वृद्धको सुन्तला मोह
कुश्मा : बस्तीको पुछारमा एक्लो घर, वरिपरि सुन्तलाको बगैंचा । उमेरले ६७ नाघेका वृद्ध बगैंचामा दिनभर परि श्रम गरिरहेका भेटिनुहुन्छ ।झन्डै २८ वर्ष भारतीय पल्टनमा काम गरेर सुबेदार पदसम्म पुग्नुभएका वृद्ध जितबहादुर गुरुङ अहिले सुन्तलाखेतीमा रमाइरहनुभएको छ । दक्षिण पर्वतको महाशिला गाउँपालिका २ भोक्सिङका वृद्ध गुरुङ विगत एक दशकदेखि व्यावसायिक सुन्तलाखेतीमा लाग्नुभएको हो ।
भारतीय सेनाबाट अवकास पाएपछि अहिले पेन्सन, पोखरामा सुविधासम्पन्न घर, छोरा वैदेशिक रोजगारीमा भए पनि उहाँलाई गाउँको माया निकै लाग्ने गर्छ । जेठो छोरा अमेरिका, कान्छो छोरा खाडी मुलुकमा रोजगारीमा छन् । श्रीमती, छोरा, बुहारी अहिले गाउँ छाडेर पोखरा बस्न लागिसके । गुरुङलाई पनि पोखरा जान निरन्तर दवाव दिइरहन्छन् तर उहाँ तिनै सुन्तलाको बगैंचा कुरेर बसिरहनुभएको छ ।अहिले उहाँको बगैंचामा झन्डै पाँच सय बोट सुन्तला छन् । छिमेकी सुविधा खोज्दै सहरबजारतर्फ गए पनि जितबहादुरलाई भने गाउँ छाड्नै मन लागेको छैन ।
आर्थिक रूपमा समृद्ध परिवार भए पनि आफ्नो ठाउँ र सुन्तलाको मायाले गाउँ छाड्न मन नलागेको उहाँ बताउनुहुन्छ ।सुन्तला बिक्रीबाट उहाँले वार्षिक चार लाख रुपैयाँ आम्दानी हुने बताउनुभयो । तर, बगैंचासम्म सडकको सुविधा नहुँदा सस्तो मूल्यमा सुन्तला बिक्री गर्नुपरेको उहाँले गुनासो गर्नुभयो । आफ्नो घरसम्म जाने झन्डै तीन किलोमिटर सडकको सुविधा नहुँदा व्यापारीले सस्तो मूल्यमा सुन्तला लैजाने गरेको उहाँले बताउनुभयो ।
सडकको सुविधाका लागि पटक पटक माग गरे पनि कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । सडक सुविधा भएको भए वार्षिक चार लाखभन्दा बढी कमाइ हुने थियो तर अहिले दुई लाख रुपैयाँभन्दा कमाइ नहुने उहाँले बताउनुभयो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा समावेश भएको भोक्सिङ सुन्तला कृषकका अध्यक्षसमेत रहनुभएका गुरुङले खाली जमिनमा अझै सुन्तला थप गर्ने योजना
बनाउनुभएको छ । यस वर्ष उक्त गाउँमा झन्डै चार हजार सुन्तलाका विरुवाको माग भएको र त्यसमा गुरुङले एक हजार विरुवा उत्पादन गर्ने लक्ष्य लिनुभएको छ ।'अन्तिम अवस्थामा पनि यही बगैंचामा रमाउने, बगैंचाबाटै कमाउने धोको छ', उहाँ भन्नुहुन्छ । पछिल्लो समय उहाँको सिको गर्दै गाउँमा अन्य युवाले पनि व्यावसायिक सुन्तला खेती गर्न थालेका छन् । सुन्तला मात्रै हैन उहाँले कुटानी पिसानी मिल र व्यावसायिक बाख्रापालन पनि गर्दै आउनुभएको छ ।
जिल्ला कृषि विकास कार्यालय पर्वतले उक्त क्षेत्रका सुन्तला कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जितबहादुर जिल्लाकै नमुना सुन्तला कृषक भएको बताउनुभयो । उहाँले उक्त क्षेत्रका कृषकको आवश्यकता र मागबमोजिम आवश्यक सामग्री, औजार र आर्थिक तथा सुन्तलाका विरुवा अनुदानमा सहयोग गरिएको बताउनुभयो ।