पौडी पोसाक
युवापुस्तामा स्विमिङ संस्कृति स्वास्थ्य सचेतनाले मात्र विकास भएको होइन । यो फेसन पनि बनेको छ । स्विमिङ मनोरञ्जनसँग पनि जोडिन्छ । साथीहरूसँग छुट्टी मनाउन स्विमिङ जानु आधुनिक युवाका लागि बानीजस्तै बन्दै गएको छ । स्विमिङका लागि बजारमा फेसनेबल पोसाकको माग बढिरहेको छ । पाटनको पोसाक पसलमा स्विमिङ पोसाक खोज्न युवतीहरू बढी आउँछन् । धेरैले शरीर ढाक्ने स्विमिङ कस्टुम खोजे पनि विस्तारै खुलापन बढ्दै गएको बिक्रेता प्रभात शाक्य बताउँछन् ।
युवतीहरू खुला पोसाक नै खोज्छन् । विकिनी मन पराउनेहरू बढ्दै गएको उनको अनुभव छ । घामबाट बच्न खोज्ने अधबैंसे महिलाहरू शरीर ढाक्ने पोसाक खोज्छन् । किशोरीहरू फ्रक स्टाइलको मन पराउँछन् । फूलबुट्टे पोसाकको माग बढी छ । कन्ट्रास्ट कलर रुचाउनेहरू त्यस्तै छन् । सात सय ५० रुपैयाँदेखि २५ सय रुपैयाँसम्मका स्विमिङ कस्टुम उपलब्ध छन् ।
नेपाल स्पोर्टस् हाउस त्रिपुरेश्वरका थेनटुब दोर्जे नेपालमा अझै स्विमिङ गर्नेहरूले फेसनमा चासो नदेखाएको बताउँछन् । भन्छन्, ‘नेपाली अझै लजाउँछन् ।' यो पसलमा पूरै शरीर ढाक्ने पोसाक खोज्नेकै भीड लाग्छ । केही बोल्ड युवतीहरू टु पिस, फ्रक स्टाइल खोज्छन् । तिघ्रासम्मको लम्बाइ भएको पोसाकको पनि माग राम्रो छ ।
नेपालमा स्विमिङ संस्कृतिप्रति अझै विकसित चेतना नभएको दोर्जेको भनाइ छ । केवल रमाइलोका लागि स्विमिङ गर्ने भएकाले सस्तो पोसाक खोज्नेहरू बढी छन् । छुट्टीको दिनमा मात्र स्विमिङ जाने चलन छ । अन्य समय यो काम लाग्दैन । एक दिनका लागि महँगो स्विमिङ कस्टुम किन्न चाहने कमै हुन्छन् । स्विमिङ कस्टुम लाइक्रा कपडाबाट बनेका हुन्छन् । स्पोर्टस् हाउसमा पुरुषका लागि ६ सय ५० रुपैयाँदेखि चार हजार रुपैयाँसम्मका र महिलाका लागि २२ सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका स्विमिङ कस्टुम पाइन्छ ।