चस्माको चासो
सर्रर ब्वाइफ्रेन्डसँग बाइक होस् वा कुम जोड्दै हिँडेको श्रीमान्- श्रीमतीको जोडी । छुनुमुनु उमेरकै नानी होस् वा बाबु ! सुहाउँदो सनग्लास वा चस्मा नलगाउने कमै देखिन्छन् । उसो त सडक, बजारमा आमाबुवा उमेरका नागरिकहरू पनि लोभलाग्दा सनग्लासमै भेटिन्छन् । यो क्रम प्रायः सहरमा बढ्दो छ । राजधानी काठमाडौंमा त चस्मा अनिवार्य पहिरनजस्तै बनिसकेको छ ।
फलो फोकसकी निर्देशक मनिता ढुंगेल खाना नखाएको दिन पछुताउँदिनन्, जति गग्स बोक्न भुलेको दिन पछुताउँछिन् । 'सुरुमा रहरले लाएँ, फेसनका लागि रोजेँ', ढुंगेलले भनिन्, 'अहिले त बानी र आवश्यकता नै भएको छ ।' घरबाट खाना नखाईकन निस्के पनि त्यसको विकल्प भेटिन्छ तर चस्मा नै भुल्यो भने त राजधानीको धुलाम्य सडकमा आँखा जोगाउन बिजोगै हुने उनले बताइन् । आठ वर्ष भयो मनिताले गग्स लगाउन सुरु गरेको । सुरुमा मोडलिङ पेसामा लाग्दा उनले 'राम्री' देखिन यसलाई रोजेकी थिइन्, 'अहिले त स्कुटर, बाइकमा गग्स छैन भने त एक पाइला हिँड्नै मुस्किल छ', ढुंगेलले भनिन्, 'त्यतिमात्र होइन चस्माले धुवाँ, धुलो र घामको किरणबाट पनि त जोगाउँछ नि !'
हरेक दिन खनिने, बनाइने र भत्किने सडक धुलोको उत्पादन केन्द्र नै हो । 'बन्न ढिला तर भत्किन चाँडो'को अवस्था देशैभरका सडकले भोगेका छन् । अझ मेलम्ची सपना र सडक, ढल, खानेपानी, विद्युत् तथा टेलिकमको सहकार्य अभावले राजधानीको सडक घाम लागेको दिन मरुभूमिको किनारजस्तो अनि पानी परेको दिन खेत रोप्न तयार पारेको गह्राजस्तै हुने गरेको छ ।
'यस्तो सडकमा यात्रा गर्न आँखा छोपेर त हुँदैन नि !', गायिका रमिता भण्डारीले भनिन्, 'उहिले रहरले अब करले लगाउँछु ।' १५ वर्ष भयो मोडलिङमा समेत लागेकी रमिताले चस्मा लगाउन थालेको । उनी पर्स भुल्छिन् तर चस्मा भुल्दिनन् । 'कहिलेकाहीँ भुलिहालेछु भने त्यो दिन आँखा बिझाएर हेरिनसक्नु हुन्छ', उनले भनिन् । एक समय फेसनका लागि लगाइने चस्मा अहिले बाध्यताजस्तै बन्दै गएको छ । तराईमा चर्को गर्मी छेल्न र सहरमा धुवाँ धुलोबाटै जोगिन यसको प्रयोग हुन थालेको यसका कारोबारी बताउँछन् ।
ग्लास अनेक थरी
चस्मा अर्थात् ग्लासका पारखी बढेसँगै यसको गुणस्तरमा ध्यान दिनेहरू पनि थपिँदै गएका छन् । 'धुवाँ, धुलो, गर्मीमात्रै होइन; आधुनिक समाजमा टीभी, कम्प्युटर, मोबाइल, ल्यापटप, ट्याब्लेटलगायतका स्क्रिनजन्य सामग्रीको प्रयोग पनि बढ्दो छ', भिजन अप्टिकल तिलगंगाका किरण थापामगरले भने, 'यी सामग्रीले मानिसको जीवनलाई सहज बनाएसँगै आँखालाई असर गरिरहेको हुन्छ ।' त्यो असर रोक्नका लागि पनि विभिन्न ग्लास बजारमा छन्।
पछिल्लो समय मानिसले आँखाको सुरक्षाका लागि ग्लासको प्रयोगमा ध्यान दिएको उनले बताए । थापामगरका अनुसार अहिले बजारमा तीन सयदेखि २५ हजारसम्मका ग्लास चल्तीमा छन् । 'अधिक मानिसले धुवाँ, धुलो र धुप (घाम) छेक्ने सामान्य चस्मा लगाउँछन्', उनले भने, 'स्क्रिनजन्य सामग्रीको रिफ्लेक्सन रोक्न प्रयोग गरिने अत्याधुनिक ग्लासको माग पनि बढ्दो छ ।' विज्ञान प्रविधिको प्रयोगले मानिसको जीवनशैली सहज त बनाएको छ, सँगै आँखालगायतलाई समस्यामा पनि पार्ने खतरा बढ्दै गएको छ ।
टीभी, कम्प्युटर, ल्यापटप, ट्याब, आइफोन, आइप्याडलगायत ग्याजेटको प्रयोगले मानिसको आँखा सुक्खा हुने, पोल्ने, चिलाउने समस्या बढ्दै गएको आँखा विज्ञहरू बताउँछन् । यस्तो समस्याबाट बच्च अहिले एन्टिलाइट ब्लक गर्न एआरभी, यूभी ४००, ट्रायो, क्रिजाल, क्रिजाल यूभीको प्रयोग बढ्दो छ । पावरवाला ग्लासमा सिको, स्याटिन प्लसको माग हुन थालेको थापामगरले बताए, जसको मूल्य सिसाको मात्रै ६ सय ५० देखि २५ हजारसम्म पर्छ ।
उसो त रेडिमेड ग्लासमा पुरुषका लागि रे-वन, पोलिस, पोलोराइज चल्तीमा छन् भने महिलाका लागि गसी, डियोर र रे-वन चल्तीमा छन् । नेपालमा आयात हुने अधिकांह फेसनेबल ग्लासहरू चीनबाट आयात हुन्छन् भने ब्रान्डेड सिसा र चस्माहरू भारतबाट आयात हुने गरेको पनि थापामगरले जानकारी दिए । राजधानीको सडकमा धुलो, धुवाँको वर्चश्व हुन थालेदेखि चस्माको प्रयोग झन् बढेको उनको अनुभव छ ।
चस्माले धुलो, धुवाँ, घाम र ग्याजेटहरूको दुष्प्रभावबाट जोगाउने भएकाले पनि यसको प्रयोग बढेको उनी बताउँछन् । सामान्य एलर्जीदेखि एन्टिलाइट र आँखा ड्राई हुने समस्याबाट पनि जोगाउने भएकाले यसप्रतिको आकर्षण र आवश्यकता बढेको प्रयोगकर्ताको भनाइ छ ।