सिन्धुलीमा करेन्ट लागेर एकको मृत्यु
सिन्धुली: सिन्धुलीको तीनपाटन गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तिनपाटन गाउँपालिका– २ निवासी ४७ वर्षीय खड्गप्रसाद श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो। तीनपाटनकै बेलघारीमा कुखुरा लिन जाने क्रममा चदाहा खोलामा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलघारीका प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र झाले जानकारी दिनुभयो।
पैदल हिँड्ने क्रममा श्रेष्ठले अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो । प्रहरीकाअनुसार हावाहुरीका कारण बिजुलीको तार भुइँमा लत्रेको र त्यही नाङ्गो तारमा छुँदा श्रेष्ठको मृत्यु भएको हो।
यता नेपाल विद्युत् प्राधिकरणले ग्रामीण क्षेत्रमा वितरण गरेको विद्युतिकरण जोखिम बन्दै गएको छ। स्थानीय पोलको प्रयोग, विद्युत् पोलको समयमा नै मर्मत नगर्दा ग्रामीण विद्युतिकरण जोखिम बन्दै गएको छ। सिन्धुलीका ग्रामीण क्षेत्रमा वितरण गरिएका अधिकांश स्थानमा प्राधिकरणले लापरबाही तवरले विद्युत् विस्तार गरेको छ।
स्थानीयवासीले विद्युत् पोल मर्मत गर्न प्राधिकरणलाई जानकारी गराउँदा समेत प्राधिकरणले बेवास्ता गर्ने गरेको स्थानीयवासीको भनाइ छ। रासस