कलम छाडेर बाख्रापालन

 कलम छाडेर बाख्रापालन

केही समयअघि अक्षरको खेती गर्दै आएका रामेश्वर धिताल अचेल नुवाकोटमा बाख्रा चराउँदै गरेका भेटिन्छन् । राजधानीको एक आर्थिक दैनिकका पत्रकार धिताल चार वर्षदेखि बाख्रापालनमा रमाइरहेका छन् । पत्रकारिता गर्दागर्दा उनलाई आफ्नै गाउँठाउँमा कृषिकर्म गर्ने मन लागेपछि राजधानीको जागिर छोडेर गृहजिल्ला नुवाकोट हान्निएको सुनाउँछन् धिताल । बाख्रापालनमा सन्तुष्ट छन् उनी । राम्रो आर्जन गरिरहेको बताउँछन् ।

धितालले सुरुमा १० लाख लागतमा ठूलासाना गरी ५० वटा बाख्रा खरिद गरे । आफ्नै स्रोत र मेहनतले खोर बनाउँदा थप पैसा खर्च हुनबाट जोगिएको उनी सुनाउँछन् । आफैंले केही गर्छु भन्ने अठोट गरेर सहरको जागिर छोडेर गाउँ हान्निएको बताउँछन् उनी । उनी भन्छन्, ‘मैले केही पाउँछु भनेर बाख्रा पाल्न थालेको होइन । केही गर्छु भन्ने मनसायले व्यवसाय सुरु गरेको हुँ ।'

सुरुमा भने निकै चुनौती सामना गर्नुपरेछ उनले । पहिलो दुई वर्ष त धैर्यको परीक्षा नै भयो । ‘तेस्रो वर्षदेखि राम्रो भइरहेको छ, म सन्तुष्ट नै छु', उनी भन्छन् । अहिले उनी बाख्रापालनबाट मनग्गे आम्दानी गरिरहेका छन् । उनको फार्ममा घरकै चारजनाले काम गर्छन् । आवश्यकताअनुसार सहयोगी राख्ने गरेका छन् । ‘समुन्द्रटार कृषि फार्म' नाम दिइएको फार्म हाउसलाई बाख्रा स्रोतकेन्द्रका रूपमा विकास गर्ने उनको योजना छ ।

पत्रकारितामा राम्रै स्थान बनाइरहेका धितालले किन हुँदाखाँदाको पेसा छोडे त ? जबाफमा उनी व्यवसाय गर्ने रहर बताउँछन् । ‘मेरो पेसा लेखनी हो । मेरो व्यवसाय कृषि फार्म हो', उनी भन्छन् ।

दुई वर्षदेखि उनी नाफामा छन् । बाख्रापालनबाट वार्षिक १० देखि १२ लाख आम्दानी गरेको बताउँछन् उनी । लगानी विस्तार गरी नमुना स्रोतकेन्द्र बनाउने ध्याउन्नमा डटेका छन् उनी अहिले । पशु सेवा कार्यालय नुवाकोटले उनको ‘समुन्द्रटार फार्म हाउस' लाई समाविष्ट गरिसकेको छ । बोयर, जमुनापारि, बारबेरी र खरी जातका बाख्रा उत्पादन तथा वितरण गरिरेहका धिताल आफ्ना उत्पादनसँगै अन्यत्रबाट खसीबाख्रा खरिद गरी बिक्रीवितरण पनि गर्छन् । बिक्रीवितरण पनि गर्दा अन्य बाख्रापालकलाई फाइदा पुगेको उनको दाबी छ । ‘कसैलाई बेच्न र खरिद गर्न कुनै समस्या पर्दैन । यसो भएपछि वरिपरिका सबैलाई राहत मिलेको छ', धितालले भने।

धितालले बाख्रा पालनका साथै तरकारी खेती, फलफूल खेती र लोकल कुखुरा पालन गरेका छन् । बाख्रालाई घाँसमा आधारित बनाउन करिब २० रोपनी जमिनमा घाँस खेती गरेको उनी बताउँछन् । त्यस्तै करीब ८० रोपनी जमिनमा चरिचरनको व्यवस्था मिलाइएको छ । ‘बाख्रालाई चरण पर्याप्त चाहिँदो रहेछ', उनले भने । ‘समुन्द्रटार कृषि फार्म' जस्तै नुवाकोटमा अहिले करिब डेढ सय बाख्रा फार्म छन् ।

कुनैबेला पत्रकारिता क्षेत्रमै जमेका भवानीशंकर ढुंगेल पनि यतिखेर बाख्रा पालनमा व्यस्त छन् । राजधानीबाट गृहजिल्ला ओखलढुंगा फर्केर ढुंगेलले सहकारीमार्फत बाख्रा पालन सुरु गरेका हुन् । आफ्नै लगानीमा बंगुरपालन पनि गरिरहेका उनले रानीवन कृषि सहकारी संस्थामार्फत बाख्रा पालन सुरु गरेका हुन् ।

पत्रकारिता छोडेर बाख्रापालनमा लागेका नुवाकोटका रामेश्वर धिताल र भवानीशंकर ढुंगेलले कृषि र पशुपालनमै व्यावसायिकता विकास गरिरहेछन् ।

संस्थाले १ सय रोपनी जग्गाभित्र २ सय १० वटा बाख्रा अट्ने आधुनिक खोर निर्माण गर्नुका साथै घाँस खेती गरेको छ । १० लाख सेयर पुँजीबाट सुरु भएको संस्थाले अहिले सेयर वृद्वि गर्दै लगेको पनि छ । भूकम्पका कारण व्यवसाय चौपट भए पनि अहिले तंग्रिन लागेको उनले बताए । सहकारीले सदस्यलाई आवश्यक तालिमसहित पाठापाठी नै दिन्छ । ‘हामीले सदस्यलाई ज्ञान, सीप, प्रविधि र ऋणस्वरूप पाठापाठी नै दिन्छौं', उनले भने, ‘उत्पादित खसीबाख्रा पनि हामी नै खरिद गरिदिन्छौं ।'

सदस्यको आर्थिक हैसियत उठाउनका लागि ऋण नै पाठापाठी दिने गरेको उनले बताए । संस्थाले महिलालाई विशेष प्राथमिकता दिएर आयआर्जनमा अग्रसर गराउँदै आएको छ । संस्थाले पछिल्लो समय बचत तथा ऋणको समेत काम गर्दै आएको छ । रानीवन बाख्रा फार्म हेर्न जाने जोकोहीले एक सय रुपैयाँ शुल्क तिर्नुपर्ने प्रावधान राखिएको छ । संस्थाले फार्म हेर्न जाने सबैलाई बाख्रापालनसम्बन्धी विस्तृत जानकारी पनि दिने गर्छ । फार्ममा बयर, जमुनापारि, सिनाल र खरी जातका बाख्रा छन् ।

 

रानीवन कृषि सहकारीमा दुई सयभन्दा बढी सदस्य छन् । सहकारीका सबै सेयर सदस्यले दुईदेखि २० वटासम्म बाख्रा पालेका छन् । अहिले देशभर आयात प्रतिष्ठापन गर्न वर्षको ३ लाखदेखि ५ लाखसम्म बाख्रा उत्पादन गर्नुपर्छ । तर १५ अर्बभन्दा बढीको मासु आयात भइरहेको छ । संस्थाका कार्यकारी अध्यक्ष ढुंगेलले कृषिकै जगमा टेकेर आत्मनिर्भर हुन सकिने दाबी गरे । उनी भन्छन्, ‘सबैको ध्यान कृषिमा जाने हो भने मासुजन्यमा मात्र होइन, कृषिका हरेक क्षेत्रमा आत्मनिर्भर हुन सकिन्छ ।' संस्थाले बाख्रालाई फल लाग्ने र फूल फुल्ने सबै डाले घाँस तथा भुइँ घाँस खुवाउने गरेको छ । त्यसका लागि आफ्नै जग्गामा बकाइनो, ज्वाइन्ट भेन्चर, बडहर, कुरिलो, टाँकी, कोइरा, स्टाइलो, नेपियरलगायत घाँस खेती गरिएको छ ।

व्यवसाय सुरु गरेको ५ वर्षमा लगानी उठ्नुका साथै प्रतिफल आउने उनी दाबी उनी गर्छन् । ‘बाख्रा पाल्दा धैर्यशील भएर मेहनत गर्नुपर्छ । कम्तीमा दुईतीन वर्ष त केही पनि नहुँदा दुःख मान्नु हुन्न', उनले भने । बाख्रा पाल्न थालेको अहिले तीन वर्ष पुगेको छ । सहकारीले खासगरी २० देखि २५ केजीसम्मका खसीबोका बेच्ने गर्छ । एउटा पाठीलाई हुर्कन आठ महिना लाग्ने भएकाले बाख्रामा अरूमा जस्तो छिटो प्रतिफल नआउने उनी बताउँछन् ।

धिताल र ढुंगेल मात्र होइन, पछिल्लो समयमा बाख्रापालनतर्फ कृषकको आकर्षण बढ्दो क्रममा छ । पछिल्लो समयमा कृषिमा आधुनिक र व्यावसाकियता बढ्न थालेको छ । सानो पुँजीदेखि ठूलो पुँजीसम्म बाख्रापालनमा लागाउने कृषक प्रतिवर्ष बढेका छन् । वैदेशिक रोजगारीबाट फर्केर बाख्रापालनसँगै कृषिका अन्य काममा समेत युवाले लगानी गर्न थालेका छन् । बाख्रापालन व्यवसाय प्रवद्र्धन गर्नका लागि सरकारले पनि लगानी विस्तार गरिरहेको छ । सरकारले केन्द्रीय भेडाबाख्रा प्रवद्र्धन कार्यालयमार्फत विभिन्न कार्यक्रम गरी बाख्रापालन प्रवद्र्वन गर्दै आएको छ । कार्यालयका अनुसार २० वटाभन्दा बढी बाख्रा पालन गर्ने फार्म बढ्दै गएका छन् । २० भन्दा कम बाख्रा पाल्ने कृषक पनि अधिक छन् ।

सरकारले विगत चार वर्षदेखि वैदेशिक रोजगारबाट फर्केका १८ देखि ५० वर्षसम्मका युवालाई लक्षित गरी युवा लक्षित कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमअन्तर्गत कृषकले प्रतिव्यक्ति २ लाखसम्म अनुदानसमेत पाउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.