दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धि

 दुई दशकसम्म दुई  अंकको आर्थिक वृद्धि

काठमाडौं : नयाँ शक्ति नेपालले दुई दशकसम्म निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मुलुक निरपेक्ष गरिवीको अवस्थामा रहेकाले सुरुको चरणमा तीव्र आर्थिक वृद्धिलाई जोड दिने नयाँ शक्तिको प्रतिबद्धता छ । समाजमा कोही पनि निरपेक्ष गरिवीको रेखामुनि नरहने गरी आर्थिक वृद्धि र समानुपातिक वितरणको नीति अंगिकार गर्ने नयाँ शक्तिको घोषणापत्रमा उल्लेख छ ।सोमबार राजधानीमा सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा नयाँ शक्तिले भ्यागुतो झैं उफ्रिने, हवाइजहाज झैं उडान भर्ने र छलाङ मार्ने खालको गुणात्मक विकासको परिकल्पना गरेको छ ।

देशलाई पाँच वर्षभित्र अल्पविकसित देशको समूहबाट बाहिर निकाल्ने, १५ वर्षभित्र मध्यम आयस्तर भएको देश बनाउने, २५ वर्षभित्र विश्वका विकसित मुलुकहरुको हाराहारीमा समृद्धि हासिल गर्ने संकल्प नया“ शक्तिको छ । विश्व चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको औंल्याउँदै नयाँ शक्तिले केही दशक सम्पूर्ण शक्ति केन्द्रित गरेर राष्ट्रिय औद्योगिक क्रान्ति सम्पन्न गर्न लागेको बताएको छ । 'हामीलाई तीनवटा औद्योगिक क्रान्तिको चरण पार गर्ने समय छैन, आवश्यकता पनि छैन । हामीले एकैपटक चारवटा औद्योगिक क्रान्ति पार गर्ने तीव्र र मौलिक विकासको बाटो खोज्नुछ' घोषणापत्रमा छ ।

आर्थिक क्रान्तिका प्रतिबद्धता

नयाँ शक्तिले आर्थिक क्रान्तिका लागि १५ वटा प्रतिबद्धता अगाडि सारेको छ । मुलुकमा नयाँ आर्थिक क्रान्तिको लहर ल्याउन सबै विकास विरोधी पुराना सोच, शैली, नियम कानुन, प्रणालीलाई भत्काएर नयाँले विस्थापित गर्नुपर्ने नयाँ शक्तिको ठहर छ । नयाँ शक्तिले विकास विज्ञको सहयोग र निजी क्षेत्रसमेतको सहभागितामा तीव्र आर्थिक क्रान्तिको रणनीतिक योजना बनाएर कडाइपूर्वक कार्यान्वयन गर्ने भएको छ ।
भारत, चीनलगायतका सबै देशसँग विप्पा सम्झौता गरेर विश्वभरिका लगानीकर्तालाई आकर्षक सुविधाको घोषणासहित आकर्षित गरिनेछ । प्रमुख औद्योगिक मुलुकमा लगानी सम्मेलन गरेर लगानीकर्ता आकर्षित गर्ने नयाँ शक्तिको योजना छ । लगानी बोर्डलाई विश्व लगानीकर्ता समन्वय संस्थाका रूपमा रूपान्तरण गर्ने, ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेको भू-राजनीतिक अवस्थाबाट फाइदा हुने ठूला योजनामा लगानी गर्न ग्लोबल लगानी कोषको खोजी गरिने भएको छ ।

स्वदेशी विदेशी लगानीकर्तालाई सहज हुने गरी विभिन्न ऐन परिमार्जन गर्ने, श्रमिक र लगानीकर्ताबीच सुसम्बन्ध कामय गर्दै औद्योगिक शान्ति कायम गर्न विशेष व्यवस्था गरिनेछ । विकासमैत्री वातावरण निर्माण गर्न आवश्यक प्रशासनिक र कानुनी सुधार गर्ने योजना छ । राष्ट्रिय योजना आयोगको पुनसंरचना, उद्यमशीलता प्रवद्र्धन गर्न सबै प्रदेशमा व्यावसायिक पुनरुत्थान केन्द्रको स्थापना, भविष्यको नगद प्रवाह सम्भावनाका आधारमा इच्छुक व्यवसायीलाई बैंकबाट विना धितो ऋणको व्यवस्था मिलाइनेछ ।

 

अन्तर्राष्ट्रिय लगानीकर्तालाई सहज हुने गरी नेपालको आर्थिक प्रणाली, क्यालेन्डर आदिलाई अन्तर्राष्ट्रिय प्रणालीसँग मिल्दोजुल्दो बनाइनेछ । स्वदेशमा रोजगारी वृद्धि गर्दै जाने, प्रत्येक गाउँपालिका र नगरपालिकामा विप्रेषणबाट आउने रकम सञ्चित गरी लगानी गर्ने विशेष कोषको निर्माण गरिने भएको छ ।

सबैको बैंक खाता

सबै बयस्क नेपालीको अनिवार्य बैंक खाता हुनुपर्ने व्यवस्था गरिने भएको छ । प्रत्येक नेपालीको बैंक खातामा एक लाख बराबरको सुरुवाती ब्यालेन्स बिमाको व्यवस्था गर्ने नयाँ शक्तिको प्रतिबद्धता छ । नयाँ शक्तिले पाँच वर्षभित्र (सन् २०२२) सम्ममा गरिवीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । यस्तै सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्दै नेपालीको जीवनस्तर विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पु‍र्‍याउने बताइएको छ । सन् २०४० सम्ममा मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पु‍र्‍याउने घोषणापत्रमा उल्लेख छ ।

पाँच वर्षका लक्ष्य

नयाँ शक्तिले पाँच वर्षमा प्रतिव्यक्ति आम्दानी दुई हजार डलर पुराउने, गरिवीको रेखामुनि रहेको जनसंख्या १० प्रतिशतमा झार्ने, कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ४५ प्रतिशत, औद्योगिक क्षेत्रको २० प्रतिशत र उत्पादन क्षेत्रको योगदान १५ प्रतिशत पुराउने लक्ष्य छ । वार्षिक तीन लाख रोजगारी सिर्जना गर्ने, दुईवटा उत्तर-दक्षिण आर्थिक करिडोर सञ्चालन गर्ने, पर्यटकको संख्या वार्षिक २० लाख पुराउने लक्ष्य छ ।

१५ वर्षको लक्ष्य

नयाँ शक्तिले आगामी १५ वर्षमा प्रतिव्यक्ति आम्दानी ६ हजार डलर पुर्‍याउने, निरपेक्ष गरिवीमा रहेको जनसंख्या शून्यमा झार्ने, जीडीपीमा सेवा क्षेत्रको योगदान ४५ प्रतिशत, औद्योगिक क्षेत्रको २५ प्रतिशत र उत्पादन क्षेत्रको योगदान २० प्रतिशत पुराउने लक्ष्य राखेको छ । वस्तु तथा सेवा निर्यात जीडीपीको २५ प्रतिशत पुराउने र आयात २५ प्रतिशतमा झार्ने पनि लक्ष्य प्रस्तुत गरिएको छ ।१५ वर्षभित्र मुलुकमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य नयाँ शक्तिको छ । यस्तै, चारवटा उत्तर-दक्षिण आर्थिक कोरिडोर सञ्चालन गर्ने, वार्षिक पर्यटक आगमन संख्या ४० लाख पुराउने लक्ष्य राखिएको छ ।

२५ वर्षको लक्ष्य

नयाँ शक्तिले आगामी २५ वर्षमा प्रतिव्यक्ति औसत आम्दानी १५ हजार डलर पुर्‍याउने घोषणा गरेको छ । जीडीपीमा सेवा क्षेत्रको योगदान ४५ प्रतिशत, औद्योगिक क्षेत्रको ३० प्रतिशत र उत्पादन क्षेत्रको २० प्रतिशत पुराउने लक्ष्य छ । वस्तु तथा सेवाको निर्यात जीडीपीको ३० प्रतिशत पुराउने र आयातलाई २० प्रतिशतमा झारिनेछ । वार्षिक पाँच लाख रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गरिनेछ । यस अवधिमा ५० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य नयाँ शक्तिको छ । यस्तै, सहरी जनसंख्या ७५ प्रतिशत पुर्‍याउने र मुलुकमा वार्षिक ७५ लाख पर्यटक भित्याउने पनि नयाँ शक्तिले घोषणा गरेको छ ।

लगानीको स्रोत

उल्लेखित आर्थिक समृद्धि हासिल गर्नका लागि नयाँ शक्तिले मुलुकभित्र र बाहिर रहेका नेपालीको आम्दानी उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने भएको छ । विदेशी लगानीको लागि उपयुक्त वातावरण तयार गर्नेछ । सरकारी तथा निजी, स्वदेशी तथा विदेशी लगानीलाई प्रभावकारी तरिकाले परिचालन गरी, सन् २०२२ सम्म स्थिर पु“जीको अंश जीडीपीको ३५ प्रतिशत, सन् २०३० सम्म औसतमा ४० प्रतिशत र सन् २०४० सम्ममा ४५ प्रतिशत पुर्‍याएर दुई अंकको वृद्धिदर हासिल गर्ने रणनीति नयाँ शक्तिले बनाएको छ । लगानीका स्रोतमा सबैभन्दा ठूलो भूमिका निजी क्षेत्रको हुनेछ ।

नयाँ शक्तिले पूर्वाधार विकास, कृषि तथा पशुपालन, औद्योगिक तथा सेवामूलक क्षेत्र, सरकारी क्षेत्रबाट वार्षिक तीनदेखि पाँच लाखसम्म मुलुकमा रोजगारी सिर्जना गर्ने रणनीति बनाएको छ ।मुलुकका सातवटै प्रदेशमा एसियाली मापदण्ड र विशेष पहिचानसहित सुन्दर प्रादेशिक राजधानी बनाइनेछ । मध्यपहाडी लोकमार्ग, ६ लेनको मेची-काली लोकमार्ग र चार लेनको तराई÷मधेसको हुलाकी लोकमार्ग र चीन र भारतबीच गतिशील पुल बन्न सहयोग पुग्ने गरी चारवटा उत्तर-दक्षिण जोड्ने लोकमार्ग निर्माण गरिनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.