कोरियाको रणनीतिक चक्रव्युह
सैनिक अधिकारीहरूलाई उद्धृत गर्दै अघिल्लो सोमबार दक्षिण कोरियाका लडाकु विमानहरूको सुरक्षा घेरामा अमेरिकी बमवर्षक विमानहरूले कोरियाली प्रायद्वीपमा उडान भरेको जानकारी मे २ मा अमेरिकी पत्रिका नेसनल इन्ट्रेस्टले दियो ।अमेरिकाको पश्चिम प्रशान्त टापु गुवामको हवाई अड्डाबाट उडेका आणविक ऊर्जाचालित अमेरिकी पनडुब्बी दक्षिण कोरियाको बुसान बन्दरगाहमा र कार्ल भिन्सन युद्धपोत पनि कोरियाली जलक्षेत्रमा आइपुगेको जानकारी पनि रियाल पिक्रेलले नेसनल इन्ट्रेस्टको पूर्वोक्त पत्रिकामा दिएका छन् । शत्रुपक्षबाट हुने कुनै प्रहारलाई बीचैमा रोक्ने पूर्व प्रहार प्रणालीसहितको प्रतिरक्षा प्रणाली पनि दक्षिण कोरियामा स्थापना भइसकेको जानकारी अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले दिएका छन् ।
उत्तर कोरियाले अमेरिकी पनडुब्बी र युद्धपोत दुवै डुबाइदिने चेतावनी दिइरहेको छ । अमेरिकाले उत्तर कोरियामाथि आणविक आक्रमण गर्ने तयारी गरिरहेकोबारे उत्तर कोरियाली समाचार माध्यमहरूले उल्लेख गरिरहेको पनि अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले लेखिरहेका छन् ।अमेरिकी समाचार पत्रिका अमेरिकन इन्ट्रेस्टअनुसार २०१७ मा मात्रै उत्तर कोरियाले नौवटा क्षेप्यास्त्रहरू परीक्षण गरेको छ । उत्तर कोरियाको सरकारी समाचार पत्र रोदोङ सिन्मुनलाई उद्धृत गर्दै न्युजविकका टिम मार्सिनले गएको मे २ मा उल्लेख गरेअनुसार उत्तर कोरियाले अमेरिकाको विशाल भूभागमा जताततै विनाश मच्चाइदिने, दक्षिण कोरियालाई समुद्रमा डुबाइदिने र जापानलाई खरानीको थुप्रोमा परिणत गरिदिने चेतावनी दिएको छ ।
अमेरिकाको भूमिमा नै क्षेप्यास्त्र प्रहार गर्ने उत्तर कोरियाको सामरिक क्षमताबारे निश्चित भन्न सकिन्न, तर भोकै बसेर पनि अमेरिकामाथि आक्रमण गर्न सक्ने अन्तरमहाद्वीपीय क्षेप्यास्त्र प्रहार क्षमता आर्जन गरेरै छोड्ने संकल्पपछि उसको आक्रामक क्षमतामा व्यापक प्रगति भएको विज्ञहरूले बताउने गरेका छन् । जापान र कोरियामाथि त सजिलै कहर बर्साउने उसको क्षमता छँदैछ ।अमेरिकी राष्ट्रपति ट्रम्पले हालै ब्लुमबर्ग पत्रिकासँग कुरा गर्दै आफू संकट समाधानको लागि उत्तर कोरियाली राष्ट्रपति किमसँग भेटवार्ताका लागिसमेत तयार भएको बताएका छन् ।
कूटनीतिक तहबाट समस्या समाधानका व्यापक प्रयास भइरहेको भए पनि त्यो जटिल र कठिन भएको ट्रम्पको भनाइ छ । उनले उत्तर कोरिया र अमेरिकाबीच एउटा ठूलो युद्धको सम्भावना टार्नै नसकिने विन्दुमा पुगेको उल्लेख गरेका छन् ।साथै मे २ मा उत्तर कोरियाको आणविक र अन्य क्षेप्यास्त्र तथा आम संहारकारी हतियार केन्द्रहरूमा प्रहार गर्न अमेरिकाको स्पेसल अपरेसन फोर्स तम्तयार भएकोबारे जनरल रेमन्ड ए. थोमसले अमेरिकी कांग्रेसलाई बताएकोबारे मे ३ मा बिल गेर्जले वासिंगटन फ्री बिकनमा लेखेका छन् ।
अमेरिकाको प्रशान्त क्षेत्रको सैन्य कमान्डर एडमिरल ह्यारी ह्यारिसले केही दिनअघि मात्रै अमेरिकी कांग्रेससमक्ष उत्तर कोरियालाई अमेरिका र प्रशान्त क्षेत्रको लागि उच्च सुरक्षा खतरा भएको बताएका थिए ।उत्तर कोरियाले हालसम्म पाँचपटक परमाणु हतियारको सफलतापूर्वक परीक्षण सम्पन्न गरेको छ, २०१६ मा उसले हाइड्रोजन बमको समेत परीक्षण गरेकोबारे बीबीसीले गएको जनवरी ६ मा उल्लेख गरेको थियो ।हाल उत्तर कोरियासँग अमेरिकाले हिरोसिमामा खसालेको भन्दा बढी क्षमताका २५ वटा जति परमाणु बम र ७० जति खतरनाक पनडुब्बी जहाजहरू रहेका र तिनलाई निरन्तर आधुनिकीकरण गरिरहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले लेखिरहेका छन् ।
डामेन कुकले यही मे १ मा दी डिप्लोम्याटमा उत्तर कोरियाले सोहे सहरको वरिपरिका ससाना टापुहरूमा बलियो सैन्य संरचना विकास गरेको र सैन्य प्रयोजनकै लागि नयाँ टापुहरू निर्माण गरेको समेत उल्लेख गरेका छन् ।भन्नै परेन अमेरिका उत्तर कोरियाका आणविक संरचनाहरू ध्वस्त पार्ने क्षमता राख्छ ! तर कुनै एकदुई मात्रै आणविक हतियार लुकाइएको स्थान सुरक्षित रहेमा र उत्तर कोरियाले तिनै बाँकी रहेका आणविक हतियारद्वारा दक्षिण कोरिया, जापान वा अमेरिकी मुख्य भूमिमाथि आक्रमण गर्न सफल भएमा वा उसका परम्परागत हातहतियारको मारक दूरीमा रहेको दक्षिण कोरियामाथि बर्बर आक्रमण गरेमा त्यसबाट हुने जनधनको भीषण क्षति सम्बन्धमा दक्षिण कोरिया कुनै जोखिम लिन सक्दैन । त्यसैले दक्षिण कोरिया नै उत्तर कोरियामाथिको कुनै अमेरिकी आक्रमणविरुद्ध रहने गरेको छ ।
साढे ६ दसकअघिको अमेरिकी हवाई आक्रमणको कहर बेहोरेको उत्तर कोरियाले पुनः त्यस्तो बम आक्रमणबाट विरुद्धको सुरक्षाको लागि जमिनमुनि थुप्रै आ श्रयस्थल र सुरुङ निर्माण गरेको छ भनेर सेवानिवृत्त अमेरिकी जलसेनाका उपप्रमुख माइक म्याकडेभिटले बताएको नेसनल इन्ट्रेस्टले गएको अप्रिल १४ मा उल्लेख गरेको छ ।अधिकांश त्यस्ता सुरक्षास्थलहरू पुरानो सोभियत प्रविधिअनुरूप भए पनि केही भने अकल्पनीय रूपमा आधुनिक रहेको देव मजुमदारले नेसनल इन्ट्रेस्टमै लेखेका छन् ।
कोरियाली संकटको समाधानमा चीन र जापानको जटिल सरोकारलाई उत्तर कोरियाका रणनीति निर्माताहरूले नबुझेको हुन सक्दैन ।
प्रसिद्ध अमेरिकी थिंक ट्यांक काउन्सिल अन फरेन अफियर्सका अध्यक्ष रिचार्ड हासका अनुसार ट्रम्पको पहिलो वास्तविक चुनौती भनेकै उत्तर कोरियाले अमेरिकी भूमिमा समेत आणविक क्षमतायुक्त क्षेप्यास्त्र प्रहार गर्ने सम्भावना हो । उत्तर कोरियाको आणविक हतियार उत्पादन क्षमतामा अझै वृद्धि हुने, आतंककारी समुदायलाई आणविक हतियार बिक्री गर्न सक्ने र दक्षिण कोरियामाथि र त्यहाँ तैनाथ अमेरिकी सेनामाथि परम्परागत सैन्य शक्तिद्वारा आक्रमण गर्नसक्ने सम्भावनासमेत हो ।
हासका अनुसार जुन स्तरमा उत्तर कोरियाले आणविक हतियार निर्माण गर्दै त्यसलाई लक्षमा पुर्याउने क्षमतामा समेत जति उन्नत र सुदृढ क्षमता आर्जन गर्दै आइरहेको छ, त्यो हेर्दा अब अमेरिकाले सन् १९९० को दसकदेखि अवलम्बन गर्दै आइरहेको रणनीतिक संयमको समय समाप्त भएको छ । अब पनि विलम्ब गर्नु भनेको अमेरिका, दक्षिण कोरिया र जापानको सुरक्षामाथि गम्भीर संकट आमन्त्रण गर्नु हो ।
तर यस्तो अत्याधुनिक हातहतियारले लडिने युद्धमा विजय सुनिश्चित हुन सक्दैन- विजयलाई सम्पूर्णरूपमा सुरक्षित बनाउने कुनै पूर्ण रणनीतिक योजना, हतियार वा युद्ध प्रणाली विकास गर्नै सकिँदैन । सानोभन्दा सानो अंशको कुनै भूमिकाका कारण ठूलो क्षति पुगेका छन् र स्वयं उत्तर कोरियाको सवालमा अमेरिकाले ठूलो क्षति बेहोरेको उदाहरण छ । (हेर्नुहोस् कूटनीतिमा 'पागलपन सिद्धान्त' अन्नपूर्ण पोस्ट, १२ वैशाख, २०७४)१. आणविक हतियार ः न्याय र शान्तिको हतियार ?
सानो र आर्थिकरूपमा कमजोर भईकन पनि अमेरिका, जापान र दक्षिण कोरियाजस्ता आर्थिक र सैन्य क्षमताको दृष्टिले महाशक्तिशाली राष्ट्रहरूविरुद्ध निरन्तर हुँकार भरिरहने उत्तर कोरियाले तीन कुरालाई एकैपटक सम्झना गराउने गर्दछ ।पहिलो, ३० अगस्त, १९४५ मा जेम्स एजले प्रसिद्ध अमेरिकी साप्ताहिक टाइममा प्रकाशित लेख— जसमा उनले जापानमा खसालिएको अणुबमले स्वयं युद्धलाई नै अत्यन्त मामुली बनाइदिएको लेखे । सबै महादेशमा युद्ध लडियो । लाखौं मानिसहरू मारिए । हजारौं सहर, बस्ती, स्कुल अस्पताल, उद्योग प्रतिष्ठान ध्वस्त भए । तर युद्धको अन्त्यमा प्रयोग भएको एउटा नयाँ हतियारले ६ वर्ष लामो महायुद्धलाई फुच्चे बनाइदियो ।
दोस्रो, 'दी एनिमल फार्म' र 'नाइनटिन एट्टिफोर' जस्ता विश्व प्रसिद्ध उपन्यासका लेखक जर्ज अर्वेल लिखित र १९ अक्टोबर १९४५ मा बेलायतबाट प्रकाशित दी ट्रिब्युनमा प्रकाशित 'यु एन्ड दी एटमिक बम' लेख हो । त्यसमा अर्वेलले लेखेका छन्- ठूला र शक्तिशाली राष्ट्रहरूमध्ये एकले अर्कोमाथि विजय प्राप्त गर्न सम्भव नभएको अवस्थामा ती मुलुकले आपसमा यो वा त्यो किसिमको सहमतिद्वारा संसारमाथि प्रभुत्व स्थापना गर्नेछन् ।आफ्ना विचार, विश्वास र सामाजिक संरचनाका आधारमा मुलुकहरू अनिश्चित कालसम्म शान्तिबिनाको शान्ति अर्थात् शीतयुद्धको स्थायी अवस्थामा रहनेछन् । स्मरणीय छ, पहिलोपटक शीतयुद्ध शब्दको प्रयोग अर्वेलले नै उक्त लेखमा गरेका हुन् ।
त्यतिखेर अमेरिकाबाहेक अर्को कुनै मुलुकसँग अणुबम थिएन । अमेरिकी राष्ट्रपति ह्यारी ट्र्युमन भन्ने गर्दथे- अणुबम निर्माणको लागि अत्यन्त ठूलो धनराशि, औद्योगिक, प्राविधिक र वैज्ञानिक जनशक्ति आवश्यक हुने भएकाले संसारका तीन वा चारबाहेक अन्य मुलुकसँग एटम बम हुन सक्दैन । तर अर्वेलले केही वर्षभित्रै आणविक हतियार धेरै साना-ठूला मुलुकको हातमा पुग्ने र त्यसले ठूला-साना राष्ट्रहरूबीचको भिन्नता हराएर जाने बताएका थिए ।
तेस्रो हो, भारत र पाकिस्तानबीचको आणविक प्रतिस्पर्धा । मे १९९८ मा एक दिन बिराएर भारतले पाँचवटा परमाणु बमको परीक्षण गर्यो । त्यसको दुई सातामै पाकिस्तानले भारतको भन्दा एउटा बढी अर्थात् ६ वटा बमको त्यस्तै सफल परीक्षण गर्यो । राज चेंगप्पा लिखित वेपन्ज अफ पिस नामक पुस्तकअनुसार त्यसपछि वाजपेयीले भने- दुवै मुलुकसँग आणविक हतियार भएकाले अब भारत र पाकिस्तानबीच युद्ध सम्भव छैन, शान्ति सुरक्षित हुन्छ ।
चेंगप्पाअनुसार अर्को सन्दर्भमा वाजपेयीले भनेका छन्- हिरोसिमा भ्रमणपछि म विश्वस्त छु— विश्वले शक्तिको आवाजलाई मात्र सम्मान गर्न जानेको छ, कमजोरको कुरा सुन्ने धैर्य विश्व समुदायसँग छैन ।
रणनीतिक चक्रव्युहमा कोरियाली प्रायद्वीप
उत्तर कोरियाको आणविक कार्यक्रमका प्रति चीन पनि सन्तुष्ट छैन । वर्तमान उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको सनक, लहड र क्रूर शासनप्रति चीनले कुनै मोह राखेको छैन, तर आफूसँग सीमा जोरिएको उत्तर कोरियाको पतन वा कोरियाको एकीकरणले अमेरिकाको रणनीतिक साझेदार र त्यसै पनि संसारको प्रमुख आर्थिक र सैनिक शक्तिका रूपमा रहेको दक्षिण कोरियाको आर्थिक, राजनीतिक र सामरिक क्षमतामा हुने असाधारण वृद्धि र त्यसबाट चीनमाथि पर्ने रणनीतिक दबाब चीनको लागि झन् अप्रिय र अस्वीकार्य हुने देखिन्छ । त्यसैले कोरियाली प्रायद्वीपमा चीन यथास्थितिको पक्षमा छ ।
अर्कोतिर अझै पनि इतिहासको दबाबमुनि दक्षिण कोरियासँग तनावपूर्ण सम्बन्ध धानिरहेको जापान पनि कोरियाली प्रायद्वीपमा एकीकृत र शक्तिशाली कोरियाले निर्माण गर्ने नयाँ रणनीतिक शक्ति सन्तुलनको स्थितिलाई आफ्नो राष्ट्रिय हितअनुरूप बुझिरहेको छैन । कोरियाली संकटको समाधानमा चीन र जापानको जटिल सरोकारलाई उत्तर कोरियाका रणनीति निर्माताहरूले नबुझेको हुन सक्दैन ।
उत्तर कोरियाको कमजोर प्राविधिक र आर्थिक क्षमताका कारण उससँग अमेरिका, जापान वा दक्षिण कोरियाको तुलनाको सामरिक क्षमता नहुनु स्वाभाविक छ, तर दक्षिण कोरिया, जापान र अमेरिकासँग पनि आफ्नो भूभागमा सम्भावित लामो दूरीका आणविक क्षेप्यास्त्रलाई बीचैमा रोक्नसक्ने प्रभावकारी प्रतिरक्षा प्रणाली स्थापना नभएकोमा रणनीतिक विश्लेषकहरू चिन्तित छन् । प्रहार केन्द्रबाट त्यस्तो क्षेप्यास्त्र छुट्नेबित्तिकै त्यसको संकेत प्राप्त गरेर बीचैमा त्यसलाई नष्ट गर्ने भूमिमा आधारित मध्यमार्ग प्रतिरक्षा (जीएमडी) प्रणाली अमेरिकाको क्यालिफोर्निया र अलास्का गरी दुई स्थानमा मात्र स्थापित छ ।
यस्तो महत्वपूर्ण प्रतिरक्षा प्रणाली विकास गर्न र स्थापना गर्न अमेरिकाले वार्षिक एक अर्ब डलरको सानो राशि मात्र छुट्याउने गरेको लेक्सिंटन इन्स्टिच्युटका सीएन केनेडी बताउँछन्अर्को स्मरणीय पक्ष छ— दोस्रो विश्वयुद्धको अवधिमा अमेरिका र सोभियत संघ एकअर्काप्रति गहिरो शंका र अविश्वास बोकेरै लडेका थिए । युद्धमा जापानको पराजयपछि ३८ प्यारालल भनेर एउटा काल्पनिक रेखा खिचियो र त्यसको उत्तरपट्टि रहेको जापानी सेनाले सोभियत संघ र दक्षिणपट्टि रहेको जापानी सेनाले अमेरिकासमक्ष आत्मसमर्पण गर्नुपर्ने सहमति भयो । स्वाभाविक रूपमा उत्तरी भागमा कम्युनिस्ट शासन र दक्षिणी भागमा प्रजातान्त्रिक प्रभाव स्थापना भयो । सोभियत सेनामा मेजर रहेर जापानविरुद्धको युद्धमा संलग्न किम इल सुङ (उत्तर कोरियाका वर्तमान राष्ट्रपतिका बाजे) युद्धपछि सोभियत संघमा प्रशिक्षित अन्य कोरियालीहरूसहित कोरिया आए । सोभियत संघले उनलाई नेतृत्वमा स्थापना गरिदियो ।
त्यतिखेर स्टालिन माओलाई पनि युगोस्लाभ नेता मार्सल जोसिप ब्रोज टिटोजस्तै अमेरिकी प्रभावमा रहेका र साम्यवादी आन्दोलनको अन्तर्राष्ट्रियतावादको विरोधी मान्दथे । तर राष्ट्रसंघमा चीनको सट्टा ताइवानलाई सदस्यता दिएकोमा आफ्नो विरोध जनाउन सोभियत संघले सुरक्षा परिषद्को बैठक बहिष्कार गरेको थियो । उता त्यसैबखत स्टालिनले उत्तर कोरियाका शासक किमलाई दक्षिण कोरियामाथि आक्रमण गर्न सल्लाह दिए ।
दक्षिणमाथि उत्तर कोरियाको आक्रमणपछि सुरक्षा परिषद्ले सो आक्रमणविरुद्ध १६ राष्ट्रको राष्ट्रसंघीय सेना खटायो । कोरियामा तैनाथ अमेरिकी र दक्षिण कोरियाली सेनासमेतको राष्ट्रसंघीय सेनाको प्रत्याक्रमणपछि उत्तर कोरियाली सेना तितरवितर भयो । किमले स्टालिनसँग सहयोगको याचना गरे तर सुरक्षा परिषद्को निर्णयबाट खटिएको सेनाविरुद्ध सुरक्षा परिषद्कै स्थायी सदस्यले सेना पठाउन सम्भव भएन । स्टालिनले माओलाई अनुरोध गर्न किमलाई सल्लाह दिए।
तर माओमाथि किमको विश्वास थिएन । त्यसबाट उत्तर कोरियामाथि विशाल चीनको प्रभुत्व स्थापना हुने आशंकाले उनी चिन्तित थिए ।
तर उत्तर कोरियाको सम्पूर्ण पराजयको स्थितिमा पुगेपछि किम र स्टालिन दुवैले माओलाई सैनिक सहयोगका लागि पत्र पठाए । स्टालिनले अक्टोबर १ मा माओका साथै चाउ एन लाई समेत टेलिग्राम पठाएका थिए । उत्तर कोरियाको पराजयले अमेरिकालाई चीनविरुद्धको युद्धलाई समेत प्रेरित गर्ने भएकाले माओ त्यस्तो औपचारिक आग्रहको प्रतीक्षामा थिए । तर राष्ट्रसंघीय सेनाविरुद्ध औपचारिकरूपमा जनमुक्ति सेनालाई खटाउँदा आइपर्ने विभिन्न अन्तर्राष्ट्रिय कानुनी, राजनीतिक र कूटनीतिक जटिलतालाई मध्यनजर गरी आफ्ना सैनिकहरूलाई चिनियाँ जनताले स्वस्फूर्त गठन गरेको स्वयंसेवक समूहको परिचय दिएर माओले आफ्ना लाखौं सेनालाई युद्ध मोर्चामा खटाइदिए । सो कुराको जानकारी २ अक्टोबर १९५० मा एउटा तार सन्देशद्वारा माओले स्टालिनलाई दिएका थिए ।
सिन्ह्वालाई उद्धृत गर्दै चाइना डेलीले २७ अक्टोबर २०१० मा उल्लेख गरेअनुसार तीन वर्षसम्मको युद्धमा एक लाख ८० हजार चिनियाँ सैनिकको मृत्युको अभिलेख छ । तर चाइना डेलीमा उल्लेख भएअनुसार सो युद्धमा मारिने चिनियाँ सैनिकको संख्या झन्डै चार लाख र अन्य स्रोतअनुसार ६ लाख पुगेको थियो । उत्तर र दक्षिण कोरियाका मृत सैनिक र नागरिकको संख्या १५ लाख आसपास थियो । युद्धमा मारिने अमेरिकी सैनिकको संख्या मात्रै ५० हजार माथि थियो । अन्ततः दुवै पक्ष ३८ प्यारलललाई मानेर युद्धविराममा सहमत भएका थिए ।
उपरोक्त सबै ऐतिहासिक पृष्ठभूमिले निर्माण गरेको दबाब अझै सशक्त छ । साथै चीन, रूस, जापान र अमेरिकाका विपरीत भूरणनीतिक स्वार्थहरूको टकराहटले कोरिया प्रायद्वीपको शान्ति र एकीकरणलाई सम्भव हुन दिइरहेको छैन ।