विकासका लागि सहिष्णुता 

विकासका लागि सहिष्णुता 

विदेशीसँग बिहा गरेका मेरा एक धनाढ्य साथी नेपाल त फर्किए तर क्यानडामा स्थायी बसोबासको बन्दोबस्त मिलाएर परिवारलाई उतै पठाए । कारण खोज्दा उनले सुनाएको जवाफले बिथोलिएँ म । ‘छोराहरू विदेशी (गोरा)जस्ता छन्, तिनलाई हाम्रो समाजले प्योर नेपाली मान्नेवाला छैन', साथीको जवाफ थियो, ‘तिनीहरूलाई गाह्रो पर्ने देखेर विकल्प खोज्न पर्‍यो ।'

उनको उत्तर सुनेपछि म पनि निकै बेर घोत्लिएँ । उनले सही गरेजस्तो लाग्यो । विदेशीसँग बिहा गरेको भए मैले पनि सायद उनले जस्तै गर्थें । मुलुकमा प्योर नेपाली भन्नासाथ एकखालको अनुहार, भाषा, संस्कृतिलाई ठानियो । यहाँको विविधतालाई समेत स्वीकारिएन÷सम्मान गरिएन । यहाँका विभिन्न जातजाति र क्षेत्रका जनतालाई समेत प्योर नेपाली ठान्न नसक्नेको कमी छैन । झन् पश्चिमा अनुहार भएकालाई कति गाह्रो पर्ला । कति ठाउँमा उसले म नेपाली हुँ भन्दै प्रमाणित गर्नुपर्ला ?

अर्का मित्र छन्, नेपाली बुवा र स्विस आमाका सन्तान— हार्वर्ड र एमआईटीमा पढेका । श्रीमती पनि विदेशी । बाहिर अवसरैअवसर हुँदा पनि नेपालमै बसेर काम गरिरहेछन् । भेट्दा उनको उपस्थितिले मात्र काठमाडौंको वजन बढेजस्तो लाग्छ— उनको ज्ञान, व्यावसायिकता र देशप्रति माया देखेर । तर, उनको ज्ञान र सीपबाट नेपालले पाएजस्तो अघिल्ला मित्रका सन्तानबाट देशले नपाउने सम्भावना छ । उनीहरू क्यानडाली भएका छन् । धन्न नेपाल फर्किएका साथी समाजले प्योर नेपाली ठानोस् नठानोस्, यहीँ आफ्नो ज्ञान खपत गरिरहेका छन् । छोराछोरी यतै पढाइरहेका छन् । उनका सन्तानले प्योर नेपाली नठानिएको महसुस गरी विदेशमा बस्न रुचाए घाटा देशलाई हुने हो । छोराहरूका लागि क्यानडामा बसोबासको बन्दोबस्त गर्ने साथी अर्बौं रुपैयाँका मालिक हुन् । उनले नेपालमा ठूलै लगानी पनि गरेका छन् । उनले छोराहरूका लागि नेपाल सुरक्षित ठान्न सकेको भए उनका सन्तान पनि यहीँका हुने थिए ।

विश्व इतिहास र वर्तमानलाई हेरौं, विविधताले कहिल्यै कसैलाई घाटा भएको छैन । विविधतामा सहिष्णुता राख्न सकेकैले अधिकांश देशले उन्नतिको शिखर चुमेका छन् । विविधता स्वीकार्न नसकेका देश भने नक्साबाटै नामेटसम्म भएका छन् । मुस्लिमलाई खेदेर युगोस्लाभिया कहाँ पुग्यो, देखिएकै छ । कुर्दको नरसंहार गर्ने इराकको हविगत अवगतै छ । अनि विविधतामा मान्यता राख्ने अमेरिका, अस्ट्रेलिया, क्यानडा कहाँ पुगे? थाहा पाउन त्यहाँ पुगिरहनै पर्दैन । तिनले द्रुत गतिमा तरक्की गरे, गरिरहेका छन् जसले ब्रेन र पैसा देशलाई कहिल्यै बोझ हुँदैन भन्ने मान्यता राखे । अमेरिकाको तरक्कीको प्रमुख मन्त्र यही हो । अमेरिकाले ब्रेन र पैसा हुने संसारको जुनसुकै कुनाको नागरिकलाई पनि स्वीकार्‍यो, सहिष्णुता देखायो ।

आतंककारी हमला भएपछि आतंकमा लगानी गर्ने पुँजी नभित्र्ययोस् भनेर अमेरिकाले सतर्कता अपनाउन थाल्यो, नत्र पैसावाल जोकोही पनि अमेरिकाका लागि स्वीकार्य थिए । अहिले पनि अमेरिका बस्ने नेपालीले यहाँ घरजग्गा बेचेको पैसा अवैध तरिकाले (हुन्डीमार्फत) उता पुर्‍याउँछन्— घर किन्छन्, व्यवसायमा लगानी गर्छन्— त्यहाँको सरकारले खोजीनीति गर्दैन । यहाँ बैंक ठगेर भागेका पवन कार्की अमेरिकामा डिपार्टमेन्टल स्टोर खोलेर बसेको समाचार आउँछ । सरकारले जति प्रयास गरे पनि अमेरिकाले उसलाई समातेर नेपाल पठाउँदैन । मेरो घर भएको रत्ननगर (चितवन)को अस्पतालमा एकजना स्विस स्वयंसेवी वर्षौंदेखि बसेर सेवा गरिरहेका छन् । अस्पताल निर्माणमा खर्च गरेका छन् । तिनले सेवा दिनेबाहेक कुनै फाइदा खोजेको थाहा छैन । तर, तिनैले एक दिन भिसा नवीकरण गर्न ५० हजार रुपैयाँ घूस ख्वाउन परेको सुनाउँदा मलाई असजिलो लाग्यो ।


धार्मिक, साम्प्रदायिकदेखि आर्थिक सहिष्णुता कायम नहुँदा नेपाली समाज अविकसित छ । सहिष्णु समाजले मात्र विकासको गोरेटो निर्माण गर्नसक्छ ।

इतिहास अध्ययन गर्दा थाहा हुन्छ, सहिष्णुता हाम्रो संस्कृति हो । सयौं वर्षअघि काठमाडौंले मुस्लिमलाई स्वीकारेको हो, बोझ कहाँ भए ? तिनको कारण हाम्रो राष्ट्रियतामाथि कहाँ खतरा भयो, कसैले बताइदियोस् त । ठूलो समूहमा शरण लिन तिब्बतीहरू नेपाल आउन थालेको तिब्बतमा चिनियाँ सेना पुगेपछि हो । त्योभन्दा धेरै अघिदेखि तिब्बतीलाई स्वीकारिएको थियो । बर्माबाट आएका यहीँ घुलमिल भएर बसे । समृद्धिका लागि हामीलाई तीव्र गतिको आर्थिक वृद्धिदर चाहिएको छ, त्यसका लागि प्रत्यक्ष विदेशी लगानी नभई हुन्न । हाम्रो देश सहिष्णु भनेर बाहिर चिनिँदा नै विदेशी लगानी आउने हो । लगानीकर्ता नेपालमा लगानी गर्न लाइन लागेर बसेका छैनन् । तिनका थुप्रै विकल्प छन् । असहिष्णु समाजको पहिचान प्रचारित भए लगानी हुन्न ।

चीनको इतिहास पढौं । पहिला राजालाई दुश्मन ठानियो, सिध्याइयो । जापान शत्रु भनेर तिनैसँग लडाइँ भयो । कोमिन्ताङलाई शत्रु भनेर सिध्याइयो । अनि जमिनदार शत्रु भनेर जमिनदारमाथि आक्रमण भयो । त्यसपछि बौद्धिकचाहिँ शत्रु हुन् भनियो । हुँदाहुँदा जमिनदारको सन्तान भएकाले तङ सियाओ पिङ लगायतलाई पनि अलगथलग पारिएको थियो । शुद्ध श्रमजीवी हैन भन्ने तर्क गरियो, शुद्धता खोज्न थालियो । तर, शत्रु भनेर सिध्याउने खेल बन्द भएपछि चीनले तरक्की गर्न थाल्यो । यसैले शुद्ध र अशुद्धको झगडा कहिल्यै समाप्त हुनेवाला छैन । आज मधेसीलाई शुद्ध नठान्नेले भोलि शेर्पा, भोटे आदिलाई पनि शुद्ध ठान्नेछैनन् । यसैले शुद्ध र अशुद्धको बहसमा अल्झिनु भनेको प्रगतिको मार्गमा आफैंले काँडा रोप्नु हो ।

कम्युनिस्ट स्कुलिङका कारण समाजमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई)प्रति नकारात्मक सोच कायमै छ । सत्तामा पुगेपछि एफडीआई ल्याउने कुरा गरे पनि तिनले एफडीआईप्रति रोपेको नकारात्मक सोच जनजनको दिमागबाट मेटिइसकेको छैन । हुँदाहुँदा यहाँका ठूला लगानीकर्ता पनि सकारात्मक छैनन् । जस्तो— चीनको हंसी सिमेन्टले नेपालमा ३० करोड डलर सिमेन्ट उद्योगमा लगानी गर्दैछ । तर, यहीँका सिमेन्ट उद्यमी नै विदेशी लगानी किन चाहियो भन्छन् । यस्तो सोचले हुन्न । नेपालमा सिमेन्ट उद्योगको सम्भावना छ भने विदेशी पनि आउँछन् । हामी ५० हजार मेगावाट बिजुली उत्पादन गर्ने भनिरहेका छौं, एफडीआई नआई त्यो सम्भव छैन ।

लगानीले प्रतिस्पर्धा बढाउने हो । एफडीआई भनेको पुँजीमात्र हैन । व्यवस्थापन, प्रविधि पनि सँगै आउने हो । एफडीआईले स्वदेशी लगानीकर्तालाई पनि सिकाउँछ, बलियो बनाउँछ । हामी नै छँदैछौं भन्ने हो भने अमेरिकाले एफडीआई किन स्वीकार्ने ? अमेरिकामा त धेरै थोक छ । तैपनि उनीहरूले पैसा त बोझ हुँदैन भनेर रातो कार्पेट ओछ्याएकै छन् । यहाँ पनि लगानी गर्छु भन्नेलाई छिर्ने झ्याल सक्दो सजिलो बनाउन पर्‍यो । आऊ भन्नासाथ लगानी गर्न कोही आउने हैन । लगानी गर्छु भनेर आएकालाई अनेक झमेला गरिदिने, लगानी गरेर व्यवसाय सुरु गरेपछि नाफा लैजान (रिप्याट्रिएसन) स्वीकृति मागेपछि कर्मचारीतन्त्रले आफ्नै सम्पत्ति लैजान खोजेजसरी दुःख दिन थाल्ने पाराले त कुनै पनि लगानी आकर्षित हुँदैन ।

सिंहदरबारमा छलफल गर्दा कर्मचारीहरूले त्यो विदेशीले प्राविधिक आफ्नै देशबाट ल्यायो आदि इत्यादि भनेको सुनेको छु । सोचौं त, हामीले विदेशमा लगानी गर्‍यौं भने पनि जनशक्ति त सुरुमा आफूले विश्वास गरेको मान्छेनै खोज्छौं नि । मैले जहाँ लगानी गरे पनि पहिला त नेपाली इन्जिनियरमा विश्वास गर्ने हो नि । विदेशी लगानीकर्ताले यहीँ दक्ष जनशक्ति पायो, सस्तो पनि भयो भने विस्तारै आफ्नो देशबाट ल्याउन बन्द गर्छ । तर, कर्मचारीतन्त्र यसरी सोच्न तयार छैन । ‘ए हाम्रो देशमा इन्जिनियर बेरोजगार, अनि तेल्ले आफ्नो देशबाट इन्जिनियर ल्याउने' भन्दै पाखुरा सुर्कनुअघि सोच्न पर्‍यो ।

फेरि कर्मचारीतन्त्रमा विरोधाभाष कस्तो छ भने, एकचोटि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा एसी जडान गर्नुपर्ने भएछ । कर्मचारीहरूले भवन चीनले बनाइदिएको हो, चीन सरकारसँगै मागौं न भनेछन् । यस्तो मगन्ते पारा छ । नाकाबन्दीको समयमा चीन सरकारले आवश्यक सहयोग माग्न पत्राचार गरेपछि इन्डक्सन चुलो मागे । त्यही चुलो बिक्री नभएर थन्किएको समाचार आउँछ । विदेशी सहयोगमा विदेश घुम्न तँछाडमछाड छ । के हामीले एसी वा इन्डक्सन चुलो माग्न पर्ने अवस्था हो त ?

एउटा कुनामा अलग्गै बसेर संसारका कुनै पनि मुलुकले तरक्की गरेका छैनन् । विश्व मानचित्रमा हेरौं, हामी कुनामा छौं । असहिष्णु भए हामी कहाँ पुगौंला ? २००७ सालसम्म त विदेशी आउन नदिएकै हो । के प्रगति भयो त ? सानो र कुनामा रहेको देशले प्रगति गर्ने भनेको ठूलालाई आकर्षित गरेर हो । हामीले भारत र चीनलाई अध्ययन गरेर रणनीति बनाएमात्र पुग्छ । हामीले तिनका नीति पढ्नु पर्‍यो, ‘लुपहोल' पत्ता लगाउनु पर्‍यो । तिनका नीतिका कुनै प्रावधानले त्यहाँका लगानीकर्तालाई केही अप्ठ्यारो पारेको रहेछ भने हामीले सजिलो हुने नीति बनाइदिएर आकर्षित गर्नुपर्‍यो । सिंगापुरमा ली क्वान युले के गरे, अध्ययन गर्नुपर्‍यो । यहाँ पनि गर्नुपर्‍यो । सिंगापुरले कर्मचारीहरूको तलब नै बेहोर्ने सर्तमा विश्व बैंकको अफिस आफूकहाँ स्थापना गर्न लगाएको थियो । उसले देशको प्रतिष्ठाका लागि यस्तो गरेको थियो ।

हामी रेमिट्यान्समा आ िश्रत अर्थतन्त्र लिएर हिँडेका छौं । तर, भारतका लागि रेमिट्यान्स आउने सूचीको सातौं स्थानमा नेपाल पर्छ । यस्तो आँकडा पढेपछि यसो नोटिस गर्न थालेँ, दक्ष कामदारजति भारतीय नै छन् । कपाल काट्ने हजाम होस् कि घर बनाउने ठेकेदार । मेरै घरको काठको काम गर्ने ठेकेदारसँग कुरा गरेँ । काठमाडौंमै काम गरेको २५ वर्ष भइसकेछ । तैपनि नेपाली नागरिकता छैन, कमाइ जति भारत लान्छ । ‘नागरिकता पाए त यहीँ घर बनाउँथे नि, छोराछोरी यहीँ जन्मे, यहीँको भाषासंस्कृतिमा अभ्यस्त भए', भने ठेकेदारले ।

भन्नेले राष्ट्रघाती भन्देलान् तर यसरी लामो समय काम गरी सीप, पुँजी हासिल गरेकालाई नागरिकता दिन कञ्जुस्याइँ गर्न हुन्न । राष्ट्रहित त्यस्तालाई यहीँ राख्नुमै छ । पुँजी पलायन हुन्न । उही अमेरिकीको मन्त्र ब्रेन र पैसा राष्ट्रलाई बोझ हुन्न । एकाध रात बस्ने टुरिस्ट बढ्दा त विकास हुन्छ भने एकाध लाख डलर लिएर आउने स्थायी रूपमा बसिदिँदा के हुन्छ सोचौं त ! पैसा ल्याउनेले जग्गा किन्छ, स्थानीयवासीकै जग्गाको भाउ बढ्ने हो । व्यवसाय गरे यहीँकाले रोजगारी पाउने हो । हामीलाई आर्थिक असमानता कम गर्नु छ, उपाय के त ? आर्थिक वृद्धि गरेर असमानता कम गर्न पर्‍यो । चीनले एफडीआई भित्र्ययाएरै आर्थिक असमानता कम गर्ने प्रयास गरिरहेको छ ।

 

एकचोटि चन्द्रशमशेर कलकत्ता जाँदा एउटा नेपाली बग्गीमा शानले घुमिरहेको देखेछन् । नेपाली अनुहार देखेर सोधीखोजी गर्दा बांगेमुढातिरको नेवार साहू भन्ने पत्ता लागेछ । फर्केपछि चन्द्रशमशेरले ती साहूलार्ई ‘हामीलाई शान देखाउने तँ' भन्दै कोर्रा हान्न लगाएछन् । राणाहरूले सर्वसाधारणले राम्रो घर बनाउँदा, रङरोगन गर्दा, झ्याल राम्रो हाल्दा, बुर्जा राख्दा दण्ड दिएको इतिहासमा पढ्न पाइन्छ । अरूले कमाएको, मोज गरेकोमा डाह गर्ने संस्कृति थियो, अहिले पनि छ । हाम्रो कर्मचारीतन्त्र, समाजमा यस्तो मानसिकता व्याप्त छ । अरूले कमाएर विलासी जीवन बिताउन थाल्यो भने दुःख दिन खोज्ने प्रवृत्ति छ । मैले चिनेकै यस्ता व्यापारी छन् जसले कमाएपछि रेन्ज रोभर चढ्न थाले । अहिले सामान्य कार चढ्छन् । सोध्दा भन्छन्, रेन्ज रोभर चढ्न थालेपछि आँखा लाग्यो, कर लगायतका निकायदेखि चन्दा मगुवासम्मले दुःख दिन थाले ।

धन कमाउनेप्रति समाज सहिष्णु हुनु पर्‍यो । धन कमाउने सफलतामा सम्मान गर्नु पर्‍यो । उसले यसपालि मैले यति कमाएँ भनेर भन्न सक्नु पर्‍यो, अनि न यति कर तिरेँ भनेर पनि घोषणा गर्ने अवस्था आउँछ । मुलुकका समस्याबारे वामपन्थीले चर्को रूपमा बोलिरहेका हुन्छन् । तर, समस्या समाधान हुने नीतिगत सम्बोधनले हो । गरिब-धनी असमानताको मुद्दा वामपन्थीले जति कसले उठायो होला ? तर, असमानता कम गर्ने मार्गचित्र खोइ ? भाषणमात्र गरेर त पुगेन नि । त्यसमा वामपन्थी गम्भीर पाइन्नन् । भूमिसुधार स्थापनाकालदेखि कम्युनिस्ट पार्टीको प्रमुख एजेन्डामा छ तर भूमिसुधारलाई बीपी कोइरालाले सम्बोधन गरे, राजा महेन्द्रले गरे ।

सत्तामा आएपछि पनि वामपन्थीले सुकुमबासी समस्या समाधान आयोगजस्ता निष्प्रभावी काममात्र गरे, नीतिगत सम्बोधन भएन । २०४६ सालपछि बरु नीतिगत रूपमै सम्बोधनको प्रयासचाहिँ शेरबहादुर देउवाले गरे । दलित, महिलाको समान अधिकार चर्को स्वरमा वामपन्थीले उठाएका हुन्छन् । तर, दलित आयोग, महिला आयोगचाहिँ कांग्रेस सरकार हुँदा गठन भएका छन् । स्वास्थ्यमन्त्रीका रूपमा गगन थापाले गरेका प्रयासको किन तारिफ गर्छु भने उनले समस्यालाई नीतिद्वारा सम्बोधन गर्ने प्रयास गरिरहेका छन् । अस्पतालमा छड्के, निरीक्षण हाहु गरेर तत्कालका लागि लोकप्रियता कमाउन सकिन्छ । तर, भोलि जस्ताको तस्तै हुन्छ । नीतिमार्फत सम्बोधन गरे नतिजा आउन कुर्नपर्ने हुनसक्छ, तर दिगो समाधान प्राप्त हुन्छ ।

संयोग पनि गज्जब छ, पहिलो संविधानसभा गठन भएपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगालग प्रधानमन्त्री भए । तर, संविधान त बनेन नि । सुशील कोइराला प्रधानमन्त्री भएपछि संविधान बन्यो । यसपछि केपी ओली प्रधानमन्त्री भए, मधेसको समस्या त झन् बल्झियो । मुलुकलाई असहिष्णुतातिर धकेल्ने काम भयो ।

मान्छे अराजक जात हो । हाम्रा पुर्खा राज्यबाट भाग्दाभाग्दै यहाँको डाँडाकाँडामा बस्न आइपुगेका हुन् । अहिले पनि डाँडाको टुप्पामा एउटामात्र घर बनाएर पनि मान्छे बसेको देखिन्छ । यसको कारण छ । हामीकहाँ सरकारले नागरिकलाई सुविधा भुत्तोभाङ केही दिँदैनथ्यो तर कर उठाउन पुग्थ्यो । उपस्थिति नभएको ठाउँमा पनि काठमाडौंका कर्मचारी, नातागोता आदिलाई उठाएको रकम भागबन्डा गर्ने सर्तमा गाउँ पठाइन्थ्यो । डाँडाको टुप्पोमा बसेपछि सरकार पुग्नै नसक्ने, आइरहेको थाहा भए केही दिनलाई घर छाडेर हिँड्देपछि कर असुल्ने कोही हुन्नथ्यो । यसैले राज्यबाट बच्न डाँडाको टुप्पो रोजिन्थ्यो ।

सुविधा नदिने, कर असुल्ने सरकारको कुरूप रूप अहिले पनि काठमाडौंमै देख्न सकिन्थ्यो । सरकार भनेको शोषण÷दोहन गर्ने हो, राज्यसम्पत्ति पहुँच हुनेकै हो भन्ने संस्कार विकास भयो । कर्मचारीतन्त्रमा शोषण हैन, सेवाका लागि तैनाथ हौं भन्ने भावना विकास हुनु पर्‍यो । मैले सहर आधारित (सिटी बेस्ड) वृद्धिको आवश्यकता देखेको छु । धेरै मानिस बस्ने सहरहरू बनायौं भने विकास तीव्र हुन्छ किनकि खपत धेरै हुन्छ, उत्पादन लागत कम हुन्छ । चीन र भारतको तीव्र वृद्धिमा धेरै जनसंख्या भएकाले पनि विकास सम्भव भएको हो । फोहोरबाट बिजुली निकाल्ने चिनियाँ कम्पनी यहाँ अध्ययन गर्न आएको थियो । तर, ५० लाख जनसंख्या भएको सहरमा मात्र सम्भव छ भनेर फर्कियो । थोरै जनसंख्या भएको काठमाडौं कस्तो छ, सम्झौं न । पसल, रेस्टुरेन्ट कति कम छन् । साँझ पर्न नपाई सहरवासी घर पस्छन् ।

अहिले मझिमटारबाट पहाड खोपेर सात किलोमिटर सुरुङ खनेर चितवनको शक्तिखोरमा सडक निकाल्ने योजना छलफलमा छ । १० किलोमिटरमा पूर्वी चितवनको घना बस्तीमा पुगिन्छ । योजना कार्यान्वयन भए चितवन-काठमाडौं दूरी दुई घन्टाको हुने रहेछ । यस्तो बनाउन सके तीन करोड आवादी त काठमाडौं-चितवन र आसपासको क्षेत्रमा विकास गर्न सकिने रहेछ । यति क्षेत्रमै त्यति ठूलो आवादी गराउन सके विकास द्रुत हुन्छ । तर, यी सबैमा हामी राज्यसंयन्त्रबाहिर भएकाले बुझेर काम छैन, कर्मचारीतन्त्रले बुझ्नुपर्छ । प्रधानमन्त्री÷मन्त्री त आउँछन् जान्छन् । राजनीतिक अस्थिरता छ । कर्मचारीतन्त्रले बुझिदिए सरकार परिवर्तन भइरहे पनि उल्लेख्य उपलब्धि हासिल हुनसक्छ । (अर्थशास्त्री पौडेलसँग सुजित महतले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.