एक अर्बको लगानीमा चाउचाउ उद्योग
बुटवल : सार्क क्षेत्रमा व्यापार विस्तार गर्ने योजनासहित रूपन्देहीका तीन जना उद्योगीको लगानीमा बुटवलमा चाउचाउ उत्पादन सुरु भएको छ । एक अर्ब लगानीमा उद्योगीले तीनवटा चाउचाउ बजारमा ल्याएका हुन् । तिलोत्तमाको मधौलियामा एक अर्ब रुपैयाँ लगानी गरी यशोदा फुड्स प्रालिले चाउचाउ र चिजबल्सको उत्पादन सुरु गरेको हो । रूपन्देहीका उद्योगीले लगानी गरी ठूलो मात्रामा चाउचाउ उत्पादन भएको सम्भवत: यो पहिलो हो । उद्योगले आठ घन्टामा १० टन उत्पादन गर्नेछ ।
बुटवलमा पत्रकार सम्मेलन गरी फुड्सबाट उत्पादित लाली, करेन्ट, जुप्पीको वितरण प्रारम्भ भएको जानकारी दिइएको हो । सञ्चालक चुन्नुप्रसाद पौडेलले नेपालमा उत्पादित अन्य चाउचाउको तुलनामा यशोदा फुड्स प्रालिले उत्पादन गरेको चाउचाउको स्वाद उत्कृष्ट रहेको बताउनुभयो ।उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष तथा १२ सय २५ जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् । नेपालभित्र र बाहिरका देश भारत, चीन र सिंगापुरबाट कच्चा पदार्थ ल्याई चाउचाउ उत्पादन थालिएको प्रालिका कर्पोरेट म्यानेजर छविलाल पाण्डेले जानकारी दिनुभयो ।
सोना प्योकेजिङ इन्डस्ट्रिज, सोना पोलिमर्स, श्रीराम टोबाको उद्योग प्रालि र त्रिमूर्ति इन्डस्ट्रिज प्रालि सञ्चालन गरिरहेको प्रतिष्ठानले चाउचाउ सार्क मुलुकबाहेक खाडी राष्ट्रमासमेत निर्यात गर्ने बताइएको छ । उद्योगमा चुन्न पौडेल, कमल पालपानी र ऋषि भण्डारीको लगानी छ ।पहाड तथा हिमालमा खानाकै रूपमा प्रयोग गरिँदै आएको चाउचाउको मागलाई पूर्ति गर्ने गरी चाउचाउ उत्पादन गर्ने पाण्डेको भनाइ छ । उहाँका अनुसार प्रालिले चिजबल्स र स्म्याक्स उत्पादन छिट्टै सुरु गर्नेछ ।
हालसम्म नेपालमा १४ वटा चाउचाउ उद्योग खोलिएकोमा सातवटा मात्रै चालू अवस्थामा छन् । त्यस्तै अझै तीनवटा चाउचाउ उद्योग सञ्चालनको तयारीमा छन् । नेपालमा मासिक ४० लाख कार्टुन चाउचाउ खपत हुने गरेको पाइन्छ ।