मधेस र निर्वाचन

मधेस र निर्वाचन

संसद्को दसदिने स्थगन र प्रधानन्यायाधीश सुशीला कार्कीद्वारा अवकाशपूर्व बिदामा प्रस्थान गरेपछि संवैधानिक अंगहरूबीचको यसपटकको 'युद्ध' ले बिराम पाएको देखिन्छ, कम से कम पहिलो चरणको स्थानीय तह निर्वाचनसम्मको लागि । यो संकटको जरोमा रहेका विषय र आचरणलाई सम्बन्धित पक्षहरूले सम्बोधन नगरेमा भोलि महाभियोगसँगै न्यायपालिकाको सर्वोच्चताको गलत व्याख्या र प्रयोगद्वारा संसद् तथा न्यायपालिका दुवै निष्प्राण हुन सक्छन्।

तर के यो युद्ध वि श्रामपछि स्थानीय निर्वाचनमा सबै पक्षको सहमति र सहभागितासँगै नतिजाको स्वीकार्यताको सम्भावना बढेको छ त ? निर्वाचन बहिष्कारको राजनीति अगाडि बढाइरहेको संघीय समाजवादी गठबन्धनमा चिरा परेको छ । उपेन्द्र यादव त्यसबाट निस्किएर नयाँ शक्ति नेपालसँग गठबन्धन गरी चुनावमा सहभागी हुन लागेका छन् । यता संयुक्त प्रजातान्त्रिक मधेसी मोर्चा निर्वाचनको दोस्रो चरणको लागि छुट्ट्याइएका क्षेत्रहरूमा सहभागी हुन उसले केही सर्त राखेको छ, जुन सम्भवतः पूरा हुने सम्भावना देखिँदैन । नेपाली राजनीतिको हचुवा र जमिनदारीकरणमा मोर्चाको त्यत्ति नै भूमिका छ, जति ठूला दलहरू अर्थात् नेपाली कांग्रेस, माओवादी र एमालेको छ।

विभिन्न शक्ति र समूहका मागलाई व्यापक राष्ट्रिय धारामा समाहित गरी सबैले समान नागरिक भएको अनुभूति गर्दा नै राष्ट्र र राष्ट्रियता बलियो हुन्छ । तर त्यो प्रक्रियामा राष्ट्रविरोधी गतिविधि र आम जनतालाई सताउने कार्यशैली अपनाएका ती शक्तिहरूको सम्मान र स्वीकार्यता कमजोर हुन जान्छ । संयुक्त मोर्चाले भूकम्पपछिको नाकाबन्दीमा 'प्यादा' बनेर मुलुकभरि र खासगरी तराईमा सामान्य जनताको सम्मान र समर्थन गुमाएका छन् । नाकाबन्दीले मोर्चालाई मात्र हैन, भारतलाई पनि आउँदा कैयन् वर्षको लागि नेपालमा अलोकप्रिय र अविश्वसनीय बनाएको छ।

 

मोर्चाका नेता महन्थ ठाकुरले मधेस, पहाड र हिमाललाई एक सूत्रमा बाँध्ने राजनीति आफूले गर्ने स्वागतयोग्य अभिव्यक्ति अन्नपूर्ण पोस्ट् दैनिकसँगको अन्तर्वार्तामार्फत गरेका छ्न । तर यस्ता मन्तव्यलाई उनीहरूका अतीतका गतिविधिसँग जोडेर हेर्नेछन् जनताले र बोली हैन, कामबाट प्रमाण खोज्नेछन् ।
नेपालमा अहिलेसम्म पनि संघीयताको स्वीकार्यता स्थापित नहुनुको पछाडि दुइटा मुख्य कारण छन् : पहिलो गिरिजाप्रसाद कोइरालाले महन्थ ठाकुर र उपेन्द्र यादवसँगको सहमतिपत्रमार्फत पूरा नेपालको प्रशासनिक व्यवस्था लाद्ने प्रयास गरे।

दोस्रो त्यसबारे दुइटा संविधानसभा र जनस्तरमा कुनै बहस र प्रक्रियासम्मत निर्णय नै लिइएन । हिमाल, पहाड र तराईका जनताबाट त्यसको अनुमोदन खोज्ने प्रयास ठाकुरले गरेको भए उनको राष्ट्रिय हैसियत मात्र स्थापित हुने थिएन, उनले क्षेत्रीयता र संकीर्णताको राजनीति गरेको अनि आफ्ना मागको लागि बाह्य नाकाबन्दीमार्फत नेपाली जनतालाई संकटमा पारेको आरोप पनि खेप्नुपर्ने थिएन।

तर प्रजातन्त्र र कुनै पनि व्यवस्थामा द्वन्द्व समाधानको स्वीकार्य र प्रभावकारी माध्यम वार्ता नै हो । यसबीचमा वार्ता सफल भएमा निर्वाचन स्वीकार्य ढंगले अघि बढ्न सक्नेछ । तर ठाकुरले समग्र मधेस र त्यहाँका सबै जनताको प्रतिनिधित्व मोर्चाले गर्छ भन्ने दाबी छोड्न पनि आवश्यक छ, सहमति सुनिश्चित गर्न।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.