'सम्झाउन खोज्दा उल्टै थर्काउँछन्'
विराटनगर : विराटनगरको महेन्द्रचोकको धुलाम्मे सडकको टन्टलापुर घाममा ट्राफिक प्रहरी हबल्दार जितेन्द्र मण्डल ड्युटीमा खटिनुभएको थियो ।ढल तथा नाला निर्माणका लागि सडक भत्काइएका कारण उहाँको शरीरमा लगाएको पोसाक धुलोले ढाकेको थियो । त्यत्तिकैमा एक युवक मोटरसाइकल हुइँक्याएर आए । 'नो पार्किङ' लेखेको ठाउँमा मोटरसाइकल पार्किङ गरेर नजिकैको पसलतिर अघि बढे । तत्काल मोटरसाइकल छेउमा पुगेर हबल्दार मण्डलले युवकलाई भन्नुभयो, 'यो पार्किङ निषेधित क्षेत्र भएकाले सवारीसाधन पार्किङ गर्न मिल्दैन । पार्किङ क्षेत्रमा लगेर राख्नु होला ।' तर ती युवक एक्कासि ट्राफिक प्रहरीमाथि अभद्र रूपमा प्रस्तुत भए ।
उनले भने, 'यस्ता नियम हामीलाई नसिकाउनुस् । सबै नियमको पालना गरेर साध्य पनि हुँदैन ।' हबल्दार मण्डलले ट्राफिक नियम र कारबाहीबारे सम्झाइरहँदा ती युवक भने उल्टै थर्काइरहेका थिए । 'हामीलाई यस्ता सामान्य नियमले छुँदैन,' उनी भन्दै थिए, 'मलाई कारबाही गर्ने क्षमता तपाईंसँग छैन पनि ।'
हबल्दार मण्डलले मोटरसाइकल चालक युवकसँग सवारी चालक अनुमतिपत्रदेखि लिएर अन्य कागजपत्र चेकजाँचका लागि माग गर्नुभयो । तर ती युवक भने ट्राफिकको कुरा सुन्दैनसुनी मोटरसाइकल हुइँक्याएर अघि बढे । उनले धेरै बोले जागिर खाइदिनेसम्मको धम्की पनि दिए ।
अति व्यस्त हुने विराटनगरको सडकमा ट्राफिक प्रहरीमाथि भएको दुव्र्यवहारको यो एउटा उदाहरण मात्र हो । यस्ता घटना दिनमा धेरै हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । हबल्दार मण्डलले भन्नुभयो, 'ड्युटीमा रहेर नियमको पालना गराउने ट्राफिक प्रहरीमाथि नियम उल्लंघन गर्ने सवारी चालकले दुव्र्यवहार गरेका कयौं घटना छन् ।'
सडकमा खटिएर सवारी नियमबारे सम्झाईबुझाई गर्दा चालकबाट उल्टै ट्राफिक प्रहरीले दुव्र्यवहार, धम्की र अनेक किसिमका गालीगलौज खेप्नुपर्ने उहाँको भनाइ छ । 'टन्टलापुर घाममा सडकमा बुङ्बुङ्ती उडिरहेको धुलोको सामना गरेर ड्युटी गरिरहेका हुन्छौं । सडकमा खटिने ट्राफिकका धेरै पीडा छन्,' उहाँले भन्नुभयो, 'सम्झाउँदा सवारी चालकहरू ट्राफिकलाई नै थर्काउँछन् । नियम उल्लंघन गर्नेहरूबाट यस्तो व्यवहार हुने गरेको छ ।'
गल्ती गर्ने चालकले गर्ने गरेको गाली र दुव्र्यवहार खेप्न ड्युटीमा खटिने ट्राफिकलाई बानी परिसकेको बताउँदै मण्डलले भन्नुभयो, 'चालकहरू थर्काउँछन् धम्क्याउँछन् । हामी सम्झाई बुझाई गर्छौ ।' मण्डलले नियम उल्लंघन गर्ने सबैलाई नियमअनुसार समान कारबारी गर्ने गरिएको र कतिपयले पावर एवं पहुँच देखाएर पनि कारबाहीबाट उन्मुक्ति खोज्ने गरेको जानकारी दिनुभयो ।
सवारीचालक अनुमति पत्र, ब्लुबुकलगायतका कागजपत्र साथमा नबोकी हिँड्नेहरूबाट पनि पीडित हुनु परिरहेको ट्राफिक प्रहरीले जनाएको छ । 'जान्नेले नियम उल्लंघन गर्नु हुँदैन भनेर आफंै बुझ्छन्,' मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक मदन गिरीले भन्नुभयो, 'उल्लंघन गर्नेहरूले भने गल्ती स्वीकार गर्नुको साटो ट्राफिकमाथि दुव्र्यवहार गर्छन् ।' नियम उल्लंघन गर्ने, कागजपत्र साथमा नबोक्ने, मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी चलाउने चालकले भने ट्राफिकमाथि अभद्र व्यवहार प्रस्तुत गर्ने गरेको गिरीको भनाइ छ ।
'चेकजाँचका क्रममा धेरै हन्डर र घटना बेहोर्नु परेको गुनासो ट्राफिक प्रहरीबाट आइरहेका छन्,' उहाँले भन्नुभयो, 'तर हाम्रो ड्युटी नै यही हो भनेर यसलाई सहज रूपमा लिँदै नियमअनुसार अघि बढ्न सबै ट्राफिकलाई निर्देशन दिएको छु ।' विशेष गरेर दुव्र्यवहार गर्ने चालकहरूमा पहुँचवाला, राजनीतिक दलमा आवद्ध भएका, दादागिरी र गुन्डागर्दीमा संलग्न एवं सरकारी कर्मचारी बढी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिकले मोरङमा नियम उल्लंघन गरेर सवारी चलाउने सयभन्दा बढीलाई दैनिक रूपमा कारबाही गर्ने गरेको छ । नजानेर नियम उल्लंघन गर्नेहरूलाई नियमबारे जानकारी पनि दिने गरिएको गिरीले बताउनुभयो ।'सवारी चलाउँदा भएको नियम उल्लंघनलाई कतिपयले सहज रूपमा लिएर गल्ती गरेको महसुस गर्ने पनि छन्,' गिरीले भन्नुभयो, 'कसैले यसलाई असहज रूपमा लिएर पावर र पहुँचका भरमा उन्मुक्ति खोज्छन् ।'