झिमरुक नदी नियन्त्रण सुस्त, बस्ती जोखिममा, स्थानीय चिन्तित
बाग्दुला (प्युठान) : बर्खायाम सुरु हुन थालिसक्दासमेत नदी नियन्त्रणको कामले गति नलिँदा प्युठान नगरपालिकास्थित बाग्दुला क्षेत्रका स्थानीय चिन्तित बन्दै गएका छन् । गत साउनमा झिमरुक नदीमा आएको बाढीले सयौँ हेक्टर धान नष्ट गरेपछि सिंगो बस्ती नै जोखिममा पारेको छ ।रानीपीपलदेखि जनता मावि बाग्दुलासम्मका ५० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । बस्तीनजिकै खोलाले कटान गरेपछि स्थानीय त्रसित बन्दै गएका हुन् । 'बाढी आएको नौ महिनासम्म पनि नदी नियन्त्रणको काम हुन सकेको छैन्', प्युठान नगरपालिका-८ बाग्दुलाकी दुर्गादेवी थापाले भन्नुभयो, 'फेरि बर्खा सुरु हुन थालिसक्यो । रातभर निन्द्रा लाग्दैन ।' बर्खा सुरु नहुँदै नदी नियन्त्रणको काम नभए यो बर्खामा खोलो बस्तीमा पस्ने उहाँले बताउनुभयो । 'नेताहरू चुनावको बेला मात्र भोट माग्न आउँछन्', उहाँले भन्नुभयो, 'हाम्रो पीडा अहिलेसम्म कसैले सुनेनन् । जसले नदी नियन्त्रणको कामलाई प्राथमिकता दिन्छ उसैलाई भोट हाल्ने हो।'
बाग्दुलास्थित रानीपीपलबाट गोर्खेकुलोसम्म जाली लगाएर नदी नियन्त्रण गरे मात्र बाग्दुलाको बस्ती सुरक्षित हुनसक्ने स्थानीय व्यवसायी सुवासचन्द्र भण्डारीले जानकारी गराउनुभयो । 'कम्तीमा २ सय ५० मिटरसम्म जाली लगाएर खोलो रोक्नुपर्छ', उहाँले भन्नुभयो, 'नदी नियन्त्रण विजुवारले यस वर्ष ७३ मिटरसम्म मात्र जाली लगाएर झारा टारेको छ ।' 'कनिका छरेजस्तै' गरेर बाग्दुला क्षेत्रका स्थानीयको जीवनमाथि खेलवाड गर्न खोजिएको उहाँले आरोप लगाउनुभयो । 'धेरैलाई सुकुमबासी बनाउने गरी खोलाले खेतीयोग्य जमिन नष्ट गरेको छ', भण्डारीले भन्नुभयो, 'खेतभन्दा पनि धेरैलाई अहिले घर कसरी बचाउने भन्ने पिरलो छ ।' जिल्लास्थित राजनीतिक दल बाढीपहिरोबाट उच्च जोखिममा परेका बस्तीको सुरक्षाका लागि गम्भीर नबनेको उहाँको भनाइ छ ।
'बैंकमा धितो राखेर लिएको ऋण अझै तिरी सकेको छैन्', प्युठान नगरपालिका-८ बाग्दलाका खुमबहादुर थापाले भन्नुभयो, 'खेत खोलाले लग्यो । अब घर के गरी बचाउने भन्ने चिन्ता छ ।' १५ मुरी अन्न उब्जनी हुने खेत बगाएर २ मुरीको मात्र बाँकी रहेको उहाँले गुनासो गर्नुभयो । बाढी आएको बेला मात्र 'तँछाडमछाड' गर्ने नेताहरूले हिजोआज चासो नदेखाउँदा नदी नियन्त्रणको कामले तीव्रता पाउन नसकेको उहाँको भनाइ छ ।
'गाँस त जसोतसो जोरौँला', स्थानीय विष्णुबहादुर थापाले भन्नुभयो, 'बास खोज्न कहाँ जाने ? ' मलिलो माटो भएकाले नदी नियन्त्रण राम्रोसँग नभए यो बर्खामा बस्तीमा खोलो पस्ने त्रास फैलिएको उहाँले सुनाउनुभयो । जिल्लाका विभिन्न गाउँबाट बसाइँ सरेर आएका अधिकांशले बाग्दुला क्षेत्रमा पक्की घर बनाएर बसेका छन् । बस्तीसँगै जिल्लाकै 'मुटु' मानिने प्रमुख व्यापारिक केन्द्र बाग्दुला बजार, जनता मावि, सदरमुकाम खलंगा-बाग्दुला जोड्ने पक्की पुल, झोलुंगे पुलसमेत उच्च जोखिममा छन् ।बाग्दुलास्थित रानीपीपलबाट गोर्खेकुलोसम्म जाली लगाएर नदी नियन्त्रण गरे मात्र बाग्दुलाको बस्ती सुरक्षित हुनसक्छ ।
कम्तीमा २ सय ५० मिटरसम्म जाली लगाएर खोलो रोक्नुपर्छ । नदी नियन्त्रण विजुवारले यस वर्ष ७३ मिटरसम्म मात्र जाली लगाएर झारा टारेको छ । -सुवासचन्द्र भण्डारी, स्थानीय व्यवसायी
निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत दम्तीदेखि विजुवारसम्म सात स्थानमा जाली लगाइएको दम्ती-गेजवाङ-बाग्दुला-विजुवार नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष नेगनसिंह कँवरले बताउनुभयो । '३८ लाख ८० हजार रुपैयाँमा नदी नियन्त्रणको काम भएको छ', उहाँले भन्नुभयो, 'यतिले मात्र दिगो समाधान हुन सक्दैन । राज्य यसप्रति गम्भीर बन्नुपर्छ ।' गेजवाङ, खप्रेङखोला, गोर्खेकुलो, टिकुरी बसपार्क, सारिवाङ र विजुवार झोलुंगे पुल क्षेत्रमा नियन्त्रणको काम भएको उहाँले जानकारी गराउनुभयो । बर्सेनि खेतमा खोलो पसे पनि सम्बन्धित निकायले बेवास्ता गर्दा दिगो रूपमा नदी नियन्त्रण हुन नसकेको उहाँको भनाइ छ । 'निजी खेतमा बर्सेनि खोलो बगिरहेको छ', उहाँले भन्नुभयो, 'धेरै किसानको रोजीरोटी गुमेको छ । गएको बर्खाले धेरैको घर जोखिममा पारेको छ ।'
माग गरे बमोजिमको बजेट स्वीकृत नहुँदा नदी नियन्त्रण गर्न नसकिएको जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय प्युठानका डिभिजन प्रमुख जितबहादुर थापाले जानकारी गराउनुभयो । 'झिमरुक नदी नियन्त्रणका लागि ३० करोडको बजेट इस्टिमेट गरेर केन्द्रमा पठाएका छौँ', उहाँले भन्नुभयो, 'यसवर्ष साढे ६ करोड मात्र स्वीकृत भएर आयो । जिल्लाको सर्वदलीय बैठकले निर्णय गरेअनुसार काम भइरहेको छ ।' बहुवर्षीय योजनाअनुसार काम भइरहेको उहाँले जानकारी दिनुभयो । अपुग बजेट माग गर्न पहल भइरहेको जानकारी गराउँदै थापाले जोखिममा परेको बस्तीलाई प्राथमिकतामा राखेर काम गरिएको दाबी गर्नुभयो ।
झिमरुक नदीको बाढीले नदी किनारमा पर्ने धानसहितको २ सय ४६ हेक्टर खेतीयोग्य जमिन नष्ट गरेको जिल्ला कृषि विकास कार्यालय प्युठानले जनाएको छ । उत्तरपूर्वी प्युठानको ठूलाबेसीदेखि बरौलासम्मको खेत कटान गरेको वरिष्ठ कृषि विकास अधिकृत मधुसूदन घिमिरेले जानकारी दिनुभयो । 'झिमरुक नदी क्षेत्रको खेत जिल्लाकै अन्न भण्डार हो', उहाँले भन्नुभयो, 'किसानलाई राहत र अनुदान दिने कार्यक्रम बनाएर केन्द्रमा माग गरे पनि कुनै सुनुवाइ भएन ।' ४ करोड रुपैयाँबराबरको कार्यक्रम बनाएर केन्द्रमा माग गरिएको उहाँको भनाइ छ ।
झिमरुक उपत्यकामा पर्ने विजुवार, बाग्दुला, खप्रेङखोला, गेजवाङ, दम्ती, मरन्ठाना, सारीवाङ, दाखाक्वाडी, विजयनगरसहित रस्पुरकोट, बिजुली, बरौला, पकला, रम्दी र धुवाङ क्षेत्रमा पर्ने खेत खोलाले कटान गरेको छ । जिल्लाभर ७ सय १९ जना किसानको खेतीयोग्य धानसहितको खेत झिमरुक खोलाले नष्ट गरेको कार्यालयले जनाएको छ ।