पौडी फेसन
भक्तपुरका अञ्जन श्रेष्ठले पौडी खेल्न थालेको २० वर्ष भयो । सानैमा खोलामा पौडी सिकेका अञ्जन अचेल हरेक गर्मी मौसममा नियमित स्विमिङ पुल धाउँछन् । सानो छँदा हनुमन्ते खोलामा पौडी खेलेको अनुभव उनीसँग अझै ताजै छ । त्यो मज्जा स्विमिङ पुलमा त पाइँदैन । प्रदूषणका कारण राजधानीका खोला नुहाउन योग्य नभएपछि स्विमिङ पुलको विकल्प रहेन । अञ्जन अचेल सोल्टी होटेलमा रहेको स्विमिङ पुलमा जान्छन् ।दिनभरि व्यवसायमा व्यस्त हुनुपर्ने उनको गर्मीयामका प्रायः बिहान त्यतै बित्ने गरेको छ । उनलाई स्वस्थ हुन स्विमिङ जति उत्तम व्यायाम अरू लाग्दैन । 'अरू शारीरिक व्यायाममा भन्दा यसमा मनोरञ्जन बढी हुन्छ’, अञ्जनको अनुभव छ ।
डिस होमको मानव संशाधन विभागमा वरिष्ठ अधिकृतको रूपमा कार्यरत मन्दु वज्राचार्यलाई गर्मी भनेपछि अत्यास लाग्छ । शारीरिक व्यायाममा जोड दिने उनी व्यायाम गर्दा आउने पसिना भने मन पराउँदिनन् । उनको लागि व्यायाम र शीतलता दुवैको स्रोत भएको छ- पौडी । त्यसो त गर्मीमा यसै पनि अल्छी महसुस भइरहन्छ । पौडी भने यस्तो व्यायाम हो जसले दिनभरिको लागि ताजगी प्रदान गर्छ । पौडी गरेपछि मन्दु दिनभरि जोसिलो महसुस गर्छिन् । पौडीले दिने ताजगीले शरीरमात्र नभई मन मस्तिस्कलाई पनि फुर्तिलो बनाइराख्ने अनुभव छ उनको । सकारात्मक सोच र काममा केन्द्रित हुन सहयोग गर्ने बताउँछिन् उनी । भन्छिन्, 'एभ्री डे इज न्यु डे लाग्छ ।’
पहिले महेन्द्र पुलिस क्लबमा स्विमिङ जाने उनी अहिले धुम्बाराहीमा रहेको धनयन्त्री स्विमिङ पुल जान थालेकी छन् । काठमाडौंका दीपक श्रेष्ठको गर्मीयामको दैनिकी सोल्टी होटेलको स्विमिङ पुलबाट सुरु हुन्छ । तीन चार वर्षदेखि हरेक गर्मीमा नियमित स्विमिङ पुल जान थालेका हुन् उनी । पौडी खेल्न थालेपछि आफूलाई निकै फिट भएको महसुस गरेका छन् उनले । एक घन्टाको पौडीले अरू सबै शारीरिक व्यायामले गर्ने काम गरिरहेको अनुभव छ उनको । भन्छन्, 'खाना पनि खाइरहेछु, शरीर पनि फिट नै छ ।’ बिहानको पौडीपछि व्यावसायिक जीवन नै निकै रमाइलो बनाइदिने बताउँछन् उनी ।
यी त प्रतिनिधि उदाहरणमात्र हुन् । गर्मी याममा शीतलतासँगै मनोरञ्जन र व्यायाम दुवै हुने भएपछि कसलाई स्विमिङ गर्न मन नलाग्ला र ?
त्यसो त पौडी मानव जातिको उत्पत्तिदेखि नै जीवनको पाटो बनेर आएको छ । मानिस जन्मजात पौडीबाज प्रकृतिको हुन्छ । विकसित मुलुकका महिलाहरू आफ्नो र पेटभित्रको बच्चाको स्वास्थ्यका लागि गर्भावस्थामा पनि पौडी खेल्छन् । आधुनिक चिकित्सामा पानीमै बच्चा जन्माउनुलाई सुरक्षित मानिन्छ ।
पौडीले शरीर सुगठित बनाउनुको साथै दिनभरि ताजा महसुस गराउँछ । बिहान उठेर पौडी खेलेपछि मन पनि स्वच्छ भएको हुन्छ । ताजा मस्तिष्कले स्वस्थ चिन्तन पनि दिन्छ ।
नेपालमा स्विमिङ पुल गएर पौडी खेल्ने संस्कृतिको विकास भएको धेरै नभए पनि उपत्यका र देशका अन्य ठूला सहरहरूमा स्विमिङ पुल जाने संख्या बढ्दो छ । सँगसँगै स्विमिङ पुलको संख्या पनि बढ्दो छ ।नेपालमा स्विमिङ पुल गएर पौडी खेल्ने संस्कृति विकास भएको धेरै भएको छैन । करिब ३० वर्ष अगाडि राजधानीमा रंगशाला र बालाजुमा मात्र स्विमिङ पुल थिए । त्यतिबेला सीमित मान्छेमात्रै स्विमिङ पुल जान्थे । अहिले चोकचोकमा स्विमिङ पुल खुल्दा पनि सञ्चालकहरूलाई पौडी खेल्नेको चाप थेग्न गाह्रो छ ।
त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको 'ज्यासमिन फिटनेस क्लब एन्ड स्पा’मा रुफटप स्विमिङ पुल सञ्चालन गरिरहेका निरज लामाले केही वर्षयता पौडी निकै आधुनिक बन्दै गएको अनुभव सुनाए । दिनमा एक सय २० देखि एक सय ३० सम्मले पौडी खेल्न मिल्ने क्षमता भएको रुफटप स्विमिङ पुलमा ६० देखि ७० जना आउने गरेका छन् । शनिबार बढी भीड लाग्छ । ज्यासमिनमा एक पटकको लागि वयस्कले पाँच सय ९० रुपैयाँ र बच्चाले चार सय ३० रुपैयाँ शुल्क रहेको उनले बताए । शनिबारबाहेकका दिनमा ३० प्रतिशत छुटको व्यवस्था छ । सदस्य बन्नेहरूले मासिक ६ हजार रुपैयाँ तिर्नुपर्छ । तारे होटेलहरूले गर्मीको समयमा स्विमिङ प्याकेजको व्यवस्था गरेका हुन्छन् ।
सर्वसाधारणको लागि खुला हुने राजधानीका स्विमिङ पुलहरूमा दुई सय ५० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्छ । पौडीबाजका लागि महेन्द्र पुलिस क्लब, बालाजु स्विमिङ पुल, चप्पल कारखानास्थित कुण्डलिनी, चोभार, पलाँसेस्थित काठमाडौं फन भ्यालीलगायतका स्थान मुख्य गन्तव्य बन्ने गरेका छन् ।
सफलताको सूत्र -
विश्व प्रसिद्ध रूसी कम्युनिस्ट नेता भीआई लेनिनको नाम अध्ययनसँग पनि जोडिएर आउँछ । दुई दर्जनभन्दा बढी किताब लेखेका लेनिन राजनीति गरेका कारण विश्वविद्यालयबाट निस्कासनमा परी साइबेरिया पठाइएका थिए । दुई वर्ष साइबेरिया बसेर फर्केपछि उनले कानुनमा स्नातक गर्ने सोच बनाए । चार वर्षको स्नातकको सबै परीक्षा एकैपटक दिन पाऊँ भनी उनले शिक्षामन्त्रीलाई पत्र लेखे । शिक्षामन्त्रीले उनको निवेदन स्वीकार गरे ।
उनले एकै वर्षमा चार वर्षको पढाइ पूरा गरे त्यो पनि प्रथम श्रेणीमा । उनको शैक्षिक सफलताको रहस्य लेनिनकी बहिनीले आफ्नो संस्मरणमा उल्लेख गरेकी छिन् । लेनिनकी बहिनी ओल्गाका अनुसार उनको सफलताको सूत्र थियो - पौडी ।ओल्गाका अनुसार लेनिनको घर अगाडि पोखरी थियो । उनले पोखरीको छेउमा आफैंले टेबल-कुर्सी बनाएका थिए । बिहानै उठेर उनी त्यही टेबल-कुर्सीमा बसेर पढ्थे । जबजब थकानको महसुस गर्थे पोखरीमा पौडी खेल्थे । त्यही पौडीले दिने स्फूर्ति नै लेनिनको शैक्षिक जीवनमा सफलताको कारण बन्यो ।