पाकिस्तानका हिन्दु धार्मिक सम्पदाबारे पुस्तक
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजधानीमा शुक्रबार आयोजित कार्यक्रमबीच ‘पाकिस्तानका हिन्दु धार्मिक सम्पदाहरू’ नामक पुस्तक लोकार्पण गरेका छन । अध्यक्ष थापाले हिन्दु धर्म र यसका मान्यताको इतिहास लामो रहेको चर्चा गरे । हिन्दु धर्म र दर्शनको इतिहासमा सिन्धुघाँटीको सभ्यतालाई विशेष रूपमा लिने गरिएको थापाको भनाइ थियो । ‘ऋग्वेदको रचना पनि सिन्धु नदीको किनारामा भएको हो भन्ने विश्लेषण हुने गरेका छन्’ थापाले भने ।
हिन्दु धर्म र सांस्कृतिक सम्पदाको जगेर्नामा पाकिस्तान सरकारले गरेको प्रयासको सराह्रना गरे । महाभारत, रामायणमा पनि सिन्धु क्षेत्रबारे चर्चा भएको बताउँदै थापाले पाकिस्तानका हिन्दु अल्पसंख्यकप्रति त्यहाँको सरकारले गरेको व्यवहार सराह्रनीय रहेको बताए । पाकिस्तानी दूतावासले आयोजना गरेको कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनले पाकिस्तानमा पनि हिन्दु धर्मावलम्बी, धार्मिकस्थल र सम्पदा छन् भन्नेबारे नेपाली जनतालाई जान्न पुस्तक उपयोगी रहेको बताए ।
विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष हेमबहादुर कार्की, पत्रकार राजन कार्की, पाकिस्तानी कार्यवाहक राजदूत जावेदअहमद उम्रानीलगायतले पुस्तकको महŒवबारे चर्चा गरेका थिए । पाकिस्तानमा रहेका हिन्दु तीर्थस्थल, प्राचीन हिन्दु सम्पदाहरूबारे तस्बिरसहितको वर्णन पुस्तकमा समेटिएको छ । पाकिस्तानमा हिन्दु धर्मको विकास, हिन्दु दर्शनलगायतबारे पुस्तकमा उल्लेख गरिएको छ । यसअघि अंग्रेजीमा प्रकाशित पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी सार्वजनिक गरिएको काठमाडांैस्थित पाकिस्तानी दूतावासले जनाएको छ । पुस्तक अनुवाद तथा प्रकाशन पत्रकार राजन कार्कीले गरेका हुन् ।