मेयर उम्मेदवार 'पढालेखा'

मेयर उम्मेदवार 'पढालेखा'

काठमाडौं: स्थानीय चुनाव नजिकिँदै जाँदा नेतृत्वदायी पदका उम्मेदवारको शैक्षिक योग्यतासम्बन्धमा मतदाताले चासो राख्न थालेका छन्। राजनीतिमा युवापुस्ता हावी भइरहेका बेला मेयर पदका उम्मेदवारको शैक्षिक योग्यता मतदाताको चासोको विषय बनेको छ।

शैक्षिक योग्यताको हिसाबले काठमाडौंको मेयरमा उम्मेदवारी दिएका ६ जनामध्ये सबैभन्दा बढी अध्ययनशील व्यक्तिका रूपमा चिनिनुहुन्छ साझा पार्टीका किशोर थापा। निजामती सेवामा दुई दशकभन्दा बढी सेवा गरिसक्नुभएका पूर्वसचिव थापा २०३१ सालको एसएलसी परीक्षाका सर्वोत्कृष्ट विद्यार्थी पनि हुनुहुन्छ।

एसएलसीपछि इन्जिनियरिङ अध्ययन गर्नुभएका थापा अनुभवी र सफल आर्किटेक्ट इन्जिनियरका रूपमा चिनिनुहुन्छ। उहाँले अर्बान प्लानिङमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ। मेयर पदमा विजयी भए काठमाडौंलाई दक्षिण एसियाकै उत्कृष्ट सहर बनाउने प्रतिबद्धता थापाको छ।

एमालेका विद्यासुन्दर शाक्यले त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो। काठमाडौंको पुरानो नेवार बस्ती मानिने लगन टोलमा जन्मिनुभएका शाक्यले शंकरदेव क्याम्पसबाट बीबीएसको अध्ययन पूरा गर्नुभएको छ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएका उहाँ त्यसपछि औपचारिक शिक्षामा बिट मार्दै राजनीतिमा लाग्नुभएको हो। आफ्नो स्कुलबाट विद्यालय शिक्षा पूरा गरेको व्यक्ति काठमाडौंको मेयर पदमा उम्मेदवार हुँदा गर्व लागेको विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताउनुभयो।

 

राजनीतिक अनुभव र अध्ययनभन्दा पनि २१ वर्षको उमेरमै मेयरको उम्मेदवार भएकाले विवेकशील पार्टीकी रञ्जु दर्शना पनि चर्चाको शिखरमा हुनुहुन्छ। महाराजगन्जकी स्थायी बासिन्दा दर्शनाले पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो।

दर्शनाले महाराजगन्ज चक्रपथस्थित हेराल्ड कलेजबाट मानविकीमा दस जोड दुईको अध्ययन पूरा गरेको उहाँका स्वकीय सचिव उपेन्द्र अधिकारीले बताउनुभयो। उहाँ अहिले बालुवाटारको नेसनल कलेजमा डेभलप्मेन्ट स्टडिजमा स्नातक अध्ययनरत हुनुहुन्छ।

कांग्रेसका तर्फबाट मेयर पदको उम्मेदवार रहनुभएका राजुराज जोशीले त्रिभुवन विश्वविद्यालयबाट एमबीएको अध्ययन पूरा गर्नुभएको छ। महानगरपालिका वडा नम्बर १९ का स्थायी बासिन्दा जोशीको विद्यालय शिक्षा हाल कीर्तिपुरमा रहेको ल्याबोरेटरी स्कुलबाट सुरु भएको हो।

त्यसपछि मरुहिटीस्थित शान्ति निकुञ्ज स्कुलबाट २०३३ सालमा एसएलसी उत्तीर्ण गरेर आईकम पढ्न २०३४ सालमा धोबीचौरको पब्लिक युथ क्याम्पस भर्ना हुनुभयो। शंकरदेव क्याम्पसबाट बीकम उत्तीर्ण गर्नुभयो। त्यसपछि केन्द्रीय क्याम्पस कीर्तिपुरबाट एमबीए अध्ययन पूरा गरेको जोशीले बताउनुभयो।

माओवादी केन्द्रका तर्फबाट मेयर पदको उम्मेदवारी दिएका सर्वोत्तम डंगोल ताहाचलका स्थायी बासिन्दा हुनुहुन्छ। डंगोल पनि अध्ययनमा तीक्ष्ण नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँले मरुहिटीस्थित शान्ति निकुञ्ज स्कुलबाट २०२६ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो।

एसएलसीपछि उहाँले स्वयम्भूको आनन्दकुटी साइन्स कलेजबाट आईएस्सी उत्तीर्ण गर्नुभयो। उहाँले त्रिचन्द्र कलेजबाट बीएस्सी तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ।

उहाँले नालामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयमा दुई वर्ष विज्ञान र गणित विषय पढाउनुभएको थियो। ठैबस्थित फुल्चोकी स्कुलमा प्रधानाध्यापक रहेकै अवस्थामा प्रहरीले गिरफ्तार गरेर ८४ दिन बेपत्ता पारेपछि पूर्ण रूपमा राजनीतिमा लागेको डंगोलले बताउनुभयो।

नयाँ शक्ति पार्टीका तर्फबाट मेयरमा उम्मेदवारी दिएका पवित्रमान बज्राचार्यले पनि व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ। मरुहिटीको शान्ति निकुञ्ज स्कुलबाट विद्यालय शिक्षाको पढाइ सुरु गर्नुभएका बज्राचार्यले नेपाल आदर्श स्कुलबाट २०३० सालमा एसएलसी उत्तीर्ण गर्नुभएको हो।

उहाँले सरस्वती क्याम्पसबाट आईकम तथा शंकरदेव क्याम्पसबाट बीकम र एमबीए उत्तीर्ण गर्नुभयो। एमबीए अध्ययनकै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २३ को अध्यक्षमा विजयी भएपछि बज्राचार्यले सक्रिय राजनीति सुरु गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.