बोको हरामद्वारा अपहृत ८२ बालिका मुक्त
लागोस : इस्लामिक उग्रवादी समूह बोको हरामद्वारा अपहृत नाइजेरियाको एक विद्यालयका ८२ बालिकालाई अपहरणमुक्त गरिएको छ । सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २ सय ७० विद्यार्थीमध्ये ८२ जना अपहरणमुक्त भएका हुन् ।
नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिका बीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । ‘हो, उनीहरू अपहरणमुक्त भएका हुन् । बोर्नो राज्यको बान्की सहरमा पुग्नका लागि उनीहरू अबुजाबाट हवाईजहाजमा गएका छन्', एक अधिकारीले भने । बोको हरामको अपहरणमा परेका बालिकालाई छुटाउनका लागि राष्ट्रपति मुहामदु बुहारीको प्रशासनले स्थानीय र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको सहयोगमा लामो समयदेखि वार्ता गरिरहेको थियो ।
रातको समय पारेर गरिएको उक्त अपहरणको अन्तर्राष्ट्रिय क्षेत्रबाट आलोचना भएको थियो । राष्ट्रपति बुहारीले सरकारले निरन्तर वार्ता गरिरहेको र अपहरण गरिएका बालिकालाई सुरक्षितरूपमा रिहा गराइ छाड्ने अघिल्लो महिना बताका थिए । उनले अरू बालिकाका बारेमा पनि आशा नमार्न उनीहरूका बाबुआमालाई आग्रह गरेका छन् ।
सन् २०१६ को अक्टोबरमा पनि २१ जना बालिकालाई अपहरणमुक्त गराइएको थियो । सन् २००९ बाट बोको हरामले नाइजेरियामा द्वन्द्व सुरु गरेदेखि अहिलेसम्म करिब २० हजारभन्दा बढी मारिएका छन् भने लाखौँ मानिस विस्थापित भएका छन् । अपहरण गरिएका अधिकांश बालिका इसाई धर्मावलम्बी थिए । उनीहरूलाई इस्लाम धर्मावलम्बी बन्न र बोको हरामका सदस्यसँग बिहे गर्न दबाब दिइएको थियो । —रासस÷सिन्ह्वा