मेरो कुनियत भेटिए झुन्ड्याइदिनू : कुलमान

मेरो कुनियत भेटिए झुन्ड्याइदिनू : कुलमान

काठमाडौं : भारतले नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्न प्रस्ताव गरेको एलईडी चिमको मूल्य उसको आफ्नै राज्य सरकार र छिमेकी श्रीलंकालाई बेच्न लागेबराबर रहेको उल्लेख गर्दै यसमा एक पैसा पनि भ्रष्टाचार नभएको कार्यकारीनिर्देशक कुलमान घिसिङले प्रस्ट पार्नुभएको छ।

प्राधिकरणले खरिद गर्न लागेको एलईडी चिमको मूल्यलाई केही व्यापारीहरूले विवादास्पद बनाउने प्रयास गरिरहेका बेला प्राधिकरणले मंगलबार पत्रकारसम्मेलन गरी यस्तो प्रमाण सार्वजनिक गरेको हो। विद्युत् प्राधिकरणले भारतको सरकारी कम्पनी ईईएसएलबाट खरिद गर्न लागेको एलईडी चिमको मूल्य प्रचलित बजार भाउभन्दा बढी नरहेको ती प्रमाणमा देखिएको छ। भारतको विद्युत् मन्त्रालयले १७ मार्चमा श्रीलंका सरकारलाई पठाएको पत्रमा ९ वाटको एलईडी चिमको प्रतिगोटा ६५ भारतीय रुपैयाँ (एक अमेरिकी डलर) रहेको उल्लेख छ। ऊर्जा बचत अभियानअन्तर्गत श्रीलंकाको सिलोन इलेक्ट्रिसिटी बोर्डले गत जनवरी २१ मा भारत सरकारसित वार्ता गरेपछि विद्युत् मन्त्रालयले उक्त मूल्य ‘कोट’ (उल्लेख) गरेको पत्र प्राधिकरणका कार्यकारीनिर्देशक कुलमान घिसिङले मंगलबार पत्रकारसम्मेलनमा सार्वजनिक गर्नुभयो।

सिलोन इलेक्ट्रिसिटीले भारतको ईईएसएलसित एक करोड थान एलईडी बत्ती किन्ने भएपछि त्यसको भाउ उल्लेख गरेको हो। भारतीय सरकारी कम्पनी ईईएसएलले तामिलनाडु राज्य सरकारी वितरण कम्पनी टान्जेन्कोसित गरेको सम्झौतामा पनि ९ वाट एलईडी चिमको मूल्य ६५ भारतीय रुपैयाँ उल्लेख छ। ईईएसएलले नेपाललाई पनि दुई करोड थान एलईडी चिम सोही मूल्य (प्रतिगोटा एक सय चार रुपैयाँ) मा बेच्ने सम्झौता गरेको छ।

उक्त मूल्यबारे विवाद उठेपछि प्राधिकरणका कार्यकारीनिर्देशक घिसिङले मंगलबार प्राधिकरण मुख्यालयमा पत्रकार सम्मेलन गरी यी प्रमाणहरू पेस गर्दै एलईडी चिम खरिदमा एक पैसा पनि तलमाथि नभएको स्पष्ट पार्नुभयो।

सरकारले स्वीकृति दिएपछि लागू हुने उक्त सम्झौताअनुसार तय भएको मूल्यमा हेटौंडासम्म भारतीय कम्पनीले दुई करोड थान एलईडी चिम ल्याइदिनेछ। नेपाल प्रवेश भएपछि उक्त एलईडीमा नेपालको कानुनअनुसार लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र प्राधिकरणको सेवा शुल्क जोडिएर प्रतिगोटा एक सय ३५ देखि एक सय ५० रुपैयाँसम्म पर्ने जानकारी कार्यकारीनिर्देशक घिसिङले दिनुभयो।

ईईएसएलले नेपाल सरकारमार्पmत प्राधिकरणलाई तीन वर्षको प्रतिस्थापन ग्यारेन्टी (बिग्रेमा फेरिदिने), त्यसबापत बैंक ग्यारेन्टी (कुल बिक्री मूल्यको साढे दुई प्रतिशत), ०.९ प्रतिशतको पावर फ्याक्टर (उच्च गुणस्तर) र शतप्रतिशत दक्षताको ग्यारेन्टीसहित चिम उपलब्ध गराउने सम्झौता छ। सम्झौताअनुसार ईईएसएसले फिलिप्स र ओस्ग्रामका ग्यारेन्टीयुक्त ब्रान्डेड एलईडी आपूर्ति गर्नेछ। ‘ईईएसएसले दिने मूल्य नेपालको प्रचलित कानुनअनुसार तिर्नुपर्ने कर, शुल्कसहितको हो’, पत्रकारसम्मेलनमा घिसिङले भन्नुभयो, ‘बिडिङ (प्रतिस्पर्धा) गरिएको भए यो मूल्यमा नआउने र गुणस्तरको ग्यारेन्टीसमेत हुँदैन।’

पत्रकारसम्मेलनमा वितरित विज्ञप्तिअनुसार भारतीय बजारमा खुला रूपमा किन्दा यस्ता चिमको मूल्य एक सय ५० देखि दुई सय भारतीय रुपैयाँ (२४० देखि ३२० रुपैयाँ) सम्म पर्छ। ‘भारत सरकारले तोकेको मूल्य भएकाले रेट पारदर्शी छ भने ईईएसएलले प्रख्यात कम्पनी फिलिप्स र ओस्ग्रामका एलईडी बल्ब उपलब्ध गराउनेछ’, विज्ञप्तिमा छ, ‘बल्बको पावर फ्याक्टर (क्षमता) ०.९ भन्दा बढी रहने र ऊर्जा दक्षता शतप्रतिशत हुने भएकाले यी चिम बजारमा पाइनेभन्दा गुणस्तरीय र क्षमतावान् छन्।’

नेपालको सार्वजनिक खरिद ऐनले ब्रान्ड तोकेर टेन्डर गर्न नमिल्ने भएकाले आगामी हिउँदअघि नै लोडसेडिङ हुन नदिन सरकारी तह (जी टु जी) मा खरिद गर्नुपरेको घिसिङले बताए। प्राधिकरणले आगामी हिउँदमा ऊर्जा दक्षता र माग व्यवस्थापनमार्पmत लोडसेडिङ हुन नदिन यस्तो खालको बिजुली थोरै खपत हुने चिम प्रयोग गर्नुपरेको जनाएको छ।

साँझपख सबै उपभोक्ताले एकसाथ बत्ती बाल्दा प्राधिकरणको प्रणालीमा कुल माग १२ सयदेखि १२ सय ५० मेगावाटसम्म हुने र राति १० बजेपछि यस्तो माग सात सय मेगावाटमा झर्ने गरेको घिसिङले बताउनुभयो। उहाँका अनुसार बेलुका अत्यधिक खपत (पिक आवर) मा ८० प्रतिशत ऊर्जा हुने यस्तो एलईडी बत्ती सबै उपभोक्ताले बाल्दा प्रणालीमा दुई सय मेगावाट बिजुली बचत हुन गई आगामी हिउँदमा लोडसेडिङ गर्नु पर्दैन। प्राधिकरणले आगामी हिउँदमा करिब १५ सय मेगावाट विद्युत् माग हुने प्रक्षेपण गरेको छ।

घिसिङले मंगलबार पत्रकारसम्मेलनमा एलईडी खरिदप्रकरणमा आफ्नो चरित्रहत्या गर्न खोजेकोमा दुःख व्यक्त गर्दै भन्नुभयो, ‘यो खरिदप्रक्रियामा मेरो कुनियत रहेको भेटिए हामीलाई झुन्ड्याइदिए हुन्छ, म झुन्डिन तयार छु।’

उनले आपूm पैसाकै पछि लागेको भए र दुईतीन घन्टा मात्रै लोडसेडिङ गराएर चूप लागी बसेको भए करोडौं रुपैयाँ आउने बताउनुभयो। ‘दुईचार घन्टा लोडसेडिङ मात्रै गराएर चूप लागी बसेको भए मलाई दुईतीन करोड त्यत्तिकै आउँथ्यो’, उहाँले भन्नुभयो, ‘मेरो यो इमानदार प्रयासलाई गलत हिसाबले हेरिदिनुभयो भने भोलिका दिनमा काम गर्न कठिन हुन्छ।’

घिसिङले प्राधिकरणले एलईडी बेच्नका लागि नभई माग व्यवस्थापन गर्न र आगामी हिउँदमा लोडसेडिङ नगर्नका लागि ल्याउन लागेको बताउनुभयो। प्राधिकरणले विगतमा पनि सीएफएल बत्ती यसैगरी बजार हस्तक्षेप गरी उपभोक्तालाई उपयोग गर्ने बानी लगाएको र एकैसाथ एलईडी उपयोग गराउँदा प्रणाली बलियो हुने बताउनुभयो। ‘यसबाट एलईडीका व्यापारीले शंका नगरे हुन्छ। प्राधिकरणले एकपटक बजार हस्तक्षेप गरेपछि भोलिका दिनमा उपभोक्ताले प्रतिस्पर्धी मूल्यमा एलईडी प्राप्त गर्नेछन्’, उहाँले भन्नुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.