मधेसी मोर्चा कुनै हालतमा फुट्दैन : उपेन्द्र यादव
काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं मधेसी मोर्चाका नेता उपेन्द्र यादवले मोर्चा कुनै परिस्थितिमा विभाजन नहुने बताउनुभयो । पहिलो चरणको स्थानीय निर्वाचनमा सहभागी हुनुको कारणबारे स्पष्ट पार्न पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले मोर्चामार्फत मधेसीलाई एकीकृत रूपमा अधिकार दिलाउने प्रतिबद्धता पनि जनाउनुभयो ।
‘मोर्चा मधेस र मधेसी मुद्दाको कार्यान्वयनका लागि संघर्षरत राजनीतिक संस्था हो । त्यसैले यो विभाजन होइन, एकीकृत रूपमा मधेसीलाई अधिकार दिलाएर छाड्ने राजनीतिक मोर्चा हो,’ उहाँले भन्नुभयो । मोर्चा घटकबीच सामान्य मतभेद हुनु ठूलो र नौलो कुरा नभएको जनाउँदै उहाँले भन्नुभयो, ‘केही साथी अरूलाई नराम्रो देखाउँदै आरोप÷प्रत्यारोपमा उत्रिएको मोर्चा गठन हुँदैदेखि हो ।’
राजपाका नेताले संविधान संशोधन नभई स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएको भन्दै उपेन्द्र यादवको आलोचना गरिरहेका छन् । फोरमले एजेन्डा छाडेको राजपाका नेताको आरोप छ । केहीले अब मोर्चाको औचित्य नै सकिएको दाबी गरेका छन् । राष्ट्रिय जनता पार्टीको बैठकपछि अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेसी मोर्चाको औचित्य समाप्त भएको टिप्पणी गरेको सुनाउँदै यादवले भन्नुभयो, ‘मधेसी मोर्चाको औचित्य समाप्त भयो भन्नेहरूकै औचित्य छैन । यो मधेस र मधेसीको राजनीतिक अधिकार कार्यान्वयनका लागि जन्मेको हो।’
राजपाका नेता राजेन्द्र महतोतर्फ संकेत गर्दै यादवले थप्नुभयो, ‘चिल्लो लुगा लगाएर सोल्टीमा (ज्ञानेन्द्रका नातिको ब्रतबन्ध) भोज खान गएको पनि हामी सबैलाई थाहा छ ।’ पूर्वराजा ज्ञानेन्द्रका नातिको ब्रतबन्धका अवसरमा आयोजित पार्टीमा सहभागी हुन महतो सोल्टी होटल पुग्नुभएको थियो ।
फोरम अध्यक्ष यादवले आफूहरू अहिले पनि चुनाव र संघर्ष दुवैमा सहमति गरेर जाने पक्षमा रहेको जनकारी दिनुभयो । चुनावमा जाँदा फोरमले मुद्दा छाड्यो भन्दै गलत प्रचार गरिएको उहाँले बताउनुभयो । राजपातर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘चुनाव चिह्न देऊ भन्न जाने, नपाएपछि २ र ४ दिन भए पनि खोइरो खनौं भनेर गलत प्रचार गर्नु स्वस्थ राजनीति हुन सक्दैन ।’