समलिंगी विवाहलाई मान्यता दिन चलचित्र प्रदर्शनी
राजविराज: राजविराजमा सोमबार 'म हैन म' चलचित्रको प्रदर्शनपछि समिलिंगी विवाहबारे बहस सुरु भएको छ। समलिंगी विवाहलाई मान्यता दिनुपर्ने सन्देशसहितको नब्बे मिनेटको चलचित्र 'म हैन म' को प्रदर्शनपछि यस्तो बहस सुरु भएको हो।
चलचित्रले समलिंगी व्यवहार भएका व्यक्तिलाई जबरजस्ती वा झुक्याएर विपरीत लिंगी व्यक्तिसँग विवाह गरिदिदाँ दुवैको जीवन वर्वाद भइरहेको सन्देश दिएको छ। समलिंगी विवाहलाई कानुनी मान्यता नदिदा लुकेर सम्बन्ध राख्नुपर्ने बाध्यता रहेको बताउँदै यहाँका तेस्रो लिङ्गीहरुले कानुनी र सामाजिक मान्यताका लागि सबैसँग सहयोगको आग्रह गरे।
सहयोगी समाज सप्तरीका अध्यक्ष उमेशकुमार चौधरीले आफ्नो परिवार, समाजमा समलिङी व्यक्ति पाउनु भएमा माया गरिदिन र भावनाको कदर गर्न आग्रह गर्नुभयो। समाजका परियोजना अधिकृत देवनारायण चौधरीले चलचित्रमा झै समलिंगीहरुले दुख नपाउन भनेर बृतचित्र देखाएको बताउनुभयो। समाज र परिवारको डरले धेरै समलिंगीहरु खुलेर आएका छैनन्, चौधरीले भन्नुभयो- 'कानुनी र सामाजिक मान्यताका लागि धेरै सघर्ष गर्न बाँकी छ।'
महिला तथा बालबालिका कार्यालयकी अधिकृत भावना घिमिरेले चलचित्रलाई गाउँसमाजमा समुदायका व्यक्तिलाई देखाउन सके चेतना बृद्धिका साथै अझै राम्रो सन्देश जाने बताउनुभयो। समाजका उपाध्यक्ष दुर्गानन्द स्वर्णकारले समलिंगी विवाहलाई कानुनी मान्यता नदिदा आफ्नो सम्बन्धलाई लुकाउनु पर्ने बाध्यता भएको जनाउनुभयो।
सप्तरीका क्रियाशील पत्रकारहरुले आफूहरु सकारात्मक रहेकोले समलिंगी तेस्रोलिंगीका सवालहरुलाई कलम चलाएर अगाडी बढाउन तयार रहेको प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा सहभागीहरुले गाउँ-गाउँबाट समलिंगी तेस्रोलिंगी समुदायका बारेमा प्रचार प्रसार गराउन चलचित्र उपयुक्त माध्यम हुने बताउनुभयो। उहाँहरुले हरेक गाउँमा 'म हैन म' चलचित्रको प्रदर्शन उपयुक्त रहने सुझाव समेत दिनुभयो।सहभागीहरुले समलिंगी विवाह चासोको र धेरै हदसम्म समर्थनको विषय बनेको बताउनुभयो।
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवमा प्रर्दशन गरिएको समलिंगी सम्बन्धबारे नील हिरा समाजले बनाएको 'म हैन म' कथानक चलचित्रका निर्देशक इलम दिक्षित हुन्।