फ्रान्सको सन्देश

फ्रान्सको सन्देश

फ्रान्समा राष्ट्रपति पदको लागि सम्पन्न निर्वाचनको नतिजा युरोपले मात्र हैन, विभिन्न मुलुकले नियालिरहेका थिए । ३९ वर्षीय इम्यान्युल म्याक्रनले दुईतिहाइ मत हासिल गरी अति दक्षिणपन्थीका रूपमा चित्रित ली पेनलाई पराजित गरेका छन् । प्राप्त पहिलो प्रतिक्रियामा फ्रान्सेलीहरूले आफूलाई बढी सुरक्षित महसुस गरेका छन् । दुईतिहाइको त्यो अभिमत सुरक्षित र समृद्ध फ्रान्सको लागि थियो भनी सामान्य अनुमान लगाउन सकिन्छ ।

खासगरी अमेरिकामा गत वर्ष डोनाल्ड ट्रम्पको विजय र त्यसले अमेरिकालगायत अन्तर्राष्ट्रिय जगत्मा ल्याएको हलचलबाट एकपछि अर्को आतंकवादी अग्रमणको सिकार बनेको फ्रान्स अप्रभावित थिएन । म्याक्रनले आफ्नो विजयलगत्तै फ्रान्सेली सभ्यताको पक्षमा अभिव्यक्ति दिएर सहिष्णुता, उदारता र बौद्धिकता 'फ्रान्सेली सभ्यता' का अंग मानिन्छन् र त्यस अर्थमा आतंकवादप्रतिको स्वाभाविक कठोरतासँगै विविधताप्रति सहिष्णु व्यवहार हुने सन्देश दिए उनले । ली पेनविरुद्धको जनमतको सन्देशलाई उनले स्पष्टसँग अभिव्यक्त गरे । फ्रान्सलाई युरोपेली संघबाट निकाली फ्रान्सको एकल हैकम स्थापना गर्ने उनको नारा अस्वीकृत भएको छ ।

म्याक्रनको विजय फ्रान्सको राष्ट्रिय जीवनमा एउटा चुनौतीपूर्ण चरणमा भएको छ । छिमेकी बेलायत युरोपेली संघ अलग भएको अवस्थामा बलियो र सुसंगठित युरोप पक्षधरको विजय फ्रान्सका राष्ट्रपतिको रूपमा हुनु सम्भवतः बेलायत र बेलायतको वर्तमान सत्ताको लागि त्यति रुचिकर विषय हैन । जर्मनीका चान्सलर एन्जेला मर्केलले म्याक्रनको विजयप्रति व्यक्त गरेको 'न्यानो अभिवादन' मा सम्भवतः उनले बलियो युरोपको पक्षधर सहयात्री भेट्टाएको अनुभूति गरेकी छन् । एउटा बलियो युरोपले विश्व परिदृश्यमा आफ्ना केही स्पष्ट संकेत र प्रभाव दिन सक्छ र विजयलगत्तै म्याक्रनमाथि त्यो युरोपेली आशा जोडिएको छ ।

 

तर यो निर्वाचन विश्वका विविध भाग र खासगरी प्रजातन्त्र अपनाएका कमजोर मुलुकहरूका लागि पनि विशेष अर्थ राख्छ । प्रजातन्त्रमा सबैलाई सम्हालेर या मिलाएर या कसैलाई निषेध नगर्ने शक्तिले प्रधानता र जनअनुमोदन पाउँछ, केही अपवादबाहेक । ली पेनको पराजय त्यसको सूचक हो । यसले सम्भवतः अर्को संकेत पनि दिएको छ, 'राजनीतिक पृष्ठभूमि' का नेतृत्वभन्दा नयाँ र सम्भाव्यता बोकेका 'युवा' नेताहरूले जनताको समर्थन हासिल गर्ने गरेका छन् ।

तत्कालको लागि म्याक्रोनलाई युरोपेली संघको 'रक्षक' को रुपमा हेरिनेछ । ली पेनको विजयले युरोपेली संघलाई तहसनहस पार्ने निश्चित थियो । त्यस अर्थमा फ्रान्सको अर्थतन्त्र र बढ्दो बेरोजगारलाई सम्बोधन गर्ने विजयपछिको अभिव्यक्तिसँगै म्याक्रोन युरोपेली संघका आशा र अपेक्षाका रूपमा पनि उदाएका छन् । त्यस्तै ट्रम्पको राजनीतिले उब्जाएका आशंका र विश्वका अन्य मुलुकमा पनि असहिष्णु तथा 'देशभक्ति' को उन्मादले निर्वाचनलाई प्रभावित गर्ने भयमा 'ब्रेक' लागेको छ । त्यो नै म्याक्रनको विजयको विशेषता र चुनौती पनि हो, जसको सकारात्मक असर फ्रान्स र युरोपभन्दा धेरै टाढा पनि अपेक्षित छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.