो ।

अहिलेको अवस्थामा सुधार हुन सक्ने देखिन्न । सुधार हुन राजनीति सामायन् अवस्थाबाट जानुपर्छ ।

अहिले राजनीतिमा प्रवेश गर्ने व्यक्ति कस्ता छन् ?
आज राम्रा मान्छेका लागि राजनीतिभन्दा अरू धेरै अवसर छन् । कठिन यात्रामा मान्छे हतपति होमिन चाहँदैनन् । अहिलेको अवस्थामा सुधार हुन सक्ने देखिन्न । सुधार हुन राजनीति सामान्य अवस्थाबाट जानुपर्छ । राजनीतिक स्थिरता कायम भएर सहज रूपले अगाडि बढ्नुपर्छ, तब मात्रै राम्रा मान्छे पाउन सक्छौं । राजनीति बिग्रिँदा अरू धेरै कुरालाई नराम्रो प्रभाव परेको छ । सरकारमा बस्नेहरू पनि सुरक्षित ठान्दैनन् । राजनीति अस्थिरता हुनेबित्तिकै शासन प्रणालीलाई खलबल पार्ने काम भएको छ । सुशासनका क्षेत्रमा त पूरै ध्वस्त पारेको छ । नेपाल अझ पनि संक्रमणकालबाट गुज्रिएको छ ।

पार्टीहरूले कार्यकर्तालाई गरेको स्कुलिङ नै गलत छ भनिन्छ नि ?
कमी-कमजोरी छ सबै दलमा । यो तुरुन्तै सुधार हुने विषय होइन । यी कुरा हिजोभन्दा आज अझ खराब हुँदै गएको देखिन्छ । हिजो राजनीतिमा पैसाको खेल हुँदैन थियो । आज हुन थालेको छ । स्थानीय निर्वाचन होस् वा प्रदेश सभाको निर्वाचन वा संघीय संसद्को निर्वाचन यसमा राम्राभन्दा नराम्रा संस्कार भित्रिँदै छन् ।

संघीयता मुलुकले धान्न सक्दैन भन्ने आवाज पनि छ नि ?
संघीयताको यात्रा हाम्रा लागि चुनौतीपूर्ण नै छ । यसबाट फिर्ता हुन पनि कठिन भइसक्यो । यो निकै महँगो र खर्चिलो व्यवस्था हो । हामीले होस गरौँ भनेका थियौँ । अब फर्कन सक्ने अवस्थामा छैनौँ ।

अधिकार स्थानीय तहमा गयो, यसले त मुलुकको विकासमा सहयोग पुग्ला नि ?
स्थानीय सरकार ७४४ बाट अझ बढ्ने कुरा भइरहेको छ । आर्थिक रूपले यसलाई कसरी धान्ने भन्ने चुनौती छ । स्थानीय तहको संख्या २ देखि ३ सयसम्मको ठीक हुने मैले देखेको छु । निर्वाचन पनि महँगो हुन्छ । आर्थिक रूपमा धान्न पनि गाह्रो छ । समाधान गर्ने दूरगामी सोच भएको राजनेताको खाँचो छ । क्षणिक लाभ हेर्ने प्रवृत्ति हाबी छ । यो प्रवृत्ति पूरै बदल्नुपर्छ ।

स्थानीय तहको अधिकार क्षेत्रमा विवाद आउन सक्ने सम्भावना कत्तिको छ ?
स्थानीय तहको निर्वाचनपछि अधिकारका विषयमा विवाद हुने देखिन्छ । संविधानले २२ वटा अधिकार स्थानीय सरकारलाई दिएको छ । निर्वाचनपछि उसले ती अधिकार उपभोग गर्न खोज्छ । प्रशासनको संरचना शून्य छ । भौतिक संरचना पनि निर्माण हुन सकेका छैनन् । परिवर्तनको नाममा हतारमा काम भएको छ । पूरै तयारीसाथ हामी संघीयतामा जानुपर्ने हो, त्यो भएन । आगामी यात्रा चुनौतीपूर्ण छ । राजनीतिक दल गम्भीर हुनै पर्छ ।

पार्टीमा समस्या छन् तर नयाँ दल खुलिरहेका छन्, तिनीहरूको भविष्य कस्तो छ ?
लोकतन्त्रमा दल खोल्न सबैलाई स्वतन्त्रता छ । उनीहरू आफैं परीक्षण हुँदै जानेछन् । नेपालमा राजनीति त्यति सजिलो देखेको छैन । देशबाहिर पनि राजनीतिक दल खोल्ने र सफल हुने भन्ने कुरा निकै कठिन यात्रा हो । अहिले आएका नयाँ दललाई शुभकामना छ, टिकिरहनुहोस् भन्ने ।

नयाँ पाटीका नयाँ एजेन्डाले ठूला पार्टीमा तरंग पैदा गरेको छैन ?
एजेन्डा नयाँ छन् तर कति दिगो रूपमा आउन सक्छ भन्ने मुख्य कुरा हो । क्षणिक रूपमा आउने त्यस्ता एजेन्डाले कतिसम्म धान्छ ? बाबुराम भट्टराईको नयाँ शक्तिले पनि नयाँ एजेन्डा ल्याएकै हो । त्यसको प्रभाव कतिसम्म रहन सक्यो र ? मान्छे फटाफट बाहिरिँदै छन् । यी दलका कारण हामीलाई ठूलो असर पार्छ भन्ने मलाई लाग्दैन ।

कांग्रेस मुलुककै पुरानो, धेरै आन्दोलनको नेतृत्व गरेको र अहिले संसद्को ठूलो पार्टी हो तर राजनीतिक भूमिकामा विस्तारै कमजोर भइरहेको छ, किन ?
कसरी कमजोर ? प्रधानमन्त्री नहुँदैमा कमजोर हुने कुरा हुँदैन । एजेन्डाको हिसाबले केही मान्न सकिन्छ । मैले यो कुरा पार्टीभित्र उठाइरहेको छु । कांग्रेसले साइज, क्षमता र हैसियतअनुसार भूमिका निर्वाह गर्नुपर्छ । जसरी सम्झौता भएका छन्, ती गम्भीर छन् । कांग्रेसको सरकार पनि माओवादीको जस्तो देखिएको छ । सरकार बनाउँदा हतारमा बनाइयो । नीति के हुने ? कार्यक्रम के ? भन्ने देखिएन । निर्वाचन सम्पन्न भएपछि त्यसबाट आउने परिणामले पनि नयाँ अध्याय सुरु हुनेछ ।

निर्वाचनमा कांग्रेसको अवस्था कस्तो छ ?
निर्वाचनमा हामी पहिलो पार्टीका रूपमा आउनेछौँ । हाम्रा आन्तरिम रिपोर्टले त्यो देखाएको छ ।

अब चुनावपछि सत्ताको नेतृत्व कांग्रेसले लिने सहमति भएको हो ?
मैले पाएको जानकारीअनुसार पहिलो चरणको स्थानीय चुनाव सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा गर्नुहुन्छ । त्यसपछि कांग्रेसले सत्ताको नेतृत्व गर्छ ।

चुनावअघि बजेट ल्याउन नदिने भन्दै एमालेले विरोध गरेको छ, के हुन्छ ?
आचारसंहिताले नै चुनावको मुखमा बजेट ल्याउन मिल्दैन । निर्वाचनको अगाडि नयाँ कार्यक्रम ल्याउन हुँदैन । संविधानले जेठ १५ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । संविधान संशोधन गरेर बजेटको मिति सार्न एमाले पनि सहमत हुनुपर्छ । सत्तारुढ दल तयार छन् । मिति सार्दा बजेटमा देखिएका पुरानै समस्या भने दोहोरिने भयो ।

बजेटको समस्या पनि हल हुने, निर्वाचन गर्न पनि अप्ठ्यारो नपर्ने विकल्प देख्नुहुन्छ ?
अधिकांश देशमा बजेट आउने मिति तोकिएको हुन्न । जेठभित्रै बजेट पेस गर्ने राजनीतिक समझदारी र प्रतिबद्धता भयो भने संविधानमा लेखिराख्नु पर्दैन ।


स्थानी तहको निर्वाचनमा कांग्रेसको एजेन्डा के छ ?

निर्वाचनमा मात्र होइन, जहिले पनि आर्थिक मुद्दालाई महत्ववसाथ अगाडि बढाएका छौं । लगानी वृद्धि गर्ने, सामाजिक क्षेत्र र पूर्वाधारको विकास गर्ने, निजी क्षेत्रलाई विस्तार गर्ने सबै विषय कांग्रेसले नै प्राथमिकतासाथ ल्याएको हो । प्रशासनमा मेरिटको आधारमा नियुक्ति गर्ने पद्धति विकास गर्नेलगायत काम हामीले गर्दै आएका विषय हुन् । सरकारको अस्थिरताका कारण यो छायामा पर्दै गएको हो । कांग्रेसले मुलुकको पद्धति सुधार गरेर समृद्ध मुलुक बनाउने गरी एजेन्डा तय गरेको छ, घोषणापत्रमार्फत ।

लामो समय अर्थ मन्त्रालय हाँक्नुभयो, विपक्षीले आर्थिक नीति नै बिग्रियो भनेर विरोध पनि गरे नि ?
आर्थिक समृद्धिको योजना कांग्रेसकै हो । विरोध गर्ने हाम्रा विपक्षी दल पनि अहिले त्यसलाई अनुसरण गरिरहेका छन् । ०४६ सालपछि मैले लगानी सुधार गरेर सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्ने नीति ल्याएँ । त्यसको परिणाम सकारात्मक देखियो । हिजो विरोध गर्नेहरू आज त्यसलाई एजेन्डा बनाएर हिँडेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारको परफरमेन्सलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
कुनै-कुनै ठाउँमा उपलब्धि राम्रै छ । समग्रमा म त्यति प्रभावित छैन । सरकार बाँडफाँटमै लागिरहेको छ । वितरणवादी सोचबाट प्रधानमन्त्री प्रभावित हुनुहुन्छ । देशको दीर्घकालीन हित गर्ने भन्दा पनि क्षणिक राजनीतिक लाभको विषयमा उहाँ केन्द्रित भएको देख्छु । लोडसेडिङको अन्त्यले उत्पादनमा सकारात्मक प्रभाव पारेको छ । केही लगानी बढाउने काम पनि भएको छ । यी राम्रा काम हुन् ।

संघीयता र लोकतन्त्रलाई हिजो प्रजातन्त्र र विकेन्द्रीकरणमा जस्तो खिइन नदिन नेता, कार्यकर्ता र नागरिकलाई कसरी सक्षम बनाउने त ?
स्थानीय सरकारलाई दिइएको अधिकार विकेन्द्रीकरणको नीतिअनुरूप नै आएको हो । हामीले संघीय सरकार हुँदा तल्लो तहमा रहेको अधिकार र वितरणको कुरा पहिलेदेखि नै गरिरहेका छौं । त्यो नखुम्चियोस् भन्नका लागि स्थानीय सरकार बलियो बनाइएको हो । तर, स्थानीय सरकारको संख्या धेरै भएको छ । अर्को स्थानीय सरकारका लागि भौतिक संरचनाका साथै प्रशासनिक संरचना तयारी हुन सकेको छैन । यो चुनौती हो ।

संविधानका विषयमा विवाद आएको छ, राम्रो बनाउन नसकेको कि, चलाउन नजानेको ?
हामीले अति महत्ववाकांक्षी संविधान बनायौँ । संविधानमा आकांक्षा धेरै छन् । कसरी पूरा गर्ने भन्नेमा हामीले ध्यान दिएका छैनौं । ३१ वटा मौलिक अधिकार छन् । स्थानीय तहमा कानुन निर्माण गर्नेलगायत धेरै संरचना सिर्जना गर्‍यौं । त्यसलाई अधिकारसहित ती इकाइ समृद्ध बनाउन आर्थिक कार्यक्रम चाहिन्छ, त्यसमा संविधान कमजोर छ ।

०४८ सालमा तपाईं योजना आयोगमा रहँदा त्यस बेलाको राजनीतिक र आर्थिक परिदृश्य कस्तो थियो ?
देशमा ठूलो परिवर्तनपछि जनतामा धेरै आकांक्षा पैदा भएका थिए । साधन स्रोत निकै कम थियो । जम्मा राजस्व १२ अर्ब रुपैयाँको थियो । त्यसबेला ३६ अर्ब जतिको बजेट आउँथ्यो । शिक्षा, स्वास्थ्य, बाटोघाटोदेखि कर्मचारीको खर्च कसरी धान्ने ? बीपीले ०१५ सालमा पार्टीको अध्यक्ष हुँदा भन्नुभएको कुरा पढेको थिएँ । ‘तपाईंहरू विभिन्न जिल्लाबाट आउनुभएको छ, खानेपानी, बाटो आदिको माग लिएर । हामीले काम गर्ने बेला हो । सबैको आकांक्षा पूरा गर्न सक्दैनौं । उत्पादन बढाएर मात्रै सबैको आकांक्षा पूरा गर्न सक्छौं । विपक्षीले उचालेर आकांक्षा बढाउने काम मात्रै गर्छन् । हामी जिम्मेवार भएर बस्नुपर्छ', उहाँले भनेका यी कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

उदारीकरणको २५ वर्षको समीक्षा गर्दा के उपलब्धि भयो ? के- के कुरामा गल्ती गरिएछ जस्तो लाग्छ ?
यसमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ठूलो देन थियो । मान्छे छान्नेदेखि सबै कुरामा स्वतन्त्रता दिइएको थियो । आफ्नो क्षेत्रमा विशिष्टता हासिल गरेर आएका व्यक्तिहरू छानिए ।

योजना आयोगमा के-के सुधार गर्न सकिन्छ भनेर विज्ञको टीम बनाए । राजनीतीकरण हुनै दिइएन । अर्थ मन्त्रालयको अनुभवी टीम हामीसँग थियो । विश्वव्यापी सुधारको लहरले हामीलाई काम गर्न घच्घच्याइरहेको थियो । हाम्रो देशमा उदारीकरण आवश्यक छ, पूर्वी एसियाका देश निकै अगाडि बढे, हामी धेरै पछाडि पर्‍यौं भन्ने हामीलाई महसुस भएको थियो । चीन पनि आर्थिक रूपले शक्तिशाली बन्दै गएको थियो । ‘टीम वर्क'को कारण पनि यो सम्भव भएको हो । त्यो समय हाम्रो सिकाइको समय थियो । भारतभन्दा हामी अघि थियौं । राजनीति अस्थिरता, सशस्त्र द्वन्द्व आदि कारणले कमी कमजोरीलाई तत्काल सम्बोधन गर्दै उदारीकरणबाट अधिकतम लाभ लिन अलि चुक्यौं ।

दह्रो नियामक निकाय नभई बजारलाई धेरै कुरा छाडिदिँदा विकृति देखिए नि ?
त्यो ठीक हो । हाम्रा नीति सफल छन् तर सरकार असफल भयो ।

२५ वर्षअघि उदारीकरण सुरु गर्ने सरकार प्रमुखको नाम लिइन्न, अर्थमन्त्रीलाई पनि सम्झिइन्न, योजना आयोगका उपाध्यक्ष रहनुभएका तपाईंको नाम लिइन्छ । कस्तो लाग्छ ?
शासन प्रणाली सञ्चालन गर्नेमा योजना आयोग आफैं पूर्ण अंग होइन । यो नीति निर्माण गर्ने निकाय मात्रै हो । म, मैले अगाडि सारेका नीतिमा जसरी पनि प्रतिरक्षा गर्ने गर्थे । उदारीकरणको पक्षमा बढी भोकल भएकाले हुन सक्छ जस अपजसको भागिदारमै हुने गरेको छु ।

अहिले योजना आयोग नै आवश्यक छैन पनि भन्न थालिएको छ नि ?
सामाजिक क्षेत्रमा सरकारको भूमिका छ । त्यसमा पनि योजना आयोगले काम गर्नुपर्छ । आयोग ‘पोलिसी सपोट' गर्ने सरकारको ‘थिंक ट्याङक' हो । मन्त्रालय दैनिक काममै व्यस्त हुन्छन् । नीतिमा गम्भीर छलफल गरी त्यसको अभ्यास गर्ने मन्त्रालय उपयुक्त देखिएका छैनन् । मन्त्रालयलाई बलियो ‘एड्भाइजरी बडी' चाहिन्छ । त्यो कामचाहिँ योजना आयोगले पूरा गर्‍यो । आयोग चाहिँदैन भन्नेलाई छुट छ ।

खुला बजारमा प्रतिस्पर्धा हुनुपथ्र्यो, जसले उपभोक्ताले लाभ पाउन सक्थे । तर, यहाँ सिन्डिकेटतन्त्र मौलायो नि ?
सिन्डिकेटवाला निकै ‘पावरफुल' छन् । राज्य प्रणाली कमजोर हुँदा यस्ता समस्या आउँछन् । सरकारसँग आँट हुनुपर्छ त्यो तोड्ने । सिन्डिकेट उदारीकरणको उपज होइन, गभर्नेन्समा समस्या देखिँदाको ‘बाइप्रडक्ट' हो ।

उदारीकरणलाई पहिले विरोध गरे पनि एमालेलगायत दलले पछि समर्थन गर्दै गए । कस्तो लाग्छ ?
राम्रा कामलाई राम्रो भन्ने संस्कार विकास नभएर मात्रै हो । हिजो बहुदल भन्नै नचाहनेहरू पनि बहुदलमा आए । बहुदल त कांग्रेसले सुरु गरेको हो तर यसमा सबै आए । आर्थिक समृद्धिको कुरा पनि कांग्रेसले सुरु गर्‍यो अरू दलले त्यसको अनुसरण गरे । त्यसमा खुसी नै लाग्छ ।

तपार्इंले सुरु गरेको अर्थतन्त्रको सुधारको आचोलना पनि उत्तिकै हुन्छ, भोलिका दिनमा यसलाई कसरी लिइएला ?
मूल्यांकन गर्नेहरूले जे देख्छन् त्यही भन्छन् । व्यावहारिक हिसाबले सबैले राम्रो मानिसकेका छन् । हो, व्यक्तिगत रूपमा मलाई कसैले नराम्रो मान्लान् तर नीतिगत रूपमा चाहिँ त्यसलाई स्वीकार गरिरहेका छन् ।

नेपालले सन् २०२२ सम्म डेभलपिङ र सन् २०३० सम्म मिडिल इनकम कन्ट्रीमा पुग्ने लक्ष्य राखेको छ । यी आर्थिक लक्ष्य पूरा गर्न के चुनौती छन् ?
नेपालले लक्ष्य पूरा गर्न मानवीय शक्ति निर्माण, चुनौती सामना गर्ने तयारी र प्रतिव्यक्ति आय प्रमुख कुरा हुन् । दुईवटा मापदण्ड हामीले पूरा गरिसकेका छौँ । प्रतिव्यक्ति आय अब कसरी बढाउने यसमा चुनौती छ । अहिलेको ६ प्रतिशतको आर्थिक वृद्धि अर्काे वर्ष टिकाउन हामीलाई गाह्रो छ । दिगो रूपमा आर्थिक वृद्धि हासिल गरिरहन सक्छौं÷सक्दैनांै मुख्य विषय हो । आर्थिक मुद्दालाई नै प्राथमिकता राखेर काम गर्ने सरकार हुनु जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.