इँटाभट्टामा काम गर्ने बालकको उद्धार

इँटाभट्टामा काम गर्ने बालकको उद्धार

प्युठान : जिल्लाको नौबहिनी गाउँपालिका २ लिघास्थित सिरवाङका डिपलक घर्ती पाँच महिनादेखि परिवारको सम्पर्कमा थिएनन् । गाउँकै विद्यालयमा कक्षा ४ मा पढ्दापढ्दै छोराले घर छाडेर हिँडेपछि बुबाआमा चिन्तामा छट्पटाइरहेका थिए । धेरै ठाउँ खोजतलास गरे पनि बुबाआमाले छोरा भएको ठाउँ पत्ता लगाउन सकेका थिएनन् ।

एक्कासि काठमाडौंबाट फोन गरी ‘तपार्इंको छोरा भेटिएको छ' भनेर खबर गरेपछि आमा दिलमाया घर्तीको मुहारमा खुसी देखियो । ‘हराएको छोरा भेटियो', जिल्ला बालकल्याण समिति खलंगा प्युठानमा मंगलबार छोरा लिन आएकी घर्तीले भन्नुभयो, ‘भक्तपुरमा इँटाभट्टामा काम गथ्र्यो रे । सरहरूले लिएर आउनुभएछ', तीन छोरा र एक छोरीमध्ये जेठो छेरो डिपलक घर छाडेरे हिँडेपछि रुँदै दिन कटाइरहेको उहाँले बताउनुभयो ।
घरको आर्थिक अवस्था कमजोर भएकाले छोराछोरीलाई पालनपोषणमा समस्या हुँदा छोराले घर छोडेको हुनसक्ने उहाँको भनाइ छ । ‘ श्रीमान् अर्घाखाँचीमा मजदुरी गर्नुहुन्छ', उहाँले भन्नुभयो, ‘जसोतसो तीन छोराछोरीलाई पालेर बसेकी छु ।'

जेठो छोरालाई दुःखसुख गरी राम्रोसँग पढाउने चाहना रहेको उहाँले सुनाउनुभयो । ‘गरिबको छोराले पढेर राम्रो काम गरेको पनि सुनेकी छु', घर्तीले भन्नुभयो, ‘स्कुलमा भर्ना हुने बेलामा आएको छ । जसोतसो पढाउने मन छ ।' चाँगुनारायण नगरपालिका दुवाकोटस्थित प्रकाशराम जाकिबन्जारले सञ्चालन गरेको जेबी इँट उद्योगबाट १२ वर्षीय घर्तीलाई उद्दार गरिएको हो ।

जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगमा काम गरिरहेको अवस्थामा फेलापारेको जानकारी टोलीमा सहभागी बालविकास समाज काठमाडौंका कार्यक्रम सुपरभाइजर विदुर मल्लले दिनुभयो । ‘उनीसहित तीनजना बालकलाई उद्धार गरेर अभिभावकको जिम्मा लगाइसकेका छौं', उहाँले भन्नुभयो, ‘मंगलबार प्युठानमै आएर बालकलाई आमाको जिम्मा लगाइदियौं ।'

रोल्पाका १४ वर्षीय लेवेन्द्र बिष्ट र दाङका १५ वर्षीय विवेक रानालाई पनि उद्धार गरी अभिभावकलाई बुझाइएको जानकारी उहाँले गराउनुभयो । ‘घरसम्म पुर्‍याई पढ्नका लागि शैक्षिक सामग्री पनि दिएका छौं', उहाँले भन्नुभयो, ‘बालकहरूले अब घर नछाडेर पढ्छौं भनेका छन् ।' घर छाडेर जाँदा आफूसँग गाउँकै दुईजना साथी पनि गएको डिपलकले बताए । ‘मसँग असारे बुढा र बिरे मल्ल पनि गएका थिए', उहाँले भने, ‘उनीहरू मलाई छाडेर भागी कता गएछन् ।'

 

तीनैजनाले भक्तपुरमा खानेबस्न सँगै गरेको उनले सुनाए । ‘बिहान पाँच बजेदेखि बेलुका ६ बजेसम्म इँट बोक्थ्यौं', घर्तीले भने, ‘अहिलेसम्म तलब पाएका थिएनौं । साहुले सिजन सकिएपछि तलब दिन्छु भनेका थिए । तलब नपाई आउनुपर्‍यो ।' काम सकिएपछि साथीहरूसँगै मिलेर साँझ आफैं पकाएर खाने गरेको उनले सुनाए । ‘भाइबहिना साना छन्', घर्तीले भने, ‘साथीहरूसँग लागेर भागेर गएको हुँ । अब कहिल्यै जान्नँ ।' पाँच महिनासम्म गरेको कामको पैसा मिलाइदिन उनले आग्रह गरेका छन् ।

हालसम्म ज्याला र बालकलाई श्रममा लगाउने कम्पनीका सञ्चालकलाई श्रम कार्यालयले कारबाहीप्रक्रिया अघि बढाएको जिल्ला बालकल्याण समिति प्युठानका अध्यक्ष अभिवक्ता मेघराज भट्टले जानकारी दिनुभयो । ‘उनीहरूलाई गाउँमा पढाउने व्यवस्था मिलाइदिन सम्बन्धित गाउँपालिका र वडा कार्यालयलाई आग्रह गरेका छौं', उहाँले भन्नुभयो, ‘जिल्लाका थुप्रै बालबालिका यसरी नै बाहिरी जिल्लामा गएर श्रममा लागेका छन् । सबैको सहयोगले मात्र उनीहरूको उद्धार सम्भव हुनसक्छ ।' ‘भक्तपुर समितिले फेला पारेपछि उद्धारमा समन्वन्य गरेका हौं', जिल्ला बालअधिकार अधिकृत यादवप्रसाद खनालले भन्नुभयो, ‘सदरमुकामबाट घरसम्म जाने खर्च दिएर मंगलबार पठाएका छौं ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.