व्यवसायीलाई पनि निर्वाचनको चटाराे
काठमाडौं : उपत्यकाका व्यापारीलाई स्थानीय निर्वाचनले व्यस्त बनाएको छ । ठूला व्यापारीदेखि किराना व्यापारसम्मलाई निर्वाचनका कारण भ्याइनभ्याइ भएको छ । दैनिक उपभोग्य वस्तुको व्यवसाय होस् वा कपडा व्यापारी सबै व्यापारको समय घटाएर चुनाव प्रचारमा लागेका छन् । बिहान ७ बजे पुजापाठ गरी दैनिक व्यवसाय सञ्चालन गर्ने व्यवसायी केही दिन यतादेखि पूर्वनिर्धारित समयभन्दा दुई घन्टा अगावै उठेर निर्वाचनको प्रसारप्रसारमा व्यस्त हुन थालेका छन् ।
कतिपयले चुनावका लागि पसल नै बन्द गरिसकेका छन् । उपत्यकामा संगठित रूपमा सञ्चालनमा रहेका खुद्रा व्यापार संघ र थोक खाद्य किराना व्यवसायी संघसँग आबद्ध केही व्यवसायीलाई अहिले व्यापार गर्न फुर्सद नै छैन । बिहानदेखि अबेर रातिसम्म मतदाताको घर आँगन चहार्न समय बितिरहेको गर्छ । खुद्रा व्यपार संघमा आबद्ध अध्यक्षदेखि एरिया इन्चार्जसम्मलाई यतिबेला निर्वाचनले छोएको छ । संघका अध्यक्ष पवित्र बज्राचार्य आफैं काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बन्नुभएको छ ।
सफल व्यवसायी मानिनुभएका बज्राचार्य राजनीतिमा पनि उतिकै जम्नुभएको छ । लामो समयसम्म एमालेको राजनीति गर्नुभएका बज्राचार्यले यसपटक एमालेबाट टिकट नपाएपछि नयाँ शक्ति र संघीय समाजवादी फोरमका तर्फबाट महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएको छ । महानगरपालिकाको क्षेत्रभित्र खुद्रा व्यवसाय गर्ने व्यवसायीका लागि निश्चित मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याउने, महानगरपालिकालाई व्यवसायी र उपभोक्तामुखी बनाउने, विभिन्न प्रकारका करको दायराभित्र व्यवसायीलाई ल्याउने लगायतका मुद्दा बज्राचार्यले अघि सार्नु भएको छ ।
उहाँ भन्नुहुन्छ, ‘मेरो उम्मेदवारी अव्यवस्थित खुद्रा व्यवसायलाई व्यवस्थित बनाउन हो । म विजयी भएँ भने काठमाडौं महानगरपालिकालाई व्यवसायीमैत्री बनाउँछु । महानगरपालिकामा व्यापारीलाई झण्झटिलो प्रशासनिक व्यवस्था छ । यो प्रक्रिया तत्काल सुधार गरी व्यवसायीका लागि एउटा निश्चित मापदण्ड बनाउने सोच छ ।' सँधै बिहान ७ बजे ओछ्यान छाड्ने बज्राचार्यले उम्मेदवार दिए लगत्तै बिहान ५ बजे नै ओछ्यान छाड्नु हुन्छ । अधिकांश बहुमूल्य समय पसलको साटो निर्वाचनसम्बन्धी प्रचारप्रसारमा दिन थाल्नुभएको छ । पसल सञ्चालन गर्ने जिम्मेवारी अहिले पारिवारिक सदस्यले उठाएका छन् । ‘अहिले त दिनचर्या नै फेरिएको छ', उहाँ भन्नुहुन्छ, ‘बिहानदेखि रातिसम्म आर्थिक गतिविधिमा व्यस्त रहने म अहिले निर्वाचन प्रचारप्रसारमा सबै समय दिइरहेको छु ।'
संघको अध्यक्ष भएर मेयर पदका लागि उम्मेदवारी दिए पनि खुद्रा व्यवसायलाई भने कुनै पनि प्रकारको प्रभाव नपर्ने उहाँले जानकारी दिनुभयो । संघको एरिया नम्बर ११ का इन्चार्ज तथा व्यवसायी रामकृष्ण प्रधान भने अहिले आफ्नो पसल नै बन्द गरी सोही पसलमा निर्वाचन प्रचारप्रसारको लागि सम्पर्क कार्यालय सञ्चालन गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २१ वडाको सदस्यमा उम्मेदवारी दिनुभएका प्रधानले निर्वाचनको प्रचार गर्न पसल नै बन्द गर्नुभएको छ । दैनिक १० हजार रुपैयाँको व्यापार गर्ने प्रधानलाई पसल बन्द गर्दा कुनै पछुतो छैन ।
उहाँ भन्नुहुन्छ, ‘खुद्रा व्यवसायी राज्यबाट निकै पीडित छन् । व्यवसायीको गुनासो सुन्ने र तत्कालै समाधान हुने खालको वातावरण महानगरपालिकाको हुनुपर्छ । त्यसैले पसल बन्द गरेर पनि व्यवसायीको हक हितका लागि उम्मेदवारी दिएको छु ।' संघको एरिया नम्बर १३ का इन्चार्ज गोपाल महर्जन माओवादी केन्द्रबाट वडा नम्बर २७ बाट अध्यक्ष बनेका छन् । महेश्वरलाल प्रधानले पनि नेकपा एमालेबाट १७ वडाका लागि सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । थोक खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भट्टले राज्य र कर्मचारीबाट खुद्रा र थोक व्यवसायी निकै पीडित भएको जानकारी दिनुभयो । उहाँले खुद्रा र थोक व्यवसायीले भोगेका समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई मात्रै मतदान गर्नुपर्ने सुझाव दिनुभयो ।
दैनिक उपभोग्य वस्तुको व्यवसाय होस् वा कपडा व्यापारी सबै व्यापारको समय घटाएर चुनाव प्रचारमा लागेका छन् ।
उपत्यकामा कानुनी मान्यता प्राप्त गरेका व्यवसायीको संख्याभन्दा अवैध रूपमा पसल सञ्चालन गर्नेको संख्या झन्डै तेब्बर भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘कानुनी मान्यता पाएर कर तिरे पनि राज्यले हामीजस्ता व्यवसायीलाई चोर फटाहा र ठगको संज्ञा मात्रै दियो । सबै व्यवसायीलाई एउटै भाडोमा राख्नु हुन्न । व्यवसायीको पीरमर्का बुझ्ने उम्मेदवारलाई मात्रै मतदात गर्नुपर्छ ।' थोक संघसँग आवद्ध व्यवसायीले पनि स्थानीय निर्वाचनमा दर्जनौंको संख्यामा उम्मेदवारी दिएका छन् ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार महासंघसँग आबद्ध सदस्यले विभिन्न जिल्लामा पाँच दर्जनभन्दा बढी संख्यामा वडा अध्यक्षदेखि सदस्यमा उम्मेदवारी दिएका छन् । यस्तै फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठका अनुसार यसपटकको स्थानीय निर्वाचनमा पुष्प व्यवसायीले पनि उम्मेदवारी दिएका गराएका छन् । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले सहकारीमा लागेका किसान र व्यवसायीमध्ये झण्डै २० प्रतिशत सदस्यले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएको जानकारी दिनुभयो ।