एक हप्ता विद्यालय बन्द गर्ने सरकारको निर्णय
काठमाडौं : बिहीबारको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको चुनावको लागि तीन प्रदेशमा एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगको निर्देशन अनुसार प्रदेश नम्बर तीन चार र ६ का ३४ जिल्लाका विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।
विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहका अनुसार सरकारले निर्वाचन सहज हुने गरी निर्वाचन केन्द्र तोकिएका विद्यालयमा बिदा दिने निर्णय दिएको हो । ‘सरकारले विद्यालयको पढाइलाई पनि ध्यानमा राखेर निर्वाचन आयोगको निर्देशन र मतदान केन्द्र तोकिएका विद्यालयमा मात्र बिदा दिने निर्णय गरेको छ’, मन्त्री सिंहले भन्नुभयो ।
यता निर्वाचन आयोगको निर्देशनपछि शिक्षा विभागले वैशाख २५ देखि ३१ गतेसम्म विद्यालय तहको अध्यापन बन्द गर्ने निर्णय बिहीबार नै गरेको छ । आयोगले स्थानीय तहको चुनाव सहज बनाउन २५ गतेदेखि ३१ गतेसम्म ३४ जिल्लाका विद्यालयमा अध्यापन बन्द गर्न पत्रचार गर्ने तयारी गरेको छ । विभागका महानिर्देशक बाबुराम पौडेलले पठनपाठन बन्द गराउन मातहतका निकायमा पत्राचारको तयारी भइरहेको बताउनुभयो ।
निर्वाचन आयोगको निर्देशन अनुसार पहिलो चरणको निर्वाचन हुने तीन, चार र ६ नम्बर प्रदेशमा मात्र विद्यालय बन्द हुनेछन् । कक्षा १२ सम्मको पढाइ बन्द हुने भए पनि त्यसमाथिका तहको पढाइ सञ्चालन गर्न सकिने आयोगले स्पष्ट पारेको छ । अधिकांश निर्वाचन केन्द्र विद्यालयमै रहने भएकाले तयारीका लागि पठनपाठन बन्द गराउनुपरेको आयोगको भनाइ छ ।
निर्वाचन बुथ निर्माण गर्न समय लाग्ने र शिक्षकलाई निर्वाचनका लागि कार्यरत रहेकोभन्दा फरक स्थानमा खटाउनुपर्ने भएकाले पनि एक साताका लागि विद्यालय बन्द गर्नुपरेको आयोगको भनाइ छ ।
निर्वाचन प्रयोजनका लागि मात्र एक साता विद्यालय बन्द गर्ने आयोगको निर्णय अव्यावहारिक भएको भन्दै सरोकोवालाले विरोध गरेका छन् । सर्वसाधारणले समेत सामाजिक सञ्जाल मार्फत् विद्यालय बन्दको समय छोट्टयाउन सरकारलाई आग्रह गरेका छन् । शैक्षिक सत्र सुरु भएर नियमित पठनपाठन भएको दुई साता पनि पुरा नहुँदै लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइमा असर पर्ने सरोकारवालाको चिन्ता छ ।
वैशाख एक गतेबाट शैक्षिक सत्र शुरु भएपनि विद्यालय जान छुटेका बालवालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन भएकाले वैशाख १५ पछि मात्र नियमित पढाइ सुरु भएको छ। पहिलो चरणमा प्रदेश तीन, चार र छ नम्बरमा मात्र चुनाव हुँदैछ । चुनावमा अधिकांस सरकारी शिक्षक पनि खटिदैछन्।