सहचालकद्वारा पेट्रोलियम ढुवानी बन्द
नेपालगन्ज : सहचालकले पेट्रोलियम ढुवानी बन्द गरेका छन् । आफूहरूले पाउने तलब निकै न्युन भएको भन्दै उनीहरूले ट्यांकर मालिकविरुद्ध आन्दोलन थालेका हुन् । आन्दोलनका कारण आइतबारदेखि भारतको गोन्डामा पेट्रोलियम लिन जाने ट्यांकर र पम्पसम्म पुर्याउने पेट्रेलियम पदार्थ बोकेका ट्यांकर नेपालगन्जमै रोकिएका छन् ।
उनीहरूले आफूले माग गरेबमोजिमको पारि श्रमिक लागू नहुँदासम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् । मासिक पाँच हजार रुपैयाँ पारि श्रमिक माग गरिरहेका उनीहरुले अहिलेसम्म मासिक एक हजार रुपैयाँ तलब बुझ्दै आएका छन् । त्यो पनि टुयांकर मालिकले नभई चालक आफैंले दिँदै आएका छन् । ‘त्यो एक हजार रुपैयाँले त चिया खान पनि पुग्दैन' सहचालकको नेतृत्व गरिरहेका गणेश वलीले भन्नुभयो, ‘त्यो पनि मालिकले दिँदैनन्, चालकले आफ्नो तलब कटाएर दिने हो ।'
वर्षाैंदेखि आफूको श्रम शोषण भएको भन्दै सहचालकले माग पूरा नभएसम्म पेट्रोलियमको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । ‘हाम्रो आन्दोलन ट्यांकरका मालिकसँग हो, आयल निमग अनि सरकारसँग होइन' उहाँले भन्नुभयो, ‘अब माग पूरा नहुँदासम्म हाम्रो कोही पनि सहचालक काममा जाँदैनन् ।' उहाँले विगत पाँच वर्षदेखि ट्यांकरमा सहचालकको रूपमा काम गर्दै आएका छन् ।
ट्यांकरमा तेल भर्नका लागि भारतको गोन्डासम्म पुग्ने अनि अनलोड गर्दा उहाँजस्ता सयौं सहचालक चालकभन्दा बढी खट्नुपर्छ । ‘तर, पनि हामीले पाउने भनेको एक हजार रुपैयाँ मात्रै हो', वलीले भन्नुभयो, ‘त्यो एक हजार रुपैयाँले के हुन्छ ? हामीलाई चिया खर्च पनि पुग्दैन, जतिभन्दा पनि नमानेपछि हामी आन्दोलनमा उत्रिएका हौं ।'
करिब एक सय २० ट्यांकरका सहचालक आन्दोलनमा उत्रिएपछि मध्यपश्चिमका धेरैजसो पेट्रोलपम्पमा तेल भर्न पाइएको छैन । आइतबारदेखि नै गोन्डामा तेल लिन जाने ट्यांकर पनि उनीहरुले राकिदिएका छन् । यसका कारण यो क्षेत्रमा पेट्रोलियम अभाव चाँडै नै चुलिनसक्छ । नेपाल स्वतन्त्र यातायात मजदुर संगठनको नामबाट आन्दोलन थालेका उनीहरूले आइतबार भने नजिकका पम्पमा पेट्रोलियम अनलोड गर्न दिएका थिए । तर, सोमबारदेखि ट्यांकर नै चल्न नदिने उनीहरूले बताए ।
ट्यांकरधनीले पनि मजदूरको तलब धेरै कम भएको बताएका छन् । वर्षोदेखि मासिक एक हजार रुपैयाँमा काम गर्दै आएका हेल्परको पारि श्रमिक वृद्धि हुनुपर्नेमा उनीहरू पनि सकारात्मक छन् । ‘संघले निर्णय गर्यो भने हामी त मान्न तयार छौं, त्यत्ति थोरै पैसामा कसैको पनि जिन्दगी चल्दैन', ट्यांकरधनी गोकर्ण गिरीले भन्नुभयो, ‘केही सुहाउँदो त हुनुपर्छ, मासिक एक हजार रुपैयाँ त धेरै कम भयो ।' सहचालकले ट्यांकरधनीको संघ मध्यपश्चिम पेट्रोलियम ढुवानी संघलाई तीन दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएका छन् ।