अपरिपक्व महाभियोग

अपरिपक्व महाभियोग

पहिलो प्रतिनिधिसभा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विघटन गरेपछि सर्वोच्च अदालतमा 'विघटित प्रतिनिधिसभा पुनस्र्थापित गरिपाऊँ' भनी रिट निवेदन पर्‍यो । त्यसबेला निवदकका तर्फबाट भनिएको थियो 'शिशु लोकतन्त्रमाथि यसरी प्रहार नहोस् । प्रतिनिधिसभाको यस विघटनले अब उप्रान्त लोकतन्त्र प्रधानमन्त्रीको सनकको सिकार हुनेछ ।' नभन्दै त्यस्तै भयो । १९ जना सभासद् लिएर प्रधामन्त्री सूर्यबहादुर थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रयास गरे । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पनि पार्टीसमेत फुटाउँदै त्यही गरे ।

yubaraj-sangraulaपहिलोपटक प्रतिनिधिसभा विघटन गर्ने गिरिजाप्रसादले आफूले गरेको गल्ती शेरबहादुर देउवाले विघटन गरेको प्रतिनिधिसभा आन्दोलनद्वारा पुनस्र्थापित गरी जंगलबाट माओवादीलाई सहर ल्याउने आधार निर्माण गर्नुपर्‍यो । लोकतन्त्र भने विनाश भयो । आज देश विकासहीन छ । गरिबहरू झन्झन् गरिब भएका छन् । युवाहरू अरबमा रगत सुकाइरहेका छन् । भ्रष्टाचारले देश धमिराले चपाएको मुँडोजस्तो भएको छ । बौद्धिकता पलायन भएको छ । यसको सूत्रपात पहिलो प्रतिनिधिसभाको विनाश नै हो ।

अहिले दुई शताब्दीको निरन्तर राजनीतिक अस्थिरता, आर्थिक विपत्ति र विकासका अवसरको बर्बादीपछि नेपाली जनताले आफैं बनाएको संविधान कार्यान्वयन गर्ने मुर्हुतमा हामी खडा भएका छौं । जनताले आफ्नो विकासको जग खडा गर्ने समय आएको छ । जनताले विकासका गतिविधिमा आफूलाई सहभागी बनाउने मञ्च निर्माण गर्ने स्थानीय निर्वाचनको अधिकार प्रयोग गर्ने अवसर प्राप्त भएको छ । अब भविष्यमा अन्य निर्वाचन सम्पन्न हुनुपर्छ । यस्तो अवस्थामा 'न्यायपालिकाले संविधानको रक्षा गर्नुपर्छ ।' तर न्यायपालिकामा बेमौसमको महाभियोगको खेल सुरु भएको छ । कानुनशास्त्रीय दृष्टिकोणबाट यो महाभियोग विवादास्पद बनेको छ ।

शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम 'महाभियोग' अदालतलाई अराजक बन्न, भ्रष्ट बन्न र अन्यायी बन्नबाट रोक्ने 'शक्ति सन्तुलन' को भरपर्दो उपाय हो । यसको प्रयोग व्यवस्थापिकाले गर्छ । महाभियोगको शक्ति प्रयोग गर्ने अख्तियार 'व्यवस्थापिका' को विशेषाधिकार हो । कुनै पनि गैरजिम्मेवार प्रधानन्यायाधीश वा न्यायाधीशमाथि यो प्रयोग हुन सक्छ । त्यसैले व्यक्ति महत्वपूर्ण होइन । फिलिपिन्समा प्रधानन्यायाधीश कोरोनामाथि त्यहाँको प्रतिनिधिसभाले महाभियोगको कारबाही गरेको थियो । तर प्रारम्भमा नै केही महत्वपूर्ण कानुनी सिद्धान्तप्रति प्रतिनिधिसभाले आफ्नो प्रतिबद्धता जाहेर गरेको थियो । (१) महाभियोग संसद्को विशेषाधिकार हो ।

न्यायपालिकालाई 'बलिको बाख्रा' बनाई सरकारले व्यवस्थापिकाद्वारा आफ्नो उद्देश्य पूरा गर्ने प्रक्रियामा आधारित रहेको 'महाभियोगले नेपालका राजनीतिक नेता र वकिललाई भविष्यमा खतराको घन्टी बजाइरहेको' छ ।

कार्यपालिकाको कुनै संलग्नता यसमा हुँदैन । त्यसैले फिलिपिन्समा कोरोनाको महाभियोगको आरोपमा संसद्ले आफ्नो कार्यविधिमा कार्यपालिकाको प्रभाव पर्न दिएन । तर नेपालमा महाभियोग कार्यपालिकाबाट प्रस्ट रूपमा प्रभावित भएको छ । प्रधानमन्त्रीका दूतले प्रधानन्यायाधीशलाई भेट्न खोज्नु, प्रधानमन्त्रीले महाभियोगका सम्बन्धमा आफ्ना मतहरू जाहेर गर्नु र विपक्षी दलका प्रमुखहरूसँग महाभियोगका बारेमा छलफल हुनुबाट महाभियोग कार्यपालिकाबाट प्रभावित भइरहेको प्रस्ट देख्न सकिन्छ । त्यसैले महाभियोगमा व्यवस्थापिका कार्यपालिकाबाट प्रभावित भएको छ भनी दाबी गर्न सकिन्छ । (२) कोरोनाको महाभियोगमा प्रधानन्यायाधीशलाई व्यवस्थापिकाले प्रतिरक्षाको पूर्ण अधिकार प्रत्याभूत गरेको थियो र कारबाहीको क्रममा प्रधानन्यायाधीशलाई उनको सम्पूर्ण सम्मान र सुविधाबाट वञ्चित गरिएको थिएन । उनलाई 'सम्माननीय प्रधानन्यायाधीश' भनी सम्बोधन गरिएको थियो । यी दुइटा सिद्धान्तको उल्लंघन नेपालमा भएको छ । अतः कार्यविधिगत एवं सारभूत दुवै त्रुटि भएका छन् ।

महाभियोगको कारबाहीको आधारभूत सिद्धान्त के हो भने 'व्यक्तिलाई मात्रै नोक्सानी हुने गरी महाभियोगको कारबाही हुनुपर्छ, संस्थालाई नोक्सानी हुन सक्दैैन÷हुनुहुँदैन ।' नेपालमा न्यायपालिकामाथि नै नोक्सानी पुर्‍याइयो । कारबाहीमा परेका प्रधानन्यायाधीशले नागरिक समाज र आम जनताको सहानुभूति प्राप्त गरेको अवस्था छ । तर न्यायपालिकाको 'मर्यादामाथि' गम्भीर आघात परेको छ । यस तथ्यलाई कार्यपालिकाको प्रत्यक्षतः संलग्नताले पुष्टि गरेका छन् । माथि नै भनिएको छ, महाभियोग संसद्को सरोकारको विषय हो । शक्ति पृथकीकरणको व्यवस्थामा प्रधानन्यायाधीशबाट हस्तक्षेप भई कार्यपालिकालाई असर परेको थियो भने सरकारको तर्फबाट 'प्रतिवेदन' संसद्मा जाहेर हुनुपर्ने थियो । सरकारको दाबीमा सभासद्हरू 'कन्भिन्स्ड' भई प्रधानन्यायाधीशको विरुद्धमा महाभियोगको प्रस्ताव प्रस्तुत हुनुपर्ने थियो, तर त्यसो भएन । अर्को प्रयोजनको लागि संकलन गरिएको हस्ताक्षर प्रयोग गरी 'महाभियोग' को प्रस्ताव संसद्मा पेश गरियो । यो गैरसंवैधानिक कार्य हुनुपूर्व 'सरकारको तर्फबाट प्रधानन्यायाधीशको कुनै पनि गैरसंवैधानिक कार्यको बारेमा' संसद्लाई सरकारले जानकारी गराएन।

अझ रोचक कुरा महाभियोगको प्रस्तावको प्रतिरक्षा गर्ने कार्य व्यवस्थापिकाका सदस्यहरूको थियो । त्यसविपरीत सरकारले महाभियोगको प्रतिरक्षा गर्‍यो । यसबाट 'महाभियोग' को सन्दर्भ पूर्णतः कार्यपालिकाबाट प्रभावित हुन पुगेको देखियो । स्थापित सिद्धान्त के हो भने 'महाभियोगको प्रश्नमा' कार्यपालिका कुनै पनि रूपमा संलग्न हुन सक्दैन । यस गैरसंवैधानिक प्रक्रियाबाट 'न्यायिक स्वतन्त्रतामाथि हस्तक्षेप हुन पुग्यो ।' सभासद्हरूको हस्ताक्षर रुजु नै नगरीकन 'प्रधानन्यायाधीश' निलम्बित हुनुपर्ने अवस्था सिर्जना भयो । हस्ताक्षर गर्ने भनिएका सदस्यहरूले हस्ताक्षर आफ्नो नभएको व्यहोरा बाहिर उल्लेख गरिरहेका छन् । यसरी अपरिपक्व, हस्तक्षेपपूर्ण एवं सतही प्रस्तावबाट प्रधानन्यायाधीशमाथि महाभियोग लगाउँदा न्यायिक स्वतन्त्रता कुण्ठित हुन गएको कानुनशास्त्रीय दृष्टिकोणबाट देखिन्छ । यसका विविध असरहरू न्यायपालिकाको स्वतन्त्रता र संविधानमाथि परेका छन् ।

(१) न्यायिक स्वतन्त्रता भनेको 'नागरिक स्वतन्त्रता' को दार्शनिक स्वरूप र आधार हो । अदालतको स्वतन्त्रता हनन भयो भने नागरिक स्वतन्त्रता कुण्ठित हुन जान्छ । यस किसिमका अपरिपक्व, गैरसंवैधानिक एवं पूर्वाग्रहपूर्ण प्रस्तावले न्यायाधीशहरूको 'राज्यविरुद्धका मुद्दा निर्णय गर्न सक्ने क्षमतामा ह्रास आउँछ ।' न्यायिक मन र न्यायिक दृढता भत्किन जान्छ । यसरी अदालतहरू कार्यपालिकाको नियन्त्रणमा आइपुग्छन् । (२) यस किसिमका अपरिपक्व, गैरसंवैधानिक महाभियोगको कारबाहीले राज्यका पदाधिकारी तथा राजनीतिक प्रतिनिधिहरूमा भ्रष्टाचारप्रतिको दुरुत्साहन वा डर समाप्त हुन्छ । राजनीतिक दलहरू अनैतिक र अपराधीकरणको प्रभावमा आउने खतरा सिर्जना हुन्छ भने कर्मचारीतन्त्र भ्रष्ट र अनुशासनहीन हुन जान्छ । (३) यस किसिमका अपरिपक्व र गैरसंवैधानिक प्रस्तावले नागरिक समाज विभाजित हुन्छ । खासगरी न्यायको स्वच्छता प्रवद्र्धन गर्ने कानुन व्यवसायमा दलाली गर्ने खराब मानिसहरूको बोलवाला हुन्छ र कर्तव्यनिष्ठ कानुन-व्यवसायीहरू पछाडि धकेलिन्छन् । (४) यस्तो अपरिपक्व तथा गैरसंवैधानिक प्रस्तावले 'न्यायाधीशहरूमा नेताहरूको चाकरी गर्ने प्रवृत्तिको विकास हुन्छ र न्यायपालिकाले कार्यपालिकालाई निरंकुश बन्न प्रेरित गर्छ ।'

महाभियोग सजिलो र सहज उपाय होइन । यसलाई 'पाकेको आँप चुसेजस्तो' गरी प्रयोग गरियो भने सबैभन्दा ठूलो घात स्वयं लोकतन्त्रलाई नै हुन्छ । यसको प्रयोग मात्रै गर्नु पनि न्यायपालिकामाथि जनताको अविश्वास प्रवद्र्धन गर्नु हो भन्न सकिन्छ । अतः खराब न्यायाधीशमाथि बाध्यात्मक अवस्थामा महाभियोग प्रयोग गर्दासमेत न्यायपालिकालाई केही न केही त नकारात्मक असर पार्छ नै । त्यसैले महाभियोगको प्रयोग खतरारहित हुँदैन । त्यसैकारण नकारात्मक प्रभावबाट न्यायपालिकालाई जोगाउन (१) प्रस्तावको खुला छलफल गरिन्छ, (२) आरोपहरू प्रमाणसहित प्रस्तुत गरिन्छन्, (३) प्रमाणहरूको औचित्यता पुष्टि गरिन्छ र (४) अभियोग लगाइएको न्यायाधीशलाई आफ्नो प्रतिरक्षा गर्ने पूर्ण अवसर प्रदान गरिन्छ ।

सुनुवाइको व्यवस्था खुला र पारदर्शी गरिनुपर्छ । आरोपित व्यक्ति र आरोप लगाउनेका प्रमाणहरूको मूल्यांकन आम सर्वसाधारणले गर्न पाउनुपर्छ र राजनीतिकर्मीले त्रुटि गरेको भए उनीहरूले जनताप्रति उत्तरदायी हुनुपर्छ । आरोपित व्यक्ति खराब रहेछ भने उसलाई महाभियोगबाट बर्खास्त गरिन्छ । यसो गर्दा मात्रै न्यायपालिकाको स्वतन्त्रताको संरक्षण गर्न सकिन्छ । अर्थात् संस्थालाई जोगाई व्यक्तिलाई कारबाही गर्न सकिन्छ, अन्यथा महाभियोग राजनीतिक खेल सम्पन्न गर्ने अभीष्ट पूरा गर्ने हतियार बन्न पुग्छ ।

सन् १९७० को दसकमा मलेसियाका प्रधानन्यायाधीशमाथि हचुवा महाभियोग लगाइयो । त्यो समय मलेसिया लोकतन्त्रको नाममा निरंकुशतातर्फ अगाडि बढ्न थालेको थियो । महाथिर मोहम्मद प्रधानमन्त्री भए । उनले आफ्नै अर्थ तथा उपप्रधानमन्त्रीको प्रख्याति आफ्नो लागि चुनौती भएको अनुभूति गरे । उनलाई 'अप्राकृतिक यौन' मा संलग्न भएको आरोप लगाइयो । न्यायपालिका सरकारको नियन्त्रणमा आइसकेको थियो । ती उपप्रधानमन्त्रीलाई १२ वर्ष कारागार हालियो । जब न्यायपालिका कमजोर हुन्छ, व्यक्तिहरू पनि कमजोर हुन्छन् र नेता पनि कमजोर हुन्छन् ।

२०१३ सालमा श्रीलंकामा सिरानी भण्डारानाएके (प्रधानन्यायाधीश) माथि महाभियोग लगाइयो । त्यहाँको नागरिक समाजले संघर्ष गर्‍यो । त्यहाँको बारले लड्यो । अन्ततः उनलाई पुनस्र्थापित गरियो । राजापाक्षेले मूल्य चुकाए । यद्यपि संसारभरि श्रीलंकन न्यायपालिकाको बद्नाम भयो । नेपालमाथि निरन्तर मानवअधिकार उल्लंघनको आरोप लागिरहेका छन् । महाभियोगको यस अपरिपक्व प्रक्रियाले नेपालको झनै बद्नाम भएको छ । अतः सुशीला कार्कीले कानुन र संविधानविपरीत कार्य गरेको छ भनिन्, 'महाभियोग लगाउनुहोस् ।' तर व्यवस्थापिकाले प्रमाणसहित सञ्चालित हुनुपर्‍यो । कार्यपालिकाबाट प्रभावित भएको छैन भनी देखाउनुपर्‍यो । प्रक्रियालाई पारदर्शी ढंगबाट सञ्चालन गर्नुपर्‍यो ।

न्यायपालिकालाई 'बलिको बाख्रा' बनाई सरकारले व्यवस्थापिकाद्वारा आफ्नो उद्देश्य पूरा गर्ने प्रक्रियामा आधारित रहेको 'महाभियोगले नेपालका राजनीतिक नेता र वकिललाई भविष्यमा खतराको घन्टी बजाइरहेको' छ । नेपाल बारलगायत जोसुकैलाई लाग्न सक्छ, सुशीला कार्कीले कमजोरी गरेकै हो । तर 'कार्यविधिगत न्याय' को परिकल्पनाको लागि लड्नु न्यायिक स्वतन्त्रता जोगाउनु हो । भोलि अरू न्यायाधीशमाथि महाभियोगलाई झुन्डिएको तरबार नबनाउन र सरकार र राजनीतिक दलको भक्ति गर्ने न्यायाधीशको उत्पादन हुने सम्भावना रोक्ने संघर्ष गरौं । कोही मर्नु ठूलो विषय होइन, काल पल्किने खतरालाई हेरौं ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.