रणनीति बनाउन प्रधानमन्त्रीसँग भेट्ने गठबन्धनको निर्णय
काठमाडौ : महन्थ ठाकुर नेतृत्वको संघीयगठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलवार गम्भीर वार्ता गरेर मात्रै आगामी रणनीति बनाउने भएको छ । गठबन्धनको सोमबार अपरान्ह बसेको बैठकले प्रधानमन्त्री प्रचण्डसँग भेटेर छलफल गरेपछि मात्रै आगामी रणनीति बनाउने निर्णय गरेको हो ।
‘प्रधानमन्त्रीको कस्तो जवाफ आउँछ,त्यसका आधारमा छलफल गरी आगामी रणनीति बनाउनेछौ’बैठकमा सहभागी गठबन्धनका नेता केशव झाले अन्नपूर्णसँग भन्नुभयो ।
बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचन भन्दा अगाडि संविधान संशोधन गराउने आश्वसन दिनु भएका प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदको बैठक जेठ ४ गतेसम्म स्थगित गर्न लगाएर आफूहरुलाई धोका दिएको भन्दै गठबन्धनले आगामी रणनीति बनाउन लागेको हो।
बैठकमा प्रधानमन्त्री प्रचण्डले भद्र सहमति तोडेर संसदको बैठक जेठ ४ गतेसम्म स्थगित गर्न लगाएपछि धोका दिएको धारणा नेताहरुले व्यक्त गर्नु भएको थियो । संविधान संशोधन नगरिए दोस्रो चरणको निर्वाचनमा पनि भाग लिन नहुने धारणा बैठकमा नेताहरुले व्यक्त गर्नु भएको छ । संघीय गठबन्धनका संयोजक रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको निर्वाचनमा सहभागी हुने निर्णयगरेछि उहाँबाट पनि धोका भएको ठहर राष्ट्रिय जनता पार्टीले गरेको छ ।
‘उहाँ आत्मालोचना गरेर आउनु भएन भने उहाँ अव गठबन्धनमा रहनुहुन्न । उहाँबाट पनि हामीलाई धोका भयो’ झाले भन्नुभयो ‘संघीय गठबन्धनको निर्णय विपरित उहाँहरु चुनावमा सहभागी भएपछि उहाँ अव हामीसँग रहनुहुन्न ।’