दुर्भाग्य र दुर्घटना

 दुर्भाग्य र दुर्घटना

सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग दर्ता गरेका छन् । निलम्बनसँगै कार्कीको बचेको पाँच साता कार्यकालमा उनी अदालतमा फर्कने सम्भावना न्यून छ । दुर्लभ र अपरिहार्य अवस्थामा मात्र प्रयोग हुने महाभियोग प्रस्तावले छापामार शैलीमा संसद्मा प्रवेश पाउनु आफैंमा दुर्भाग्यको सूचक हो । दुर्भाग्य मात्र हैन, यो संविधान दुर्घटनामा परेको र त्यसले कल्पना गरेको पद्धतिको पतनको प्रक्रियाको प्रारम्भ पनि हो । यो दुर्घटनाबाट मुलुक, त्यसको अखण्डता र स्वतन्त्रता जोगाउनु अबको चुनौती हो ।

मुलुकको पहिलो महिला प्रधानन्यायाधीश कार्की स्वयंले पनि प्रधानन्यायाधीशका रूपमा आफ्नो भूमिकाबारे समीक्षा गर्नु आवश्यक भएको छ । आर्थिक प्रलोभनबाट मुक्त रहनु एउटा ठूलो चरित्र हो, कुनै पनि न्यायाधीश या प्रधानन्यायाधीशका लागि । तर न्यायमा कुनै पक्षसँग जोडिएको देखिनु, बिना नयाँ प्रमाण पुराना फैसला उल्टाउनु, अदालतबाहिरका शक्तिहरूसँगको समीकरणमा सहभागी देखिनु र न्यायपालिकाभित्रै गुटबन्दी सिर्जना हुनु न्यायको लागि अनुकूल अवस्था हैन । न्यायिक नेतृत्व त्यसबाट दोषमुक्त मानिन सकिँदैन । यसबीचमा सबै महत्वपूर्ण न्याय या फैसला प्रायोजित नभए पनि ती 'म्यानिपुलेट' भएका छन् । न्यायपरिषद्लाई सर्वोच्चको बृहत् इजलासले संवैधानिक इजलास गठनको लागि जारी गरेको परमादेश त्यो पछिल्लो उदाहरण हो, तर एक्लो थिएन।

यो वातावरण बन्नुमा पक्कै पनि सुशीला कार्कीको मात्र हात छैन । न्यायपालिका दल र दाताहरूको भर्तीकेन्द्र बनेको छ । खिलराज रेग्मी प्रकरणमा प्रधानन्यायाधीश र चार दलबीचको साँठगाँठले अदालतमा खुलेरै दलीय राजनीति प्रवेश गरेको छ । अहिले दल र दाताका प्रतिनिधि न्यायालयमा छन् । सम्भवतः कार्कीको नेतृत्वमा त्यो समूहको बोलवाला बढ्यो । अन्तर्राष्ट्रिय ट्रिब्युनलमा रहेर न्यायाधीश बन्ने छुट कसैलाई हुनु हुँदैन भनी असल नियतका साथ सञ्चारमाध्यमले उठाएका विषयमा समेत अदालतले मौनता अपनाउनु संस्थाको अहंको प्रदर्शन थियो । 'कनफ्लिक्ट अफ इन्टेरेस्ट' मा लिप्त न्यायाधीशले न्याय दिन सक्दैनन् ।

संसद्ले महाभियोगलाई प्रतिशोधको अस्त्र बनाउला या त्यसको मर्मअनुसार विधिसम्मत तरिकाले मामिलालाई अगाडि बढाउला, हेर्न बाँकी नै छ । तर लोकमानसिंह कार्की प्रकरणमा संसद्को शैली प्रतिशोध र अपारदर्शी रहेको छ । सर्वोच्च न्यायपालिका स्वयंले न्याय निष्पादनको स्तरीयतामा आफूलाई खरो सावित गर्न सकेन । 'लोकप्रिय' न्यायमार्फत लोकप्रियता हासिल गर्दा विपरीत परिस्थितिमा त्यसले न्यायिक स्वीकार्यता गुमाउँछ । 'समरी ट्रायल' का विकृति बढी हुने गर्छन् ।

सर्वोच्च अदालतमा एनजीओ र राजनीतिक दलको प्रवेशले त्यसको न्यायिक चरित्रलाई अनि उक्त संस्थामाथि जनताको विश्वासलाई नराम्रोसँग प्रभावित गरिसकेको छ । त्यसमा सुशीला कार्कीको भूमिका छ, तर त्यो विकृतिको उनी एक्ली कारक हैनन् । उनका पूर्ववर्तीहरूको भूमिका बढी जिम्मेवार छ त्यसमा ।
त्यस्तै राजनीतिक दलहरूको भागबन्डामा न्यायाधीश र अन्य संवैधानिक पदमा नियुक्त गरिँदा त्यसरी नियुक्त व्यक्तिहरूले प्रभावकारी रूपमा संवैधानिक भूमिका खेल्न सक्दैनन् ।

स्वार्थी र निहित स्वार्थका दलको नजरमा रहिरहनेछन् उनीहरू । कांग्रेस, माओवादी, एमाले र अन्य दलहरू यो भागबन्डाको राजनीतिलाई न्यायपालिकामा पठाएकोमा समानरूपमा दोषी छन् । माओवादी-कांग्रेसको महाभियोगविरुद्ध एमाले सडकमा अदालतको पक्षमा कृत्रिम आँसु चुहाउँदैछ । न्यायपालिकाको स्वतन्त्रताको लागि हैन माओवादी, कांग्रेसीकरण या एमालेकरणको अभ्यास हो यो ।

अहिलेको चुनौती महाभियोगको स्वच्छ र इमानदार निष्पादन हो, संसद्मा प्रमाण र विवेकका आधारमा दलीय राजनीतिभन्दा माथि उठेर । तर दीर्घकालको लागि न्यायपालिकाको 'ओभर हल' आवश्यक भइसकेको छ । राजनीतिक कोटाबाट आएका न्यायाधीशहरूले राजीनामा गरी वास्तवमा उपयुक्त पात्रहरूका लागि मार्गप्रशस्त गरेमा न्यायपालिकाप्रति जनताको विश्वास केही हदसम्म पुनः हासिल हुन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.