यसरी बन्नुस् उद्यमी
प्रायः उद्यमीसँग अनेक योजना भएर पनि लगानी गर्ने क्षमता नहुँदा रोकिइरहेका हुन्छन् । तपाईंलाई पनि त्यस्तो भएको हुनसक्छ । तपाईंको योजना र उद्देश्य व्यवस्थित छ भने चिन्ता नगर्नुस् उद्यमी बन्न सकिन्छ । केही टिप्स यस्ता छन्ः
१. जानेको काम सुरु गर्नुस्
थाहै नभएको क्षेत्रमा सुरुमा हात नहाल्नुस् । तपाईंसँग सीप र ज्ञान भएको अनि सकेसम्म आफैंसँग भएको स्रोत उपयोग गर्न सकिने व्यवसाय सुरु गर्नु राम्रो हुन्छ ।
२. सबैलाई भन्नुस्
आफूले के गर्दैछु भनेर परिवार, साथी, व्यावसायिक सम्पर्कका मानिसहरू र सँगै पढेका साथीलाई जानकारी गराउनुहोस् । फोन गर्नुहोस्, इमेल गर्नुहोस् र सामाजिक सञ्जालको उपयोग गर्नुहोस् । तपाईंका साथी र परिवारका सदस्यले तपाईंलाई प्रसार हुन सहयोग गर्नेछन् । यसले तपाईंको व्यवसायलाई सबैसामु परिचित गराउनेछ ।
३. अनावश्यक खर्च नगर्नुहोस्
नयाँ व्यवसाय सुरु गर्दा प्रशस्त खर्च गर्ने बानी हुन्छ । ती खर्चमा धेरैजसोटौती गर्न सकिने खालको हुन्छ । कुन अति आवश्यक हो र कुन होइन भन्ने छुट्ट्याउनुहोस् । जस्तै बिजनेस कार्डकै उदाहरण । तपाईंले महँगो कार्ड बनाउनु जरुरी छैन । सस्तो नै बनाए पनि हुन्छ ।
४. ऋणमा नडुब्नुहोस्
आममानिसहरू लगानी सुरु गर्नासाथ ऋण लिएर भए पनि तडकभडक देखाउँछन् । तर ऋण गरेर कार्यालय सजाउनुभन्दा लगानीको नाफाबाटै सरसामान जोर्दै जानु बुद्धिमानी हुन्छ । जति ऋण कम भयो त्यति तनाव पनि कम हुन्छ ।
५. निःशुल्क विज्ञापनको फाइदा लिनुहोस: तपाईंको व्यवसायको प्रचार गर्ने अनेक उपाय हुनसक्छन् । निःशुल्क विज्ञापन हुने हरेक क्षेत्र उपयोग गर्नुहोस् । सामाजिक सञ्जालको प्रयोग गर्नुहोस् । स्थानीय सञ्चारमाध्यम पनि तपाईंको व्यवसायका सहयोगी बन्न सक्छन् भन्ने नबिर्सनुहोस् ।