घट्दै परनिर्भरता
करिब दशक अघिसम्म बैतडीका ग्रामीण क्षेत्रका जनतालाई सदरमुकामसम्म पुग्न कम्तीमा दुई दिन लाग्थ्यो । विभिन्न गाउँ, जंगल तथा पहाड छिचोलेर सदरमुकाम तथा आसपासका बजारमा पुग्न निकै सकस थियो बैतडीवासीलाई । जिल्ला सदरमुकामसम्मको सडक ०६३ विस्तार भएपछि भने बैतडीवासीको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको छ । सडक नहुँदासम्म लुगाफाटो वा दैनिक प्रयोगका अन्य सामग्रीका लागि सीमावर्ती भारतीय बजार झुलाघाटमा पुग्नुपर्ने बाध्यता थियो बैतडीवासीको ।
जिल्लाको सुर्नया गाउँपालिका-६ शंकरपुरका नन्दराम अवस्थी भन्छन्, 'वर्षको एक पटक झुलाघाट पुगेर वर्षभरिका लागि लुगाफाटो ल्याउने गथ्र्यौं । झुलाघाटमा गाडी चलेको देख्दा हाम्रो देशमा कहिले गाडी चल्ला भनेर सोचिरहन्थ्यौं । तर अहिले गाउँ-गाउँमा सडक पुगेको छ । यसले हामीलाई धेरै सजिलो भएको छ ।'
सुर्नया गाउँपालिका-६ कै गणेशदत्त अवस्थीलाई भारतको अल्मोडा गएर नुन ल्याएको सम्झना ताजै छ । 'झुलाघाटसम्म हिँडेर जान्थ्यौं । त्यहाँबाट पनि भाडाका लागि पैसा नहुँदा हिँडेरै अल्मोडा पुग्थ्यौं । अनि करिब १५ दिनको आसपासमा नुन ल्याएर घर आइपुग्थ्यौं । तर, अहिले हाम्रै गाउँमा गाडी गुड्दा निकै सहज भएको छ', अवस्थीले भने ।
जिल्लाको दुर्गम मानिएको पुरचौंडी र तल्लोस्वराड क्षेत्र पनि सडक सञ्जालमा जोडिएको छ भने च्वाँगढ क्षेत्रमा सडक निर्माण सुरु भएको छ । देशमा शान्ति स्थापना भएपछि सडक निर्माणले गति लिएको सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले बताए । खनालले भने, 'बैतडीको हकमा दुई/तीन वर्षयता सडकमा निकै प्रगति भएको छ । दुर्गम बस्ती सडक सञ्जालमा जोडिएका छन् भने कच्ची सडकलाई कालोपत्रे गर्ने काम पनि तीव्र रूपले अघि बढिरहेको छ ।'
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बैतडी सदरमुकाममा सडक पुगेपछि भारतीय बजारमाथि जिल्लावासीको निर्भरता घटेको उद्योग वाणिज्य बैतडीका उपाध्यक्ष खिमानन्द भट्ट बताउँछन् । 'सडक विकास मूल पूर्वाधार हो भन्ने सडक सदरमुकाममा पुगेपछि थाहा भयो । सडक पुगेपछि व्यापार व्यवसाय बढेको छ । अहिले सदरमुकाममा ठुल्ठूला होटेल पनि बनेका छन् । मानिसको आवतजावत पनि बढेको छ', उनले भने । भट्टका अनुसार सीमावर्ती भारतीय बजारलाई जोड्ने गोठालापानी-झुलाघाट सडक बनेपछि झन् सजिलो भएको छ ।
मध्यपहाडी लोकमार्गको अंग
बैतडीमा अहिले पाटन-पञ्चेश्वर, सतबाँझ- श्रीभावर, सिल्लेगडा-कटौजपानी-रुद्रेश्वर-देथला-खलंगा, त्रिपुरा-सेरा-ढिकगाड सडकमा निर्माण कार्य चलिरहेको छ । जिल्लाको तल्लोस्वराडलाई जोड्ने पाटन-पञ्चेश्वर सडकखण्डअन्तर्गत चालु आर्थिक वर्षको अन्तिमसम्म ६२ किलोमिटरमध्ये ५७ किलोमिटर ट्र्याक खोल्ने कार्यसम्म हुने सडक डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनियर आसिक रिजालले बताए । जिल्लाको तल्लोस्वराडलाई सडक सञ्जालमा जोड्ने सडकको ४५ किलोमिटर कालोपत्रे गर्न टेन्डर आह्वान गरिसकिएको रिजालले जनाए ।
पाटन-पञ्चेश्वर सडक तल्लोस्वराडमा पुगेपछि त्यहाँका नागरिकको पनि भारतमाथि परनिर्भरता हटेको मणिलेक माविका प्राचार्य देवदत्त कलौनीले जानकारी गराए । 'सदरमुकाम पुग्न भारतकै बाटो प्रयोग गर्नुपथ्र्यो, बिरामी भए भारतीय अस्पतालको भर थियो । अब ती समस्याको समाधान भएको छ', कलौनीले भने ।जिल्लाका मुख्य सडक निर्माणमा दुई वर्षयता केन्द्रबाटै बढी बजेट आउन थालेको सडक डिभिजन प्रमुख खनालको भनाइ छ । बैतडीमा मात्रै चालु आर्थिक वर्षमा सडक निर्माणका लागि डेढ अर्ब हाराहारीमा बजेट आएको छ ।
बैतडीको यो सडकखण्ड मध्यपहाडी लोकमार्गको एक अंग पनि हो । पूर्वमा पाँचथरको चियोभञ्ज्याङबाट सुरु हुने प्रस्तावित मध्यपहाडी लोकमार्ग बैतडीको झुलाघाटमा आई टुंगिन्छ । यही लोकमार्गअन्तर्गत पर्ने बैतडीको त्रिपुरादेखि झुलाघाट बजारसम्मको १४ किलोमिटर सडक निर्माणले सीमा क्षेत्रका बासिन्दालाई पनि सजिलो भएको छ । 'झुलाघाटसम्म सडक पुगेपछि हामीलाई आवतजावत गर्न निकै सजिलो भएको छ । हामीले उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन पाएका छौं । व्यावसायिक तरकारी खेतीसमेत गरिरहेका छौं', स्थानीय धनसिंह बुडालले भने ।
जन्मायो सहर सपना
मध्यपहाडी लोकमार्गअन्तर्गत १० वटा नमुना सहरमध्ये बैतडीको पाटन पनि एक हो । 'पाटनलाई सडकले छोएसँगै नमुना सहरको प्रस्ताव आयो । सडक पुगेपछि निकै सुधार भएको छ । नमुना सहरको काम पनि भइरहेकाले यहाँका नागरिकलाई धेरै सजिलो भएको छ', नेपाली कांग्रेसका पाटन नगरसभापति सिद्धराज भट्टले भने ।
पछिल्लो समय सडक विस्तारले बैतडी मात्रै नभई सुदूरपश्चिमका पहाडी जिल्लाको मुहार फेरिएको मध्यपहाडी लोकमार्ग आयोजना पश्चिमखण्डका सिनियर डिभिजन इन्जिनियर नारायण न्यूरेले बताए । उनले भने, 'मध्यपहाडी लोकमार्गको सबैभन्दा ठूलो उपलब्धि कर्णालीमा पुल बन्नु हो । दैलेख र अछाम जोड्न २ सय मिटर लामो कर्णालीमा पुल बनेको छ । यो पुल निर्माण भएपछि पहाडी जिल्लाको सडक सञ्जालमा पहुँच मात्रै भएको छैन, तराई भएर पहाड उक्लिने झन्झट पनि सकिएको छ ।'
मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत सडक निर्माण कार्य भइरहेको बताउँदै सिनियर डिभिजन इन्जिनियर न्यूरेले सुदूरका पहाडी सडकलाई १० मिटरजति चौडा बनाई दुई लेनको बनाउने तयारी भइरहेको बताए । 'कर्णालीमा पुल बनेपछि मात्रै पहाडी जिल्लामा आर्थिक क्रियाकलापमा बढावा भएको छ । यो क्षेत्रका जडीबुटी, तरकारी, फलफूलले बजार पाएको छ', उनले भने, 'आयोजनाअन्तर्गत अहिले अछाममा ६२ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।' उनका अनुसार सुदूरका पहाडी जिल्लाका साविकका सडकलाई चौडा बनाई दुई लेनका बनाइनेछन् । मध्यपहाडीको मापदण्डअनुसार सबै सडकको स्तरोन्नति गरिनेछ ।'
फेरियो दार्चुला
दार्चुलामा पनि सडक विस्तार भएसँगै नागरिकको जीवनशैलीमा धेरै परिवर्तन आएको गोकुलेश्वरका व्यापारी देवदत्त विष्टले बताए । उनले भने, 'गोकुलेश्वरदेखि सदरमुकामसम्मको सडक कालोपत्रे भएपछि धेरै सजिलो भएको छ ।'अहिले दार्चुलामा भर्तोला-जोलजीवी सडक निर्माण भइरहेको छ भने देथला-खार-खलंगा सडक निर्माणका लागि १५ करोडको टेन्डर आह्वान भइसकेको छ । यो सडक निर्माण सम्पन्न भएपछि जिल्लाका अधिकांश भाग सडक सञ्जालमा जोडिने सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख ललितजंग खनालको भनाइ छ ।
चीन जोड्ने बाटो
यस्तै, चीनसँगको उत्तरी नाका जोड्ने महत्वपूर्ण सडक दार्चुला-तिंकर सडक पनि हो । दार्चुला सदरमुकामदेखि ताक्लाकोट जोड्ने यो सडक १४० किलोमिटर लम्बाइको छ । दार्चुला-तिंकर सडक आयोजना कार्यालयका अनुसार सो सडकको ४० किलोमिटर ट्र्याक ओपन भइसकेको छ भने १९ किलोमिटरसम्म गाडी गुड्ने गर्छ । दार्चुला-तिंकर सडक, चैनपुर-ताक्लाकोट र सिमिकोट-हिल्सा सडक ताक्लाकोटमै मिल्ने दार्चुला तिंकर सडक आयोजनाका प्रमुख मनीषकुमार शाहले बताए । यी सडक निर्माण भएपछि नेपालको त्रिदेशीय व्यापार सुरु हुने र यो क्षेत्रमा आर्थिक गतिविधि बढ्ने उनको अनुमान छ ।
यस्तै, कञ्चनपुरको ब्रह्मदेवदेखि-दार्चुलासम्मको महाकाली कोरिडोरअन्तर्गत पनि सडक निर्माण सुरु भएको शाहले बताए । उनले ब्रह्मदेवदेखि दार्चुला खलंगासम्म ४ सय ३० किलोमिटर सडकको विभिन्न ठाउँमा काम भइरहेको जानकारी गराए । उनका अनुसार चालु आर्थिक वर्षमा डडेल्धुरामा रंगुन खोला आसपासमा सडक निर्माण भइरहेको छ भने बैतडीमा त्रिपुरासुन्दरी दक्षिण नागार्जुनसम्म १० किलोमिटर सडक निर्माण हुनेछ ।
उत्साही बझाङ
सुदूर पहाडको दुर्गम जिल्लाका रूपमा कहलिएको बझाङमा पनि पछिल्लो समय सडक निर्माणले तीव्रता पाएको छ । सदरमुकाम चैनपुरसम्म सडक पुगेसँगै त्यो क्षेत्रका जनताको जीवनशैलीमा परिवर्तन आएको कफलसेरी स्वास्थ्यचौकीका अहेव दीपकराज अवस्थीको भनाइ छ ।
बझाङमा चीनको ताक्लाकोटसँग जोड्ने महत्वपूर्ण सडक चैनपुर-ताक्लाकोट सडक निर्माण कार्य पनि सुरु भएको छ । ९० किलोमिटर लम्बाइ रहेको सो सडकको ६० किलोमिटर निर्माण कार्य भइरहेको डिभिजन प्रमुख खनालले बताए । उनका अनुसार ६० किलोमिटरमध्ये ३० किलोमिटर ट्र्याक खोल्ने काम भइसकेको छ भने ९० किलोमिटरमध्ये बाँकी ३० किलोमिटर डीपीआर तयार भइरहेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सडकले जिल्लाको दुर्गम साविकको काँडा गाविसलाई छुनेछ । जिल्लाको उत्तरी क्षेत्रलाई सडक सञ्जालमा जोड्ने यो आयोजनाले त्यो क्षेत्रमा भएका जडीबुटी अन्य आर्थिक क्रियाकलापमा सहयोग पुर्याउनेछ ।
९० करोड लागतको बहुवर्षीय ठेक्का प्रणालीमा निर्माण भइरहेको चैनपुर-ताक्लाकोट सडकले बझाङको मात्रै समग्र सुदूरपश्चिमको समृद्धिको ढोका खोल्ने डिभिजन प्रमुखले बताए । 'यो सुदूरको मात्रै होइन, समग्र नेपालको विकासको ढोका खोल्ने सडक हो, लामो समयपछि दुर्गम क्षेत्रका नागरिकको सडकमा पहुँच हुनेछ भने उत्तरी तर्फको नाका पनि खुल्नेछ', उनी दाबी गर्छन् ।
यसैगरी, कैलालीको हसनपुरदेखि दिपायलको पिपल्ला बजार जोड्ने लक्ष्यसहित खुटिया दिपायल दु्रतमार्गको काम पनि अघि बढेको छ । मंसिरमा डोटीको बीपी नगरमा आयोजनाको कार्यालय स्थापना भई काम अघि बढिरहेको आयोजना प्रमुख राजेन्द्रप्रसाद शाहको भनाइ छ । ९६ किलोमिटर लम्बाइ रहेको यो सडक निर्माण भएपछि डोटीका नागरिक लाभान्वित हुने र आर्थिक समृद्धिमा समेत सहयोग पुग्ने उनले बताए ।
बढ्यो अर्थ-गतिविधि
पहाडी क्षेत्रमा सडक विस्तार भएसँगै यो क्षेत्रका किसानको जीवनमा उल्लेखनीय परिवर्तन आएको छ । सडक विस्तारले तरकारी, फलफूल खेती गर्नेको संख्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ । अहिले सडक आसपासका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेको जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले बताए । 'सडक पुगेपछि मात्रै तरकारी उत्पादन र बिक्री-वितरण सुरु भएको छ', उनले भने, 'अहिले सडकछेउका बासिन्दा तरकारी खेतीबाटै मनग्गे आम्दानी गरिरहेका छन् ।'