सेवाग्राहीसँग घुस लिदालिंदै सचिव पक्राउ
काठमाण्डौं : संसदीय विकास बजेट अन्तर्गत भएको सडक मर्मतको बिल फर्छाैट गर्न सेवाग्रहीसंग घुस लिने महोत्तरीका एक वडा सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल सम्पर्क कार्यालय बर्दिबासकोे टोलीले पक्राउ गरेको छ ।
महोत्तर क्षेत्र नं ६ का सांसद सीताराम भण्डारीको संसदीय विकास बजेटबाट भएको विकास रकमको बिल फर्छौट गर्न घुस लिएको आरोपमा सोनमा गाउँपालिका वडा नं ६, ७ र ८ सुन्दरपुर वडा कार्यालयका वडा सचिव ३० बर्षीय सुभाष पौडेललाई अख्तियारले पक्राउ गरेको हो । पौडेल सेवाग्राहीसँग १५ हजार घुस लिदालिदैं पक्राउ परेका हुन् ।
स्याङ्जा जिल्लाको साविकको गा.वि.स आरुखर्क वडा नं ६ घर भएका उनलाई सोमबार दिउँसो पक्राउ गरिएको बर्दिबास अख्तियार कार्यालयका डिएसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो ।
वडा सचिव पौडेलले साविक गा.वि.स सुन्दरपुर वडा नं ३ स्थित कतरवा टोलदेखि त्रिलोकीनाथ मन्दिरसम्मको सडक विस्तारको कार्य सम्पन्न पश्चात अनुसूची नं १३ फर्ममा सही गर्न सेवाग्राहीसँग . १५ हजार रुपैयाँ घुस मागेका थिए ।