नुवाकाेटमा करेन्ट लागेर एकको मृत्यु
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिकामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ ।
मंगलवार विहान विक्रीका लागि दुध लिएर पसलतर्फ जाँदै गर्दा वेलकोटगढी नगरपालिका–४ डाडाखर्कका ५० वर्षीय अविलाश सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सदरमुकाम विदुरदेखि २६ किलोमिटर पूर्वमा रहेको सो स्थानमा हावाहुरीले गर्दा विजुलीको तार वाटोमा लत्रिएको थियो । लत्रिएको तार नदेखी खुट्टाले तार कुल्चिन पुग्दा करेन्ट लागेर सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिनुभयो ।
विद्युत प्राधिकरणको लापरवाहीको कारण अनाहकमा सुवेदीले ज्यान गुमाउनु परेको भन्दै मृतकका आफन्त आक्रोशित बनेका छन् ।