डेरीलाई दूध अभाव

डेरीलाई दूध अभाव

काठमाडौं :  दूग्ध प्रशोधन उद्योग (डेरी)लाई कच्चा दूध अभाव भएको छ । निजी क्षेत्रका उद्योग र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध प्रशोधन गरी बजारमा बिक्री गर्दै आएका छन् । स्वदेशी दूध मागअनुसार उपलब्ध नभएपछि उद्योगले भारतबाट दूध आयात गरिरहेका छन् ।

डेरी उद्योगले गत फागुनदेखि कच्चा दूधको समस्या व्यहोर्दैआएका हुन् । व्यवसायीले भूकम्पको समयमा दूध उत्पादन हुने पकेट क्षेत्रमै ठूलो परिमाणमा दूधालु गाई र भैंसी मरेकाले त्यसको प्रत्यक्ष प्रभाव अहिले परेको बताएका छन् । फागुनदेखि साउनसम्म दूध उत्पादन कम हुने अर्थात् ‘सुक्खा समय' मानिन्छ । तर, गत वर्षकै तुलनामा यो वर्ष दूध उत्पादन घटेको छ । डेरी उद्योग दैनिक अहिले करिब ४० प्रतिशत दूधको अभाव व्यहोर्न बाध्य छन् ।

केन्द्रीय दूध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले कम दूध उत्पादन हुने समय भएकाले अहिले करिब २० प्रतिशतले उत्पादनमा कमी आएको जानकारी दिनुभयो । यसबाहेक गाईभैंसी मरेर र लागत मूल्य नपाउँदा किसान पलायन भई थप ३० प्रतिशतले दूधको उत्पादनमा कमी आएको छ । ‘सुक्खा समयमा पनि यो वर्ष थप दूध अभाव भएको छ', देवकोटाले भन्नुभयो, ‘मुख्य गरी तीन/चारवटा कारणले दूधको अभाव भएको हो ।' उहाँका अनुसार भूकम्पमा पकेट क्षेत्रमै गाईभैंसी मर्नु, नाकाबन्दीको समयमा दानाको अभाव र अहिले दानाको मूल्यमा ३५ प्रतिशतले वृद्धि तथा उत्पादन भएको दूध बिक्री नहुनु, किसानले लागत मूल्य नपाएर यो पेसाबाट विस्थापित हुनु र राज्यबाट वास्तविक किसानले सुविधा प्राप्त गर्न नसक्नु होलगायतका कारण उत्पादन घटेको हो ।

सीताराम गोकुल मिल्कका प्रबन्ध निर्देशकसमेत रहेका नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाका अनुसार उहाँको उद्योगले दूधको अभावमा अहिले दैनिक १४ हजार कम परिमाणमा दूध प्रशोधन गरिरहेको छ । गोकुल मिल्कले अहिले करिब ३१ हजार लिटर मात्रै दूध प्रशोधन गर्छ । यसअघि उक्त उद्योगले दैनिक ४५ हजार लिटर दूध प्रशोधन गर्दै आएको थियो ।

‘दूध संकलन केन्द्रबाट कच्चा दूध थोरै परिमाण संकलन हुँदा समस्या परेको छ', केडियाले भन्नुभयो, ‘अन्य वर्षको सुक्खा समयको तुलनामा यो वर्ष झनै दूध अभाव भयो । पाउडर दूधमा मिसाएर झोल दूध तयार गर्न पनि कच्चा दूध अभाव भयो ।' कच्चा दूधको अभावमा सीताराम गोकुल मिल्कले भारतबाट कच्चा दूध आयात गर्दै आएको छ । कच्चा दूधको अभाव भएपछि दूधबाट तयार हुने अन्य परिकार घिउ, मिठाई, दहीलगायतका अन्य परिकारको परिमाण पनि घटेको छ ।

व्यवसायी कच्चा दूधसँगै पाउडर दूधको समस्या पनि व्यहोर्न बाध्य भएका छन् । २५ किलो तौल भएको पाउडर दूधको मूल्य अहिले १४ हजार पुगेको छ । यसअघि उक्त दूधको मूल्य १० हजार थियो । ‘कच्चा दूधको चर्को समस्या र पाउडर दूधको मूल्य वृद्धिका कारण हामीलाई उद्योग सञ्चालन गर्नै कठिन भयो', केडियाले भन्नुभयो । डेरी क्षेत्रमा मात्रै निजी र सरकारी क्षेत्रबाट करिब १८ अर्बभन्दा बढीको लगानी छ ।

डीडीसीका प्रवक्ता इश्वरी अधिकारीले अहिले दैनिक ४० प्रतिशतको हाराहारीमा दूध अभाव भएको जानकारी दिनुभयो । कच्चा दूधको अभाव पूरा गर्न डीडीसीले वैशाख १३ गतेदेखि भारतको पटनास्थित पटना डेरी कोअपरेटिभबाट दैनिक करिब ११ लाख मूल्य बराबरको २० हजार लिटर दूध आयात गर्दै आएको छ । भारतमा प्रतिलिटर दूध ५५ रुपैयाँ पर्छ । कच्चा दूधको अभावमा डीडीसीले पनि मख्खन, पाउडर दूध, मिठाईसहित दूधका अन्य परिकारको निर्माण परिमाण घटाएको छ । ‘अहिले टोल टोलमा दर्ता बिना नै सञ्चालनमा आएका पोको दूध डेरीका कारण पनि दूधको चरम अभाव भएको हो । उत्पादन भएका दूध सबैतिर बाँडिएपछि ठूला उद्योगलाई दूधको अभाव खड्किएको हो', अधिकारीले भन्नुभयो ।

‘उत्पादनमा वृद्धि भएको छ'

उद्योगीले दूध अभावसम्बन्धी समस्या व्यहोरिरहँदा सरकारले भने अहिले दूधको उत्पादनमा उल्लेख्य वृद्धि भएको दाबी गरेको छ । पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्याम पौडेलले गत आर्थिक वर्षको दोस्रो चौमासिकदेखि चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा दूध उत्पादन ३.९ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । ‘उद्योगीले दूधको चर्को अभाव व्यहोर्नुपरेको विषय मलाई सही लागेन । अहिले उत्पादन वृद्धि भएको छ', प्रवक्ता पौडेलले भन्नुभयो, ‘उद्योगीले किसानलाई लागत मूल्य नदिँदा उत्पादित दूध टोलटोलमा सानो पसलमार्फत बिक्री हुने व्यवसायीले उठाएका छन् । यसले गर्दा ठूला उद्योगलाई दूधको अभाव भएको हो ।'

भूकम्पको समयमा मरेका गाईभैंसीका कारण दूधको उत्पादनमा केही कमी आए पनि अहिले भने पर्याप्त मात्रामा उत्पादन भइरहेको मन्त्रालयको दाबी छ । मन्त्रालयका अनुसार भूकम्पमा परेर कुल ८५ हजार ७८ वटा पशुधनको मृत्यु भएको थियो । इन्प्mोडेरी उद्योग अहिले दैनिक करिब ४० प्रतिशत दूधको अभाव व्यहोर्न बाध्य छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.