एनसेललाई फोर जी सेवा सञ्चालन अनुमति

एनसेललाई फोर जी सेवा सञ्चालन अनुमति

काठमाडौं : निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोर जी) सेवाको अनुमति पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई अगामी जेठ १८ गतेबाट फोर जी सेवा सञ्चालन गर्न अनुमति दिएको हो । प्राधिकरणको बुधबारको बैठकमा एनसेललाई फोर जीको अनुमति दिने निर्णय भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार एनसेलले फोर जीको अनुमति मागेको नौ महिना भइसकेको भए पनि संसदको सार्वजनिक लेखा समितिले थप सेवासुविधामा रोक लगाएकाले फोर जीको अनुमति रोकिएको थियो । गत सातामात्रै संसदको विकास समितिले एनसेलका ग्राहकले पाउने सुविधा र सेवाबाट बञ्चित गर्न नमिल्ने भन्दै फोर जी सेवाको अनुमति दिन निर्देशन दिएकाले प्राधिकरणले प्रविधि तटस्थता गरेर एनसेललाई अनुमति दिएको हो ।

उहाँका अनुसार एनसेललाई फ्रिक्वेन्सी थप गरेको होइन, भएकै फ्रिक्वेन्सीमा विभिन्न प्रविधिको प्रयोग गरेर सेवा दिन पाउने व्यवस्था मात्रै गरेको हो । प्राधिकरणको यो अनुमतिपछि एनसेलले पहिलो चरणमा काठमाडौं, पोखरा, दमौली, धरान र विराटनगरमा सेवा सञ्चालन गर्न पाउनेछ । यो कम्पनी आफैंले मागेको समयलाई प्राधिकरणले स्वीकृति मात्रै दिएको उल्लेख छ ।

एनसेलले प्रविधि तटस्थतामार्फत नौ सय र १८ सय मेगाहर्जको फ्रिक्वेन्सीबाट सेवा दिन पाउने भएको छ । नौ सय मेगाहर्जबाट यसले ग्रामीण क्षेत्रमा थ्री जी सेवा पनि दिने भएको छ । १८ सय मेगाहार्जको फ्रिक्वेन्सीबाट कम्पनीले सहरी क्षेत्रमा फोर जी सेवा दिने उल्लेख छ । प्राधिकरणका अनुसार जति सानो फ्रिक्वेन्सी भयो उति नै कभरेज ठूलो क्षेत्रमा हुन्छ । गाउँमा सेवा विस्तार गर्दा ठूलो क्षेत्र समेट्नु पर्ने भएकाले पनि सानो फ्रिक्वेन्सी प्रयोग हुन्छ । प्राधिकरणले सेवाप्रदायक आफैंले प्रविधि छनोट गर्ने गरी एउटै फ्रिक्वेन्सीबाट सेवा दिनु प्रविधि तथस्टता भएको बताएको छ ।

एक वर्षभित्रै ६० प्रतिशतलाई सेवा

एनसेलले अगामी एक वर्षभित्रमा ६० प्रतिशत सेवाग्राहीलाई फोर जी सेवा दिने दाबी गरेको छ । प्राधिकरणका अनुसार एक वर्षभित्रमा ग्रामीण क्षेत्रमा थ्री जी र सहरी क्षेत्रमा फोर जी गरी करिब ६० प्रतिशत सेवाग्राहीलाई नयाँ प्रविधिको सेवा दिनेछ । प्राधिकरणका अनुसार एनसेलले बुझाएको रोलआउट प्लानअनुसार पहिलो चरणमा पाँचै सहरमा एकैपटक सेवा दिने र त्यसपछि दोस्रो चरणमा १५ सहरमा सेवा विस्तार गर्नेछ । एनसेलले सरकारी कम्पनी नेपाल टेलिकमले फोर जी सेवा सुरु गरेको साढे पाँच महिनापछि सेवाको अनुमति पाएको छ । टेलिकमले सेवा सुरु गरिसकेकाले एनसेलले टेलिकमको तुलनामा एकैपटक बृहत क्षेत्र समेट्ने गरी तयारी गरिरहेको छ । टेलिकमले गत पुस १ गतेदेखि फोर जी सेवा सञ्चालन गर्दै आएको छ ।

एनसेलले दोस्रो चरणमा बिर्तामोड, दमक, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, बुटवल, भैहरवासहित १५ वटा सहरमा सन् २०१८ को पहिलो चार महिनाभित्र फोर जी सेवा दिने गरी योजना पेस गरेको छ । एनसेलले आफैं तोकेकोबाहेक प्राधिकणले पनि क्षेत्र तोकेर सेवा दिन सक्नेछ ।

 

प्राधिकरणले एनसेललाई फोर जीको सेवा सञ्चालन गर्ने अनुमति दिने गरी संसदको विकास समितिमा यही वैशाख १० गते लिखित अनुरोध गरेको थियो । प्राधिकरणको सो अनुरोधपछि विकास समितिले एनसेलको कर र उसका एक करोड १० लाख ग्राहकले पाउने सेवा तथा सुविधा अगल पाटो भएकाले फोर जी अनुमति दिन प्राधिकरणलाई निर्देशन दिएको थियो । प्राधिकरणले लेखा समितिले रोक लगाएको सेवामा पुनर्विचार गर्न भन्दै विकास समितिसमक्ष निवेदन दिएपछि विकास समितिले पुँजीगत लाभकर अशुल गर्दै फोर जी सेवा पनि दिनुपर्ने गरी निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार एनसेलले पुँजीगत लाभकर नतिरेकै आधारमा एक करोड १० लाख सक्रिय सेवाग्राहीलाई नवीनतम प्रविधिबाट बञ्चित गर्न नहुने तर्कसहित फोर जीको अनुमति दिएको हो । कर लिने विषयमा निर्णय गर्ने, कम्पनीको खाता रोक्का गर्ने, जायजेथाबाट अशुल गर्ने सबै अधिकार कर कार्यालयलाई छ । एनसेलको खातामा ४५ अर्ब रुपैयाँ रहेको र यसले वार्षिक २२ अर्ब नाफा कामाएको छ भने यसबाट राज्यले लिने कर अशुल गर्न कुनै अप्ठ्यारो नपर्ने भन्दै फोर जी सेवा सञ्चालनको अनुमति दिएको हो ।

लेखा समितिले भने आफ्नो क्षेत्राधिकार नाघेर विकास समितिले दिएको निर्देशनका आधारमा लिखित जानकारी माग्ने भएको छ । समिति सभापति डोरप्रसाद उपाध्यायका अनुसार लेखाको निर्देशनविपरित निर्णय गर्ने आधार के हो र यसको कारण र औचित्य पुष्टि प्राधिकरणबाट गराउने गरी पत्र लेख्ने भएको छ । ‘पहिले औपचारिक निर्णय आओस्, त्यसपछि हाम्रो तर्फबाट आवश्यक प्रक्रियागत काम गर्छौं’, उपाध्यायले भन्नुभयो । इन्फोः एनसेलले एक वर्षभित्र ग्रामीण क्षेत्रमा थ्री जी र सहरी क्षेत्रमा फोर जी गरी करिब ६० प्रतिशत सेवाग्राहीलाई नयाँ प्रविधिको सेवा दिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.