राष्ट्रपतिलाई मधेशी मोर्चाको आग्रह : अभिभावक बन्नुहोस्

राष्ट्रपतिलाई मधेशी मोर्चाको आग्रह : अभिभावक बन्नुहोस्

काठमाडौं : मधेसी मोर्चाका नेताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको अभिभावकको भूमिका निर्वाह गर्न र परिआएमा कठोर कदमसमेत उठाउन सुझाव दिएका छन्।न्यायपालिका र व्यवस्थापिकाको भिडन्तकै क्रममा राष्ट्रपति र सभामुखसमेत ठूला दलको महाभियोगको निशानामा पर्न लागेको संकेत गर्दै उनीहरूले राष्ट्रपतिले तटस्थ र प्रभावकारी भूमिका निर्वाह नगरे राज्यका सबै निकाय अस्तित्वविहीन हुने चेतावनी पनि दिए । संकट चुलिँदै गएका बेला राष्ट्रपति भण्डारीले संविधानको अभिभावकका रूपमा आफूले निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा छलफल गर्न मोर्चाका नेताहरूलाई बोलाउनुभएको थियो ।

हाँसीमजाक र राजनीतिक विषयबारे हल्का टिप्पणीकै क्रममा राष्ट्रपतिले मधेसी मोर्चालाई सबै पार्टीसँग सहमति बनाउने प्रयास गर्न र संसद्मा प्रमुख प्रतिपक्षी दल एमालेलाई टाढा नराख्न सुझाव दिएपछि मोर्चाका नेताहरूले आआफ्नो बोल्ने क्रममा आक्रामक शैलीमा टिप्पणी गरेका थिए।

शीतलनिवासमा शुक्रबार साँझ ५ बजेदेखि ८ बजेसम्म भएको छलफलमा मोर्चाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, सीपी सिंहलगायत १० जना सहभागी थिए भने राष्ट्रपतिका तर्फबाट उहाँका सल्लाहकार सुशील प्याकुरेल हुनुहुन्थ्यो । राष्ट्रपतिले आफ्ना भनाइ राख्दै ६ वटा मधेसवादी पार्टी मिलेर राष्ट्रिय जनता पार्टी नेपाल बनेकोमा शुभकामना दिनुभएको थियो ।

'संविधानलाई गतिशील बनाउन र यसको उपलब्धि ग्रहण गर्ने कार्यमा सहभागी हुन आग्रह गर्छु । संवाद र सहमतिको प्रक्रियाबाटै सबै कुराले निकास पाउँछ', राष्ट्रपतिको भनाइ उद्धृत गर्दै फोरम गणतान्त्रिकका महासचिव सीपी सिंहले भन्नुभयो, 'एमालेसँग पनि दूरी कम गरी वार्ताका लागि अघि बढ्नुहोस् ।' राजपा नेता महन्थ ठाकुरले एमालेसँग दूरी बढ्नुमा मोर्चा नभएर केपी शर्मा ओलीसहित अन्य दलका नेता र कार्यकर्ता दोषी रहेको जानकारी राष्ट्रपतिलाई दिनुभएको दाबी स्रोतले गरेको छ।

'कांग्रेस, माओवादी केन्द्रलगायत दलसँग पनि कतिपय एजेन्डामा फरक मत छ तर उनीहरू ओलीले जस्तो कुनै अर्को पार्टी, जात, वर्ग र क्षेत्रप्रति विषवमन गर्दैनन्', ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । संसद्मा आफूभन्दा साना दलसँगको निकटतामा ठूलाको माया, ममता र स्नेह अपरिहार्य हुन्छ भन्ने पाठ सम्बद्ध पक्षले सिक्नुपर्नेमा राजपा नेताहरूले जोड दिएका थिए ।

'राष्ट्र विषम परिस्थितिमा छ । हाम्रो कुरा संविधानमार्फत प्रतिनिधित्व गराइँदैन । ओलीजी त मधेस भन्यो कि उग्र भइदिनुहुन्छ । यस्तो कुराको निकास पनि राष्ट्रपतिबाटै होस् भन्ने अपेक्षा गरेका छौं', मोर्चाका नेताहरूले राष्ट्रपतिसँग भनेका थिए ।संविधानमा आफूहरूको ठूलो मतभेद भए पनि निर्वाचनका लागि भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्वको व्यवस्था र जनसंख्याका आधारमा क्षेत्र निर्धारणमा सीमित भएको जानकारी दिँदै मधेसीलाई बाधक नमान्न राजपाका नेताहरूले राष्ट्रपतिसँग आग्रह गरेको स्रोत बताउँछ ।

 

संविधान निर्माणमा मोर्चाका तर्फबाट निर्णायक भूमिका निर्वाह गर्नुभएका लक्ष्मणलाल कर्णले सरकार र प्रतिपक्षी दलको भिडन्त कार्यपालिका र न्यायपालिकाबीचको हानथापमा जानु राम्रो नभएको बताउनुभयो । 'संविधानको संरक्षकको हैसियतमा त्रिपक्षीय युद्धलाई निकास दिनैपर्छ । तपाईंबाट अमूक दलको होइन, मुलुकका लागि मध्यमार्गी भूमिकाको खोजीमा हामी छौं', उहाँले राष्ट्रपतिसँग भन्नुभयो । मोर्चाका अर्का नेताले राष्ट्रपति संविधानको अभिभावक भएकाले कहिलेकहीं मुलुकको रक्षार्थ संविधानभन्दा माथि उठ्नैपर्ने बताउनुभयो ।

'गिरिजाप्रसाद कोइरालाले अन्तरिम प्रतिनिधिसभामा माओवादीलाई प्रवेश गराउँदा ७९ सिट दिए । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली सेनाको संरचना र गरिमा बचाउन रुक्मांगत कटवालका पक्षमा निर्णय लिएझैं तपाईंबाट पनि यो त्रिपक्षीय भिडन्त रोक्न विशेष कदमको आवश्यकता छ', ती नेताको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।अन्त्यमा राष्ट्रपतिले आफू मुलुकको विद्यमान परिस्थितिप्रति गम्भीर रहेकाले संविधानको संरक्षकको भूमिका निर्वाह गर्ने कुरामा राजपा नेताहरूलाई आश्वस्त गराउनुभएको जानकारी स्रोतले दियो ।

राष्ट्रपतिको ठट्यौली

राष्ट्रपतिले मोर्चाका नेताहरूलाई पकौडा खुवाएर सत्कार गर्नुभएको थियो । नेताहरूले पकौडा खाँदै गर्दा राष्ट्रपतिले सोध्नुभयो, 'पकौडा त मिठै होला ? ' नेताहरूले जबाफ दिए, 'हजुरको सम्धी (पूर्वराष्ट्रपति डा. रामवरण यादव) ले त मिठाइ, दही र चिउरा खुवाउनुहुन्थ्यो ।' लगत्तै भण्डारीले आफ्नो भान्छामा पाकेको खुवाउन निम्ता गरेको बताउनुभएको र आफ्ना सम्धीको सत्कारलाई समेत ध्यान दिँदै मिठाइ, दही र चिउरा पनि खुवाउनुभएको जानकारी स्रोतले दियो।

'मधेसी नेताहरूले मैथिली परम्परा त सिक्नैपर्‍यो' भन्दा राष्ट्रपतिले 'छोरी दिएपछि सिक्दैछु । त्योभन्दा अघि विराटनगरमा रहँदा मदन भण्डारीले पनि मिथिला खाना मन पराउनुहुन्थ्यो' भन्नुभएको थियो । राष्ट्रपतिले अत्यन्त अनौपचारिक हुँदै मधेसको संस्कार, संस्कृति र रीतिरिवाजका विषयमा समेत परामर्श गर्नुभएको जानकारी स्रोतले दियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.