इतिहास रचेका यी १० नेपाली महिला
राजनीतिक-सामाजिक परिवर्तनसँगै नेपाली महिलाको स्तर पनि वृद्धि भएको छ । चुलोचौकोमा सीमित नेपाली महिला समयक्रमसँगै विभिन्न क्षेत्रमा सहभागी भएकामात्रै छैनन्, नेतृत्वमै स्थापित भइसकेका छन् । जहाँ महिला नेतृत्वको रूपमा चुनिएका छन्, त्यहाँ आफ्नो क्षमता प्रदर्शन गरिछोडेका छन् । आफ्नो क्षेत्रमा क्षमता प्रदर्शन गरेर इतिहास रचेका १० महिला यस्ता छन्
१) सर्वोपरि हितमा सक्रिय
विद्यादेवी भण्डारी, राष्ट्रपति
नेपालको पहिलो महिला राष्ट्रपति भएर विद्यादेवी भण्डारीले नेपाली महिलाको परिचयलाई नै उचाइमा पुर्याएकी छन् । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुनुअगाडि उनी नेपाल कम्युनिस्ट पार्टी एमालेकी उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् । नेकपा (एमाले)मा रहेर सक्रिय राजनीतिमा होमिएकी उनले विगतमा विभिन्न मन्त्रालय हुँदै रक्षा मन्त्रालयसमेतको जिम्मेवारी सम्हालिसकेकी छन् ।
विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले सन् २०१६ को शक्तिशाली महिलामध्ये ५२औं स्थानमा उनलाई सूचीकृत गरेको छ । भोजपुरमा जन्मिएकी भण्डारी विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी हुन् । देशको राष्ट्रपतिका रूपमा उनी संविधानको रक्षकको भूमिकामा मात्रै नभई नेपाल र नेपाली जनताको सर्वोपरि हितमा सक्रिय रहेकी छन् । देशको समसामयिक विषय एवं नेपाली महिलाको सशक्तीकरणका लागि उनीहरूका विविध पक्षमा राष्ट्रपति भण्डारीले बेलाबेलामा छलफल पनि चलाउने गरेकी छन् ।
२) सक्षमता साबित
ओनसरी घर्तीमगर, सभामुख
पहिलो संविधानसभामा ओनसरी घर्तीमगर समानुपातिकबाट सभासद् बनेकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा उनले रोल्पा-२ बाट जितिन् र उपसभामुख बनिन् । नेपालको संविधान २०७२ जारी भएसँगै नेपालको पहिलो महिला सभामुख बनेर नयाँ कीर्तिमान बनाइन् ओनसरीले । रोल्पामा विद्यार्थी जीवनमा नै उनी राजनीतिमा लागेकी हुन् । २०५२ सालमा उनी तत्कालीन नेकपा (माओवादी)को एरिया सदस्य भइसकेकी थिइन् । कम उमेर र न्यून शैक्षिक योग्यता भएको भन्दै उनका धेरै आलोचना हुने गरे पनि आफूले पदभार सम्हालेपछिका दिनमा संसद्मा सक्रिय भूमिका खेलेर उनले आफ्नो सक्षमतालाई साबित गरिदिएकी छन् ।
३) निडर न्यायमूर्ति
सुशीला कार्की, प्रधानन्यायाधीश
सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की न्यायपालिकाको उच्चतम पदमा पुग्ने पहिलो नेपाली महिला हुन् । प्रधानन्यायाधीश कार्कीले न्यायालय सम्हालेको एक वर्ष भएको छ । सात सन्तानमध्येकी जेठी सन्तानका रूपमा रहेकी सुशीलालाई उनका बुवाले डाक्टर बनाउन चाहे पनि उनले भने अध्ययनका लागि वकालत नै रोजिन् र यसैमा करिअर बनाइन् । उनले आफू न्यायाधीश हुँदा थुप्रै चर्चित मुद्दामा फैसला गरेकी छन् ।
बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताको भ्रष्टाचार मुद्दामा उनैले दोषी ठहर गरेकी थिइन् । धेरैले उनको प्रशंसा गर्दै निडर न्यायमूर्तिको संज्ञा दिए पनि आलोचना गर्नेहरू पनि कम रहेनन् । लोकमानसिंह कार्कीविरुद्ध संसद्ले महाअभियोग प्रस्ताव अघि नबढाएर आलटाल गरिरहँदा सुशीला कार्कीसहितको 'बेन्च'ले लोकमानलाई अयोग्य भन्दै फैसला सुनाएपछि उनको प्रशंसा भएको थियो । यद्यपि यो मुद्दामा आलोचना पनि उत्तिकै भयो । न्यायाधीश नियुक्तिमा भने उनीबाट त्रुटि भएको भन्दै धेरैले आलोचना गरे । साधारण जीवनशैलीमा रहेकी सुशीलालाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने न्यायाधीशका रूपमा चिनिन्छ ।
४) माइतीकी आमा
अनुराधा कोइराला, अध्यक्ष, माइती नेपाल
माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई हालै भारत सरकारले प्रदान गरेको पद्म श्री सम्मानले उनको ख्यातिलाई थप अन्तर्राष्ट्रियकरण गरिदिएको छ । नेपालबाट भारतमा बेचिएका महिला र बालबालिकाको उद्धार र संरक्षणमा काम गर्दै आएकी सामाजिक अभियन्ता कोइराला २०१७ मा यो सम्मान पाउने एकमात्र विदेशी हुन् । पद्म श्री भारत सरकारले दिने भारतरत्नपछिको दोस्रो ठूलो सम्मान हो ।
सन् २०१० मा सीएनएन हिरो अवार्ड प्राप्त गरिसकेकी कोइरालाले अन्य धेरै अन्तर्राष्ट्रिय अवार्ड पनि पाइसकेकी छन् । पशुपतिमा भेटेका केही महिलालाई राखेर २०४७ सालमा भाडाका दुई कोठाबाट सुरु भएको संस्थाको आजसम्म आइपुग्दा १२ वटा आवधिक गृह, दुईवटा रोकथाम गृह, दुईवटा पुनस्र्थापना केन्द्र, एउटा बालसंरक्षण गृह, एक विद्यालय, प्राथमिक उपचार केन्द्र र दुई स्नेह गृहसहितका पुनर्संरचना गौशालाको दस रोपनी क्षेत्रफलमा गठन भइसकेका छन् ।
५) मानवअधिकारकी रक्षक
मोहना अन्सारी, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
नेपालगन्जको एक निम्नमध्यम वर्गीय मुस्लिम परिवारमा जन्मिएकी मोहना अन्सारी आफ्नो समुदायमा नै वकिल बन्ने पहिलो महिला हुन् । विगत तीन वर्षदेखि उनी राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यका रूपमा कार्यरत छिन् । अन्सारीले महिला र मानवअधिकारका क्षेत्रमा ठूलो योगदान पुर्याएबापत उनी देशकै उच्च संवैधानिक निकायमध्येको एक मानवअधिकार आयोगमा पुगेकी हुन् । यसअगाडि पनि उनले सन् २०१० देखि चार वर्षसम्म राष्ट्रिय महिला आयोगमा सेवा पुयाइसकेकी छन् ।
६) सञ्चारदेखि सिडसम्म
वन्दना राणा, महिला अधिकारकर्मी
सञ्चारकर्मी हुँदै महिला अधिकारको क्षेत्रमा लागेकी वन्दना राणा महिलाविरुद्ध हुने विभेद अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) सदस्य हुन् । २६ देशका महिलाको प्रतिस्पर्धाबाट अत्यधिक मत पाएर उनी समिति सदस्य बनेकी हुन् । नेपाल सरकारले समेत समिति सदस्यका लागि उनको नाम सिफारिस गरेर उनलाई उक्त पदमा जिताउन धेरै पहल गरेको थियो । महिला विभेद अन्त्यका लागि काम गर्ने उक्त महत्वपूर्ण ठाउँमा उनी सन् २०२० सम्म सक्रिय रहनेछिन् । राष्ट्रसंघीय उच्च पदमा पुग्ने पहिलो नेपाली महिला राणा नै हुन् ।
७) निजी क्षेत्रकी नेता
भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा चुनिएकी महिला हुन् भवानी राणा । महासंघको ५१औं वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासंघको नयाँ अध्यक्षमा निर्वाचित भएकी हुन् । महासंघको विधानको छैटौं संशोधनबाट महासंघका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ । उनी रोलक्रममा महासंघको १८औं अध्यक्ष भएकी हुन् ।
उद्योग वाणिज्य महासंघमा राणाले आबद्धता जनाएको पनि झन्डै १२ वर्ष भइसक्यो । पहिले उनी महिला उद्यमी महासंघमा थिइन् । त्यहाँबाट मनोनीत सदस्य भएर पहिलो कार्यकालको काम गरिन् । काम गर्दैगर्दा दोस्रोपटक उनी निर्वाचित नै भइन् । त्यति बेला महासंघमा पहिलो महिला सदस्यको चुनाव भयो । त्यसमा पनि उनी निर्वाचित भइन् । त्यसपछि महासंघमा राणाको यात्रा रोकिएन । हाल पहिलो महिला अध्यक्षजस्तो गरिमामय पदमा रहेर उनी समग्र निजी क्षेत्रको उत्थान र विकासमा सक्रिय भएकी छन् ।
८) असाधारण आमा
पुष्पा बस्नेत, सीएनएन सुपर हिरो
गत मंसिर महिनामा पुष्पा बस्नेतले सीएनएन सुपर हिरोको उपाधि जितेर विश्वको ध्यान पुनः एकपटक नेपालतर्फ खिचेकी छन् । अमेरिकी टेलिभिजन सीएनएनले सीएनएन हिरो अवार्ड प्रदान गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सीएनएन हिरोमध्येबाट सुपर हिरो अवार्ड प्रदान गरिएको हो । कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेबापत सीएनएनले उनलाई सन् २०१२ मा सीएनएन हिरो अवार्ड प्रदान गरेको थियो।
९) प्रबल इच्छाशक्तिकी धनी
झमककुमारी घिमिरे
झमककुमारी घिमिरे नेपाली साहित्यजगत्मा एक प्रतिभाशाली व्यक्तित्व हुन् । बुवा कृष्णबहादुर र आमा आशादेवी घिमिरेको पहिलो सन्तानका रूपमा जन्मिएकी झमक सुरुमा अन्य शिशुझैं सामान्य देखिन्थिन् । तर, उनलाई मस्तिष्कीय पक्षाघात भएका कारण हुर्कंदै जाँदा अन्य शिशुसरह उनका हातगोडा सक्रिय हुन सकेनन् ।
उनको बोली पनि नआएपछि उनी बहुअपांगताको अवस्थामा पुगिन् । तर पनि उनी सुन्न र बुझ्न भने सक्छिन् । खुट्टाका तीन औंलामात्रै चल्ने उनले त्यही तीन औंलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकी छन् । उनको आत्मसंस्मरण 'जीवन काँडा कि फूल'ले मदन पुरस्कार प्राप्त गरेको छ ।
१०) अयोग्य लडाकु साहसी वर्ष व्यक्ति
मीरा राई, धाविका
भोजपुरको सानो दुम्मानामा जन्मेकी मीरा राई नेपाली म्याराथन खेलाडी हुन् । पूर्वमाओवादी लडाकुका रूपमा रहेकी उनी लडाकु समायोजन प्रक्रियामा अयोग्य साबित भई पाखा लगाइएकी थिइन् । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मीराले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किमीको दूरी १२ घन्टा ३२ मिनेटमा पूरा गर्दै उपाधि जितेकी छन् । उनले २०१७ को नेसनल जियोग्राफी एड्भेन्चर अफ दी इयरमा साहसी वर्षव्यक्ति २०१७ को उपाधि हासिल गरेकी छन् ।