पहिरनदेखि चिन्तनसम्म उदार

पहिरनदेखि चिन्तनसम्म उदार

लेखक सौरभले ४२ वर्षपछि आफूले लगाएको पावरवाला चस्मा फालेका छन् । प्रविधिको यो युगले उनलाई चस्माको बोझबाट मुक्त गराएको छ । उनको जीवनशैलीमा आएको सबैभन्दा ठूलो परिवर्तन यही हो । प्राविधिक उपचारपछि उनको आँखामा चस्मा लगाउन नपर्ने भयो ।

कुनै बेला चस्मा लगाउने मानिसहरू नै औंलामा गन्ने स्थिति रहेको नेपाली समाजमा चस्माकै विकल्प खोजिनु जीवनशैलीमा आएको व्यापक फेरबदलको संकेत हो । जीवनशैली परिवर्तनका आयाम निकै फराकिला छन् । खानादेखि पोसाक र सूचना सम्पर्कमा समेत नेपाली समाजले छोटो समयमा धेरै परिवर्तन महसुस गरिसकेको छ । जीवनशैली परिवर्तनको यो क्रम उदारीकरणसँगै सुरु भएको समाज अध्ययताहरूको विश्लेषण छ ।

चिन्तनमै उदार

२०४६ सालमा भएको राजनीतिक परिवर्तनसँगै खुला बजार अर्थतन्त्रमा गएको नेपाली समाजले आधुनिकताका अनेकन् रूपसँग परिचित हुने मौका पायो । भएका सहरका आकारमात्रै बढेनन्, सहरिया संस्कृति पनि विकसित भयो । २७ वर्षको अवधिमा नेपाली समाजको प्रगतिको दर तीव्र भएको छ । काठमाडौं, बुटवल, धरान, पोखराजस्ता सहरहरू परिवर्तनका सूचक भएका छन् ।

सबैभन्दा ठूलो परिवर्तन चिन्तनमा उदारपन हो । शिक्षाको विकास र सूचनामा पहुँचले मानिसहरूको चिन्तन फराकिलो बनाएको छ । कुनै समय केटा र केटीहरू पढ्ने स्कुलसमेत फरक हुने समाजमा अहिले एउटै टेबलमा बसेर चिया–कफी खानुलाई सामान्य ढंगले लिइन्छ । कुनै बेला फिल्म हलसम्म पुगेर फिल्म हेर्नु बेइज्जतीको विषय बन्थ्यो । अहिले सहरमा खुलिरहेका मल्टिप्लेक्स हलहरू सबै उमेरसमूहको आकर्षण बनिरहेका छन् । ससाना किराना पसल र हाटबजारमा सीमित उपभोक्ताको गन्तव्य अब सपिङ मल हुन थालेको छ । लगाउने खानेसँगै घुमफिरको संस्कृति पनि ह्वात्तै बढेको छ । आन्तरिक पर्यटन बढी देखिए पनि पैसा भएको अवस्थामा विदेश घुम्ने चलन देखिएको छ ।

कारक अर्थतन्त्र

मानवशास्त्री सुरेश ढकाल जीवनशैलीमा आएको यो परिवर्तनलाई आर्थिक संलग्नतासँग जोडेर हेर्छन् । पहिलेका मानिसमा रहर भए पनि क्षमता थिएन । अहिले शिक्षाको स्तर उँचो भएको छ । शिक्षाले रोजगारमा सहभागी गराएको छ । शिक्षा र सूचनामा पछिल्लो पुस्ताको पहुँचले गैरकृषि क्षेत्रमा धेरैको सहभागिता बढेको छ ।
महिलाको ठूलो हिस्सा पनि आर्थिक गतिविधिमा संलग्न छ । सँगसँगै वैदेशिक रोजगारीले भित्र्याएको रेमिट्यान्सले ठूलो मात्रामा प्रविधि र मनोरञ्जनसँग पहुँच बढाइदिएको छ । अब बसाइका लागि अपार्टमेन्ट मानिसको रोजाइमा पर्न थालेको छ । कुनै बेला हवाई चप्पलमा महिनौं गुजार्ने नेपाली समाजले सेवासुविधामा प्रशस्त खर्च गर्न थालेको छ ।

'छोटो जिन्दगीको लामो सम्झना' लेखिएका क्रुसले बुनिएका हाते लेसहरूको स्थान बहुरंगी प्रिन्ट भएका बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूले लिन थालेका छन् । इन्टेरियर डेकोरेसन प्राथमिकतामा पर्न थालेको छ ।ढकाल २०२८ सालदेखि लागू भएको नयाँ शिक्षा योजना, प्रजातन्त्रले ल्याएको नयाँ चेतना र स्वतन्त्रताले नेपाली जनजीवनमा परिवर्तन खोज्ने र ग्रहण गर्ने क्षमता बढाएको बताउँछन् ।

विश्व जोडेको सूचना

अध्ययनमा रुचि भएका सौरभ पहिलेदेखि पुस्तकको खोजीमा हुन्थे । तर, पुस्तक सहज थिएन । चाहेको किताब खोज्न अमेरिकन र ब्रिटिस लाइब्रेरी धाउनुपथ्र्यो । त्यहाँ देखिएका नयाँ नामका पुस्तक बजारभरि खोज्दा पनि भेटिँदैनथ्यो । अहिले परिस्थिति फेरिएको छ । उनले चाहेको पुस्तक बजारमा सहजै उपलब्ध छन् । बजारमा नपाइने पुस्तक इन्टरनेटमा पाइन्छन् । नभए अनलाइन बजारबाटै मगाएर एक हप्तामै पुस्तक पाइने अवसर छ । 'अहिले त पुस्तक पढेरै सकिँदैन', सौरभ भन्छन् ।

सूचनाप्रविधिले सौरभजस्ता सहरियाहरूको जीवनशैलीमा मात्रै परिवर्तन ल्याएको छैन । हुलाकबाट पत्रमित्रता गरेर कैशोर्य पार गरेको युवापुस्ता अहिले सात समुद्र पारिबाट सुदूर गाउँका परिवारसँग स्काइप वा फेसबुकमा लाइभ च्याट गर्छ । सूचनाको सम्पर्क शक्तिले मानिसहरूले संसारभरका ज्ञान पाएका छन् । सँगसँगै विभिन्न देशको जीवनशैलीको सिको पनि गर्ने भएका छन् ।
विश्वयुद्ध लड्न गएका युवाहरूले ल्याएको भट्टी र चिया संस्कृति विकासा भएर डिस्को बार र क्याफे संस्कृति सूचनाले दिएको अर्को देन हो ।

फेरिँदो फेसन

नायिका करिश्मा मानन्धर ८० र ९० को दशकमा माइक्रो मिनी लगाउँथिन् । त्यसपछि उनको फेसन पटकपटक फेरियो । 'फेसन छिट्छिटो फेरिन्छ, त्यसैले कन्सस भइरहनुपर्छ', उनी भन्छिन् ।
करिश्माजस्ता रंगकर्मीहरूको मात्रै होइन, सामान्यजनको पनि फेसनमा छिट्छिटो परिवर्तन भएको छ । कुनै बेला महिलाले पाइन्ट लगाएर हिँड्दा जिब्रो काट्ने नेपाली समाजमा अहिले स्कर्ट, टिसर्ट सामान्य भइसकेको छ । गाउँगाउँसम्म फैलिएका ब्युटी पार्लरले महिलाहरूलाई स्वरोजगार बनाइरहेका छन् भने फेसनेबल पनि बनाएका छन् ।

उपभोग क्षमता वृद्धि भएकाले खोजेजस्तो लगाउन सक्ने बनेको छ । सँगसँगै प्रविधिले विश्वकै फेसन चेतसँग नेपाली समाजलाई जोडिदिएको छ । लामो समय भारतबाट प्रभावित हाम्रो फेसन ट्रेन्डमा अहिले विश्वकै फेसनको प्रभाव परिरहेको छ । किशोरकिशोरीमा कोरियन मेकअप, हेयर स्टाइल, पहिरनको निकै प्रभाव परेको देखिन्छ ।

अर्कोतिर नेपाली मौलिकता उत्तिकै मौलाएको छ । नेपाली कपडा प्रयोग गरेर डिजाइनर पहिरन बन्न थालेका छन् । नेपाली फेसन डिजाइनरले बनाएका पहिरनको माग विदेशमा हुन थालेको छ । यो समय फ्युजन फेसनकै हो । नयाँ पुस्ताले परम्परागत पहिरनमा आधुनिक शैली मिलाएर फ्युजन मन पराउन थालेका छन् । अबको फेसन ट्रेन्ड पनि त्यसरी नै अघि बढ्ने देखिन्छ । करिश्मा भन्छिन्, 'जति मोर्डन लुगा लगाए पनि मन पनेचाहिँ ट्रेडिसनल नै हो ।'

फेरियो खानपिन पनि

'नेपालीहरू मेनु हेर्छन् हेर्छन्, अन्तिममा मम नै अर्डर गर्छन् ।' कुनै बेला नेपाली समाजको खानपिनको स्वभावलाई लिएर टिप्पणी गरिन्थ्यो । तर नेपाली समाज धेरै फेरिएको छ । विदेशगमनसँगै नेपाली जिब्रोले अनेक थरी परिकारको स्वाद थाहा पाउन थालेका छन् । सहरमा इन्डियन, चाइनिज, कन्टिनेन्टल खानाका रेस्टुरेन्टमा नेपालीको घुइँचो देख्दा अनौठो मान्ने जमाना गइसकेको छ ।

त्यस्तै मौलिक परिकारकै बजारीकरण पनि खानपिनमा आएको ठूलो परिवर्तन हो । नितान्त मौलिक नेपाली परिकारदेखि थकाली खाना, नेवारी खाजा आदिले खाद्य बजारको ठूलो हिस्सा ओगट्न थालेका छन् । थकाली खाना र नेवारी खाजा त ब्रान्ड नै बनिसकेका छन् । युरोप र अमेरिकाका बजारमा पनि तिनले हिस्सा लिन थालेका छन् ।

नमिलेको तालमेल

नेपालको सन्दर्भमा जीवनशैली परिवर्तनको यो गति र चेतनाको तालमेल अलि नमिलेको समाजशास्त्रीहरूको टिप्पणी छ । जीवनशैलीको परिवर्तनकै गतिमा चिन्तन विकास नभएको एक थरी टिप्पणी छ भने क्षमताभन्दा बढी उपभोग बढेको छ ।

उपभोक्तावादी चरित्र त विकास भएको छ तर त्यही स्तरको आर्थिक क्षमता बढिसकेको छैन । मानवशास्त्री ढकाल यसलाई भ्रष्टाचारको एउटा कारण मान्छन् । 'बदलिँदो जीवनशैली अपनाउनु पनि परेको छ तर पर्याप्त पैसा छैन । यसले भ्रष्टाचार बढाउन सघाउँछ', ढकाल भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.